News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको राजारानीमा सम्पन्न १३औं रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोड युनाइटेडले पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लबलाई ५-४ गोल अन्तरले हराएर जितेको छ।
- निर्धारित ९० मिनेटको अन्तिममा आयोजक राराले अग्रता लिएको खेल इन्जुरी समयको नवौं मिनेटमा बिर्तामोडले बराबरी गोल फर्काएर पेनाल्टी सुटआउटमा खेल पुर्याएको थियो।
- उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रारा फुटबल क्लबले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।
२२ वैशाख, धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ।
पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लबलाई ५-४ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो । धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करण पनि बिर्तामोड युनाइटेडले जितेको थियो ।
निर्धारित ९० मिनेटको अन्तिममा समयमा आयोजक राराले गोल गर्दै बिर्तामोडमाथि अग्रता लिएको थियो । इन्जुरी समयको नवौं मिनेटमा राराविरुद्ध बिर्तामोडले गोल फर्काएर खेल बराबरीमा पुर्यायो ।
यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लब बिर्तामोडसँग ५-४ गोल अन्तरले पराजित भयो ।
उपाधि विजेता बिर्तामोड युनाइटेडका दिवस उराउ, संजय लिम्बु, मौसम सुब्बा, विवेक पौडेल र प्रशान्त लक्षमले गोल गरेका थिए ।
यस्तै उपविजेता बनेको रारा फुटबल क्लबका तर्फबाट किरण चेम्जोङ, विशाल भण्डारी, मणि लामा र शिशिर लेखीले गोल गरेका थिए । दिपेश गुरुङको प्रहारलाई भने बिर्तामोड युनाइटेडका गोल रक्षकले विफल पारिदिएका थिए ।
यससँगै उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेतामा सीमित रारा फुटबल क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो ।
खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम घोषित भएका छन् । उदीयमान खेलाडीको अवार्ड रारा फुटबल क्लबका लोकेन्द्र लिम्बुले प्राप्त गरेका छन् ।
उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बरालले प्राप्त गरेका छन् । यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले प्राप्त गरे ।
उनले प्रतियोगिता अवधिभर ४ गोल गरेका थिए । उत्कृष्ट खेलाडी रारा फुटबल क्लवका कप्तान किरण चेम्जोङ घोषित भए ।
प्रतिक्रिया 4