News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’मा १५० जनाले परामर्श र उपचार सेवा पाएका छन्।
- शिविरमा ४६ जनाको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको छ र जटिल ६ जनालाई कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ।
- मधेश प्रदेशका २७ पालिकामा स्क्रिनिङ क्याम्प आयोजना गरी प्रारम्भिक विवरण लिइएको र वैशाख २५ देखि २८ गते लुम्बिनी प्रदेशमा पनि शिविर आयोजना हुँदैछ।
२३ वैशाख, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा पाएका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो ।
जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । तीमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ ।
जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए।
नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ ।
‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले मधेश प्रदेशका दुर्गम क्षेत्रमा शिविर आयोजना गरेको हो’ बैंकका सीईओ मनोजकुमार ज्ञवालीले भने ।
बैंकका अनुसार यही वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यसप्रकारका शिविर आयोजना हुँदैछ । फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामी लक्षित शिविरमा शल्यक्रिया गरेका हुन्।
प्रतिक्रिया 4