News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्सन झाले टीयू मैदानमा ओमानविरुद्ध पाँच विकेट लिएर नेपाललाई ८१ रनले जिताउन महत्वपूर्ण भूमिका खेले।
- गुल्सनले ओडिआई करियरमा दोस्रोपटक पाँच विकेट लिएर आफ्नो सर्वश्रेष्ठ बलिङ प्रदर्शन गरे।
- नेपालले लिग टु अन्तर्गत घरेलु मैदानमा ४ मध्ये ३ खेल जितेर ६ अंक जोडेको छ र सातौं स्थानमा छ।
२२ वैशाख, काठमाडौं । मंगलबार टीयू मैदानमा ओमानविरुद्ध पाँच विकेट लिएपछि गुल्सन झाको सेलेब्रेसन हेर्नलायक थियो । उनले ‘दिस इज माई टेरिटोरी’ शैलीमा दुवै हातको औंलाले पिचतर्फ देखाउँदै बोल्ड सेलेब्रेसन गरेका थिए ।
त्यो सेलेब्रेसन हेर्दा गुल्सनको गर्जन जस्तै थियो । गुल्सनको त्यो सेलेब्रेसन नेपालका लागि जितको आधार थियो । विपक्षी ओमानको लागि भने गुल्सनको बलिङ घातक सावित हुँदै थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा घरेलु समर्थकअघि ५ विकेट लिएर नेपाललाई जित दिलाउन पाउँदा गुल्सनको बलिङ महत्वपूर्ण रह्यो ।
गुल्सनकै घातक बलिङमा नेपालले ओमानलाई हराउँदै यसअघि टीयू मैदानमै बेहोरेको हारको बदला पनि लियो ।

***
अहिले भइरहेको लिग टु साइकल अन्तर्गत नै सन् २०२४ सेप्टेम्बर १८ मा क्यानडाको ओन्टारियोमा भएको ओमान विरुद्धको खेलमा नेपालका गुल्सन झाले अर्धशतक बनाउँदै बलिङमा ५ विकेट लिएर कीर्तिमान बनाएका थिए ।
उक्त खेलमा गुल्सनले शानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल अन्तिममा ओमानसँग ५ विकेटले पराजित भएको थियो । रोहित पौडेल (६०) र गुल्सन झा (५३) ले अर्धशतक बनाएपछि नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर २२० रन बनाएको थियो ।
ब्याटिङमा अर्धशतक प्रहार गरेका गुल्सन बलिङमा पनि चम्किँदै १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चिएर ५ विकेट लिए । तर त्यसका बाबजुद पनि ओमानले एक बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्दै १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।
उक्त खेलमा गुल्सन नेपालका लागि एकै ओडीआई खेलमा अर्धशतक प्रहार गर्ने र ५ विकेट लिने पहिलो खेलाडी बनेका थिए । गुल्सनले व्यक्तिगत उपलब्धि हासिल गरेपनि नेपालले जित हात पार्न नसक्दा त्यो उपलब्धि खिन्न बनाउने खालको थियो ।
तर त्यसको करिब डेढ वर्षपछि उही विपक्षी विरुद्ध गुल्सनले बलिङमा शानदार प्रदर्शन गर्दै नेपाललाई जिताए । यस पटक भने गुल्सनको सेलेब्रेसन, गर्जन सबैले काम गर्यो ।
गुल्सनले नेपालको जितमा योगदान गर्न पाउँदा खुशी लागेको खेलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा बताए । ‘खुशी लागिरहेको छ । टिमका लागि कन्ट्रिब्युट गर्न पाउँदा । थोरै थोरै कन्ट्रिबुट गर्न पाउँदा खुशी लाग्यो’ उनले भने ।
यस पटक स्थान फरक थियो तर प्रतिद्वन्दी टिम उही अनी गुल्सनको बलिङ पनि उस्तै । यस पटक पनि नेपालले नै पहिले ब्याटिङ गरेको थियो । कीर्तिपुरस्थित टीयू मैदान नेपालले २५६ रनको स्कोर बनाउँदा गुल्सनले ब्याटिङमा १७ रन मात्र योगदान गर्न सके । तर बलिङमा भने उनी चम्किए ।

