+
क्रिकेट विश्वकप लिग टु :

गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

२०८३ वैशाख  २२ गते १६:२९ २०८३ वैशाख २२ गते १६:२९

नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि आज नेपालका गुल्सन झा घातक सावित भए । उनले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन ।

गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले काठमाडौंमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ।
  • गुल्सन झाले ९ ओभरमा ५ विकेट लिएर ओमानलाई १७५ रनमा अलआउट गराएका थिए।
  • आसिफ शेखले ९४ रन बनाएर नेपाललाई २५६ रनको लक्ष्य दिलाएका थिए।

२२ वैशाख, काठमाडौं । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ ।

गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो ।

त्यसअघि शेख दाजुभाई आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।

यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोड्न सफल भयो । २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागि लिग टु मा सातौं स्थानमै यथावत छ ।

यस सिरिजमा नेपालले यसअघि युएईलाई ३६ रन र ६ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो । आजको जितपछि नेपालले ओमान विरुद्ध अघिल्लो हारको बदला समेत लिएको छ ।

अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।

गुल्सनको बलिङमा झुम्यो ओमान

नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि आज नेपालका गुल्सन झा घातक सावित भए । उनले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन ।

ओमानका लागि विकेटकिपर विनायक शुक्लाले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ३६ रन बनाए । यस्तै हम्मद मिर्जाले ३४, हसनैन वाहावले २९ रन बनाए । अ३ल्लो खेलमा नेपाल विरुद्ध शतक बनाएका कप्तान जतिन्दर सिंह १२ र वासिम अली १० रनमा आउट भए ।

ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

ओमान विरुद्ध गुल्सनले आफ्नो ओडिआई करियरकै उत्कृष्ट बलिङ फिगर राख्दै दोस्रो पटक ५ विकेट लिएका हुन् । यसअघि उनले सन् २०२४ सेप्टेम्बरमा क्यानडाको ओन्टारियोमा भएको लिग टु अन्तर्गत ओमान विरुद्ध नै १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिएका थिए ।

करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

आसिफको ९४ रन, आरिफको केमियो ब्याटिङ

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडेका थिए ।

शतक बनाउनबाट ६ रनले चुकेका आसिफले ९७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडिआईमा आसिफको यो १४औं अर्धशतक हो । ६६ ओडिआई खेल खेल्दा आसिफले १ शतक र १४ अर्धशतक बनाएका छन् ।

अर्का ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । लगातार दोस्रो खेलमा अवर पाएका अर्जुनले वान डाउनमा खेल्दै संयमित ब्याटिङ गरेपनि अर्धशतकबाट दुई रनले मात्र चुके । उनले ८७ बल खेल्दै ४ चौका मदतमा ४८ रन बनाए ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बल खेल्दै १ चौका मदतमा ३३ रन जोडे । गुल्सनले २३ बलमा २ चौका प्रहार गरी १७ रन बनाए । कप्तान रोहित पौडेलले १६ बल खेलेर ९ रन मात्र बनाए । नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट हुँदा करण केसीले खाता खोल्न सकेनन् ।

४९ ओभरमा २३७/९ को स्थितlमा रहेको नेपालका लागि आफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै स्कोर बढाएका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि अलआउट भयो । आरिफले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।

ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए । जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

क्रिकेट विश्वकप लिग टु
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय