+
+
Shares

आध्यात्मिक म्याराथन : सरयूदेखि गंगासम्मको दिव्य दौड

डा. बाल कृष्ण साह डा. बाल कृष्ण साह
२०८३ वैशाख २३ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीन दिनको यात्रामा विराटनगरबाट अयोध्या, प्रयागराज र बनारसका पौराणिक शहरहरूमा धार्मिक स्नान र दर्शन गरियो।

मानिसको मन अनौठो छ । कहिले यो शान्त तलाउ बन्छ, त कहिले आँधीबेहरीझैं अनियन्त्रित बन्छ । व्यस्त चिकित्सकीय जीवन, अस्पतालका सेता भित्ता, र बिरामीका सुस्केराहरूका बीचमा कताकता एउटा आध्यात्मिक प्यास गुम्सिएको थियो । त्यही प्यास‍ र छोटो विदाले एउटा योजनाको जन्म दियो ।

सामान्य पर्यटकका लागि ‘असम्भव’ र भक्तका लागि ‘महोत्सव’ जस्तै भयो । बिहीबारदेखि आइतबारसम्मको मात्र ३ दिनको समय, तर गन्तव्य थियो ३ वटा पौराणिक शहर । अयोध्या, प्रयागराज र बनारसका अनगिन्ती आध्यात्मिक अनुभूति । धेरैले यसलाई ‘थकाउने यात्रा’ भन्न सक्थे । तर मेरा लागि यो एउटा ‘स्पिरिचुअल म्याराथन’ जस्तो भयो ।

बिहीबार बिहानको समान्य काम हतारमा सम्पन्न गरेर विराटनगरबाट हाम्रो टोली निस्कियो । टोलीमा म, मेरी अर्धाङ्गिनी सोमनी, छोरा विप्लक, छोरी बन्दना, भाउजू रम्भा, दिदी अहिल्या र हाम्रो यात्राको सारथि कुलदीप थियो ।

कुलदीपको भारतीय नम्बर प्लेटको त्यो गाडी यात्राको साधन मात्र थिएन । त्यो त एउटा गुडिरहेको ‘सानो घर’ थियो, जहाँ विश्वास र उत्साहको इन्धन भरिएको थियो ।

१. अयोध्या : सरयूको शीतल स्पर्श

विराटनगरबाट सुरु भएको लामो सडक यात्राले हामीलाई बिहीबार राति २ बजे अयोध्याको पवित्र माटोमा पुर्‍यायो । शहर निदाइरहेको थियो, तर हाम्रो मनमा एउटा छुट्टै जागरण थियो । मात्र चार घण्टाको विश्रामपछि वैशाख शुक्ल पूर्णिमाको झुल्के घामसँगै बिहान ६ बजे हामी सरयू नदीको तटमा पुग्यौ ।

भगवान् विष्णुको नेत्रजलबाट उत्पन्न भएको मानिने सरयू नदीको ‘नयाँ घाट’ मा स्नान गर्‍यौँ । बुद्ध जयन्ती एवं वैशाख शुक्ल पूर्णिमाको पावन तिथिमा सरयूको शीतल र निर्मल जलमा डुबुल्की मार्दा लामो यात्राको थकान हरायो ।

यो नदीको पानीमा एक किसिमको विशेष शान्ति छ । जसले मानिसलाई ‘मर्यादा’ सिकाउँछ । स्नानपछि हनुमान गढीको दर्शन र त्यसपछि नवनिर्मित भव्य राम मन्दिरको दर्शन गरियो । रामललाको त्यो अलौकिक मूर्तिको दर्शनले यो म्याराथनको पहिलो चरण सफल भएको अनुभूति भयो ।

२. प्रयागराज : संगमको गहिराइ

अयोध्याको प्रसाद ग्रहण गरेर हाम्रो गाडी सोझै प्रयागराज (इलाहाबाद) तर्फ हुइँकियो । यो म्याराथनको दोस्रो र निकै महत्त्वपूर्ण खण्ड थियो । पूर्णिमा तिथिको स्नानलाई हामीले छुटाउन चाहेनौं । त्यसैले, दिउँसोको राप र सडकको जाम छिचोल्दै साँझ ५ बजे हामी त्रिवेणी संगमको काखमा पुग्यौँ ।

प्रयागराजलाई ‘तीर्थराज’ अर्थात तीर्थहरूको राजा भनेर पनि परिचित छ । यहाँ गंगा, यमुना र अदृश्य सरस्वतीको मिलन (संगम) भएको छ । हामी संगमको बीच भागमा पुग्यौँ, त्यहाँको दृश्य लोभलाग्दो थियो । यमुनाको नीलो पानी र गंगाको सेतो पानीको स्पष्ट सिमाना देखिन्थ्यो ।

त्यहाँको बीच जलराशिमा सपरिवार स्नान गर्नु भनेको केवल शरीर धुनु मात्र थिएन । बरु आफ्ना अहंकार र विकारलाई त्यो विशाल जलराशिमा विसर्जन गर्नु थियो । पौराणिक मान्यताअनुसार वैशाख पूर्णिमामा संगममा स्नान गर्नु अश्वमेध यज्ञ गरे बराबरको पुण्य मानिन्छ । स्नानपछि त्यहाँका प्रख्यात सुतेका हनुमानको दर्शन गरेपछि हाम्रो यात्रा बनारसतर्फ मोडियो ।

