News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता कमसल जार प्रयोग तत्काल बन्द गर्न निर्देशन दिएको छ।
- विभागले नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।
२३ वैशाख, काठमाडौं । सरकारले बजारमा पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यस्ता कमसल जार प्रयोग तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
गर्मी र वर्षायामको समयमा झाडापखाला लगायत पानीजन्य रोगका हानिकारक सूक्ष्म जीवहरूको संक्रमण बढ्ने जोखिम मध्यनजर गर्दै विभागले कडाइ गरेको हो ।
विभागका अनुसार बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका र अपारदर्शी जारमा पानी भरेर बिक्री भइरहेको जनगुनासो प्राप्त भएको छ ।
विभागले यस्ता कार्य नगर्न र नगराउन उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई सचेत गराएको छ । ‘यदि कसैले यो सूचनाको बर्खिलाप कार्य गरे नयाँ जारी भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने’ बेहोरा सूचनामा उल्लेख छ ।
प्रशोधित पिउने पानी उत्पादन गर्दा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’, ‘खाद्य नियमावली २०२७’ र ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ को व्यवस्था अनिवार्य पालना गर्नुपर्ने विभागले जनाएको छ ।
दूषित पानी प्रयोगबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले पानीको स्वच्छता र गुणस्तर कायम राख्न विभागले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया 4