News Summary
Generated by OK AI. Editorially reviewed.- जतिन थान्वीले मिस्टर बिनको पात्रलाई भारतीय परिवेशमा ढाल्दै टाई र ब्लेजर लगाएर अभिनय गर्छन्।
चिनियाँ एप भनेर भारतले टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही महिना अघि मात्र जतिन थान्वी यो एपमा जोडिएका थिए । त्यसबेला २० वर्ष पुगेका उनी आर्किटेक्चरका विद्यार्थी थिए । एपमा उनले सामान्य डान्स ट्रेन्ड र च्यालेन्जहरूका भिडियो बनाए ।
तर, उनलाई केही नौलो कुरा गर्नुपर्छ भन्ने लाग्यो ।
त्यसपछि उनले ९० को दशकका चर्चित टेलिभिजनका पात्र ‘मिस्टर बिन’को नक्कल गर्दै भिडियो बनाउने सोचे । र, उनले पहिलो भिडियो पनि हाले । सामान्य अवस्थामा पनि उनी मिस्टर बिनसँग मिल्दोजुल्दो देखिन्थे, उनका साथीहरूले त्यस्तै भन्थे ।
मिस्टर बिनको जस्तै ड्रेसअप गरेर बनाइएको उनको त्यो भिडियो रातारात टिकटकमा भाइरल भयो । छोटो समयमा नै ५ करोड ६० लाख (५६ मिलियन) बढी भ्युज पायो ।
त्यसयता उनको पहिचान नै फेरियो । उनको भविष्यको बाटो नै मोडियो । आज जतिन ‘जुनियर मिस्टर बिन’ बनेका छन् । भारतको ‘मिस्टर बिन’ बनेका छन् । धेरैले उनलाई यही नामले चिन्छन् । उनको चाह पनि यही नै हो ।
विशेष गरी सन् १९९० र २००० को दशकमा रोवन एटकिन्सनले निभाएको मिस्टर बिनको पात्रलाई पछ्याउनु नै उनको खासीयत हो । त्यसमा उनले नवीनता थपी पात्रलाई भारतीय परिवेशमा ढाल्छन् ।
जसरी मिस्टर बिनको पात्र त्यति धेरै बोल्दैनन्, तर शारीरिक हाउभाउ र अनुहारबाटै दर्शकलाई हँसाउन सामर्थ्य राख्छन्, जतिन पनि त्यस्तै गर्छन् ।
मिस्टर बिनप्रति सम्मान व्यक्त गर्दै उनले आफ्ना भिडियोहरूमा नियमित रूपमा टाई र ब्लेजर लगाउने गर्छन् । मिस्टर बिनको मिल्ने साथी टेड्डी बोक्छन् । र, मिस्टर बिनको जस्तै धोद्रो र अस्पष्ट आवाजको पनि नक्कल गर्छन् ।
अहिले त उनी कतिपय ठाउँमा कार्यक्रममा लागि पनि जान्छ्न् । त्यहाँ गएर मिस्टर बिनका विभिन्न अभिनयहरू गर्छन् ।
तर किन मिस्टर बिन नै ?
जतिनका अनुसार उनलाई सानैदेखि धेरैले मिस्टर बिन जस्तै देखिन्छौ भन्थे । उनलाई पनि मिस्टर बिन असाध्यै मन पर्थ्यो । उनी विद्यालय, गाउँघरतिर हुने फेन्सी ड्रेस प्रतियोगिताहरूमा पनि मिस्टर बिन जस्तै बनेर जान्थे ।
मिस्टर बिनले मान्छेहरू हँसाउन कुनै शब्द प्रयोग नगर्ने, हाउभाउ मात्र प्रयोग गर्ने शैलीका जतिन ठूला फ्यान थिए । कुनै एक अन्तर्वार्तामा एटकिन्सनले मिस्टर बिनलाई वयस्क शरीर भएको एक बालक भनेर वर्णन गरेका थिए ।
सबै जातजाति र संस्कृतिमा बालबालिकाको व्यवहार करिब समान हुन्छ । जसलाई सबैले सहजै ‘रिलेट’ गर्न सक्छन् । यो कुराले पनि जतिनलाई असाध्यै प्रभाव पारेको थियो ।
किनकि, सानैदेखि लजालु र कमजोर स्वभावका जतिन त्यति आत्मविश्वासी थिएनन् । बाल्यकालमा झगडाका कारण साथीहरू गुम्ने डर उनको मनमा सधैं हुन्थ्यो ।
तर जब उनी पर्दामा मिस्टर बिनलाई देख्थे, आफ्ना समस्याहरू बिस्तारै-बिस्तारै हटेको उनलाई महसुस हुन्थ्यो । किनकि मिस्टर बिनलाई सामाजिक नियमहरू फिट हुँदैनथ्यो । त्यसको उनलाई पनि मतलब हुँदैनथ्यो ।
जतिनका अनुसार मिस्टर बिन एक यस्ता व्यक्ति हुन्, जसलाई कसैको जरुरत पर्दैन । अरूले के भन्छन् भन्ने कुरामा उनलाई मतलब पनि हुँदैन ।
यसैकारण जतिनले आफ्ना लागि आफैँ पर्याप्त हुनुपर्छ भन्ने कुरा बुझे । यसले उनको आत्मविश्वास पनि बढायो ।
त्यसपछि आफूमा भएको संकोच, डर र असामान्य कुरा- यी सबैबाट मुक्त गर्ने माध्यमका रूपमा जटिनले अभिनय रहेको बुझे । त्यसपछि नै उनी जुनियर मिस्टर बिन बनेका हुन् ।
उनको यो कामले नयाँ पुस्तामा मिस्टर बिनलाई जोड्ने काम पनि गरेको छ । त्योभन्दा बढी जतिन आफू रमाइरहेका छन् ।
प्रतिक्रिया 4