३. बनारस : भक्ति र स्वादको संगम

प्रयागराजबाट हिँडेको हाम्रो टोली राति १२ बजे बनारस (काशी) पुग्यो । रातको समयमा बनारसका गल्लीहरूमा हाम्रो गाडी हुँइकिएको थियो ।

यो पौराणिक शहरलाई आधुनिकताले छोपेको भए पनि संस्कार हराएको छैन । एक पल पनि नसुत्ने यो शहरले जीवन र मृत्युलाई एउटै घाटमा सँगै स्वीकार्ने गरेको प्रत्यक्ष देख्न सकिन्छ । राति थोरै विश्राम गर्यौं । शनिबार बिहान ६ बजे हामी गंगाको पवित्र तटमा पुग्यौँ ।

हामीले बनारसको सबैभन्दा ऐतिहासिक र जीवन्त दशाश्वमेध घाटमा स्नान गर्‍यौं । भनिन्छ, यही घाटमा ब्रह्माले १० वटा अश्वमेध यज्ञ गरेका थिए । गंगाको लहरमा स्नान गरिरहँदा एउटा अद्‍भूत ऊर्जा महसुस भयो । स्नानपछि काशी विश्वनाथको भव्य ‘कोरिडोर’ (गेट नं. २) बाट मन्दिर प्रवेश गर्दा लामो समयको प्रतिक्षा सकियो । आधुनिक इन्जिनियरिङ र प्राचीन आस्थाको यो संगमले काशीलाई नयाँ रूप दिएको रहेछ ।

विश्वनाथको दर्शनपछि काशीको ‘कोतवाल’ कालभैरवको दर्शन गर्दा हाम्रो यात्राले पूर्णता पायो । कालभैरवका गल्लीहरूमा निकैबेर अल्मलियौ । एउटै किसिमका साँघुरा गल्लीहरू, तर अन्त नभेटिने । अन्तत हामी गुगल नक्साको सहायाताले बाहिर निस्किन सफल भयौं।

बनारस पुगेर त्यहाँको गल्ली र स्वाद नचाख्नु भनेको काशी यात्रा अधुरो छोड्नु जस्तै हो । माटोको भाँडोमा पाइने बाक्लो र मलाइदार लस्सी, स्थानीय मिठाई र मुखै रसाउने प्रसिद्ध बनारसी पानको स्वादले यात्रालाई अझै यादगार बनायो ।

सामाजिक सञ्जालमा भाइरल भएको वनारसको ‘लिट्टीको’ पसल हामीले भेट्यौँ । साँच्चिकै त्यहाको लिट्टीको चाटको स्वाद गजबको थियो । त्यहाँको गल्लीका साँघुरा बाटाहरूमा हराउनु र ‘हरहर महादेव’ को गुञ्जन सुन्नुको आफ्नै मज्जा थियो।

शनिबार साँझ ६:४० मा गंगा आरती दर्शनका लागि हामी पुनः दशाश्वमेध घाट पुग्यौँ । ७ जना पण्डितहरूले भव्य पूजा गरेर एकैसाथ आरतीका दीपहरू उचाल्दा, शंखको ध्वनि गुञ्जिँदा र गंगाको लहरमा हजारौँ बत्तीहरू तैरिरहँदा साक्षात् ईश्वरीय शक्ति यहीँ कतै छ जस्तो महसुस भयो।

झिलिमिली बत्ती र प्रकाशको त्यो प्रतिबिम्ब देख्दा मनमा एउटा बेग्लै संसारको अनुभूति भयो । यो दृश्य नै यो ’स्पिरिचुअल म्याराथन’ को सबैभन्दा सुन्दर र भावुक क्षण थियो ।

४. अन्तिम प्रहर : घर फिर्तीको दौड

शनिबार राति ९ बजे हामीले बनारसलाई बिदा गर्‍यौं । अबको आइतबार घर पुग्ने, विश्राम गर्ने र सोमबार खि नियमित काममा फर्किने चुनौती थियो। रातभरि गाडी गुडिरह्यो, सडकका पहेँला बत्तीहरू पछि छुट्दै गए । बीच–बीचमा चियाको चुस्की र साना–साना आरामले शरीरलाई साथ दियो ।

आइतबार दिउँसो १२ बजे हामी विराटनगरको आफ्नै दैलोमा आइपुग्यौँ । यसरी ३ दिनको ‘स्पिरिचुअल म्याराथन’ पूरा भयो । यो यात्रा केवल भूगोलको भ्रमण वा एउटा सामान्य घुमघाम थिएन । यो त एउटा ‘डाक्टर’ भित्र लुकेको एउटा ‘आस्था’ को आफ्नै आत्मासँगको संवाद र एउटा पारिवारिक जिम्मेवारी पनि थियो ।

म्याराथनमा मानिस पदकका लागि दौडिन्छन् । तर हाम्रो यो म्याराथनमा हामी आत्मिक शान्ति र पारिवारिक सामीप्यताका लागि दौडियौँ । सरयूको मर्यादा, संगमको ज्ञान र काशीको भक्तिलाई हृदयमा सजाएर घर फर्कनु नै यो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।

यो दिव्य दौडले म र मेरो परिवारलाई एउटा ऊर्जा दिएको छ । यो ऊर्जा जीवनभरको एउटा अमूल्य पूँजी बनेर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?