गुल्सनले मंगलबार ९ ओभर बलिङ गरे । जहाँ उनले ३८ रन मात्र खर्चेर ५ विकेट लिए, अनि नेपाललाई ८१ रनको जित दिलाउन महत्वपूर्ण भूमिका खेले । यस पटक गुल्सनको ५ विकेट खेर गएन ।
‘निश्चय पनि एकदमै…’ यसपटक ५ विकेट लिएर जिताउँदा कत्तिको विशेष छ भन्ने प्रश्नमा गुल्सनको जवाफ थियो । उनले व्यक्तिगत भन्दा पनि टिमले जित्नु मुख्य कुरा रहेको उल्लेख गरे । ‘किनभने यहाँ म्याचहरु एकदमै टाइट छ । महत्वपूर्ण म्याचहरु छ । जसले पनि राम्रो प्रदर्शन गरेको छ टिमले जित्नुपर्यो । टिम अगाडि आउनुपर्यो । बाँकी खेलाडी त आउँछ जान्छ खेलिरहेको हुन्छ’ उनले भने ।
गुल्सनले ओडिआई करियरमा समग्रमा दोस्रोपटक एकै खेलमा ५ विकेट लिए । तर आजको ५ विकेट अझ विशेष भयो । किनभने ओडीआईमा उनको यो बेस्ट बलिङ फिगर पनि बन्यो । यसअघि उनले १० ओभरमा २ मेडन राख्दा ४७ रन खर्चेका थिए । आज भने उनले ९ ओभरमा ३८ रन मात्र खर्चेर ५ विकेट लिए ।
गुल्सन झाले आज ११औं ओभरमै आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उक्त ओभरमा उनले ७ रन खर्चंदा कुनै विकेट लिन सकेनन् । तर १३औं ओभरमा जम्मा १ रन मात्र खर्चेर २९ रन बनाएर हसनैन वाहवको विकेट लिए ।
त्यसपछि गुल्सनले लगातार बलिङ गरे । १५औं र १७औं ओभरमा उनले विकेट लिन सकेनन् । तर त्यसपछि गुल्सनले लय समाते । १९औं ओभरमा आर्यन विष्टलाई ६ रनमा आउट गरे । २१औं ओभरमा उनले जितेन रामानन्दीलाई आउट गरे ।
त्यसपछि गुल्सन सिधै ३३औं ओभर बलिङ गर्न आए । विकेट नलिएपनि किफायती बलिङ गरेका उनले ७ ओभरसम्म जम्मा २० रन मात्र खर्चेर ३ विकेट लिएका थिए ।
३५औं ओभरमा फेरि आएका गुल्सनले ओमानका लागि टिकेर खेलिरहेका विनायक शुक्लालाई आउट गरे । ३६ रन बनाएका विनायक आउट भएपछि ओमानको इनिङ्स धर्मरायो र चाँडै अलआउट भयो । यस ओभरमा गुल्सनले ५ रन खर्चेर १ विकेट लिए ।
३७औं ओभरमा भने गुल्सन केही महँगा बने । ओमानका हसनैन शाहले सुरुको दुई बलमा गुल्सनलाई लगातार छक्का प्रहार गरे । त्यसपछि तेस्रो बल डट राखेका गुल्सनले चौथो बलमा बदला लिँदै हसनैनलाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराए । ओमानको त्यो नवौं विकेट थियो भने गुल्सनको पाँच विकेट हाउल पूरा भयो ।

४०औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले नदीम खानलाई आउट गरेपछि ओमान १७५ रनमा अलआउट भयो र नेपाल ८१ रनले विजयी भयो ।
यसअघि खेलमा नेपाल ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । आज नेपालले त्यसको राम्रै बदला लियो । त्यसमा ब्याटिङमा आसिफ शेखले ९४ रन बनाउँदै महत्वपूर्ण इनिङ्स खेले भने बलिङमा उनै गुल्सन नायक बने । जसले ओमानको इनिङ्स एक्लै ध्वस्त पारे ।
गुल्सन बाहेक नेपालबाट पेस बलरहरु करण केसी र नन्दन यादवले पनि १-१ विकेट लिए । स्पीनरद्वय सन्दीप र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिँदा ओमानका एक खेलाडी रनआउट भएका थिए ।
गुल्सनसहित नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा ओमान ४० ओभर पनि टिक्न सकेन र १७५ रनमै अलआउट भयो ।
***
यसअघि नेपालले लिग टु को पहिलो सिरिज घरेलु मैदानमा खेल्दा जम्मा १ खेल जितेको थियो भने ३ खेलमा पराजित भएको थियो । त्यसपछि नेपालले गत जुनमा स्कटल्यान्डमा भएको लिग टु सिरिजमा एकै पटक ३ खेल जित्दा १ खेल मात्र हारेको थियो । त्यसपछि यूएईमा भएको अमेरिका र स्कटल्यान्डसँगको शृंखलामा भने सबै खेलमा पराजित भएको थियो ।
घरेलु मैदानमा अहिले ४ मध्ये ३ खेल जित्दै नेपालले महत्वपूर्ण ६ अंक जोड्न सफल भयो । ४ खेल नै जित्ने लक्ष्य बनाएपनि दोस्रो खेलमा केही कमजोरी भएको गुल्सनले बताए ।
‘४ मा ४ जित्ने योजना थियो तर भएन । दोस्रो खेलमा धेरै सोचेर अलि पछि पर्यौं तर टुर्नामेन्टमा राम्रो फिनिस गर्यौं खुसी लागेको छ’ गुल्सनले भने, ‘होम ग्राउण्डको खेल महत्वपूर्ण छ भनेर हामीले योजना बनाएका थियौं । सकेसम्म ४ वटै जित्ने र कम्तीमा पनि ३ खेल जित्ने योजना थियो ।’
नेपालले लिग टु मा अहिलेसम्म ६ सिरिज खेल्दा २४ खेलबाट १८ अंक जोडेको छ । ८ टोली सहभागी लिग टु मा नेपाल सातौं स्थानमा छ ।
नेपाल अब एक सातापछि नै घरेलु मैदानमा लिग टु को अर्को सिरिज खेल्ने छ जहाँ शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डसँग खेल्दैछ ।
अहिलेको प्रदर्शनले त्यस सिरिजका लागि सहयोग पुग्ने गुल्सन र नेपाली टिमको विश्वास छ ।
प्रतिक्रिया 4