+
+
Shares

सिन्धुली हिरासत घटना : अस्पतालको रिपोर्ट कुर्दै प्रहरी, भिसेरा पनि परीक्षण

विकको भिसेरा परीक्षणदेखि ‘होल बडी’को पोस्टमार्टम गर्ने काम भएकाले रिपोर्ट आउन समय लागेको अस्पताल स्रोतले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा हिरासतमा रहेका श्रीकृष्ण विक ७ वैशाखको साँझ शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा विक मृत्यु प्रकरणको छानबिनका लागि समिति गठन गरेका थिए।
  • छानबिन समितिले अस्पतालको पोस्टमार्टम रिपोर्ट नआएको कारण प्रतिवेदन बुझाउन अझै समय लाग्ने जनाएको छ।

२३ वैशाख, काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक घटना प्रकरणको छानबिन सकिने अझै समय लाग्ने भएको छ ।

७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका विकलाई उद्धार गरेर सिन्धली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । विकको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग उठेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक लगायत जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगेर धर्ना दिँदै छानबिनको माग गरेका थिए ।

काठमाडौंको माइतीघरमा पनि दलित अधिकारकर्मीलगायतले विकको मृत्यु प्रकरणमा छानबिन हुनुपर्ने माग राखे । त्यसपछि विकको शव पोष्टमार्टमका लागि भन्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । अहिलेसम्म अस्पतालले पोस्टमार्टम रिपोर्ट नपठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा एसपी लालध्वज सुवेदीले बताए ।

‘हामी पोस्टमार्टम रिपोर्टको पखाईमा छौं । अहिलेसम्म रिपोर्ट प्राप्त भएको छैन,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।

विकको भिसेरा परीक्षणदेखि ‘होल बडी’को पोस्टमार्टम गर्ने काम भएकाले रिपोर्ट आउन समय लागेको अस्पताल स्रोतले बताएको छ ।

‘विक मृत्यु प्रकरण राष्ट्रिय मुद्दा नै बनिसकेको छ । भिसेरा परीक्षणदेखि ‘होल बडी’ को पोस्टमार्टम गर्ने काम भएकाले रिपोर्ट आउन समय लागेको हो,’ अस्पताल स्रोतले भन्यो ।

भिसेरामा विष सेवन गरे नगरेको विषय हेर्ने गरिन्छ । अहिलेसम्म यसको रिपोर्ट नआएकाले विक मृत्यु प्रकरण अझै यकिन खुल्न सकेको छैन ।

विक मृत्यु प्रकरणमा प्रहरीको भूमिकामाथि शंका उत्पन्न भएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य छ ।

उनीहरूलाई ७ दिनको म्याद दिइएको थियो । छानबिन टोलीले सिन्धुली पुगेर काम सुरु गरेको थियो ।

तर ७ दिनको म्याद सकिए पनि यो समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । समितिले पनि अस्पतालको रिपोर्ट कुरेकाले प्रतिवेदन बुझाउन समय लागेको बताएको छ । प्रहरीको भूमिकामाथिको सबै छानबिन सकिए पनि अस्पतालको रिपोर्ट आउन ढिलाई भएकाले प्रतिवेदन बुझाउन अझै समय लाग्ने समिति स्रोतले बतायो ।

के हो घटना ?

मृतक श्रीकृष्ण विक र खोटाङ घर भएकी एक किशोरीबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध थियो । २८ चैतदेखि ती किशोरी बेपत्ता भएको भन्दै उनको परिवारले प्रहरी वृत्त सातदोबाटोमा ३० चैतमा खोजतलास गरी पाउँ भन्दै निवेदन दिएका थिए ।

प्रहरीका अनुसार ३ वैशाखको दिउँसो बेपत्ता भनिएकी किशोरी र श्रीकृष्ण विक आफन्तहरूसहित प्रहरी वृत्त सातदोबोटा पुगेका थिए । त्यतिबेला भने किशोरीका आफन्तले बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी ल्याएका थिए ।

घटनास्थलबारे सोधपुछ गर्दा सिन्धुली रहेको र केटीको उमेर पनि १६ वर्षको मात्रै भएपछि ४ वैशाखमा सिन्धुली पठाइएको प्रहरीले बताएको छ । ४ वैशाखमा श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट पुर्‍याइएको थियो ।

यता घटनाबारे आवाज उठाउँदै आएका रास्वपा सांसद खगेन्द्र सुनार भने केटीलाई झुक्याएर बलात्कारको जाहेरीमा हस्ताक्षर गर्न आफन्तले लगाएको बताउँछन् । खुर्कोट लगेपछि प्रहरीले बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा ७ वैशाखको साँझ ६ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा उद्दार गरिएको प्रहरीले बताएको छ ।

आईजीपी दानबहादुर कार्कीले हस्ताक्षर गरेर जारी गरेको पत्रमा भनिएको छ, ‘१७:५९ बजेको समयमा हिरासत कक्षको शौचालयमा आफैंले लगाएको कालो कलरको सर्टको पासो घाँटीमा लगाई झुन्डिई घाइते भई उद्धार गरी अस्पताल लाँदा उपचारका क्रममा मृत्यु भएको हो ।’

तर यो विषय विकका आफन्त मान्न तयार छैनन् । घटना रहस्यमय भन्दै छानबिनको माग गरेपछि अहिले घटनाको छानबिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?