News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फोटोग्राफर ज्योति श्रेष्ठको 'छ्याके' कला परियोजना ६१औँ भेनिस बिएनाले दी भेनेजियामा प्रदर्शन हुन लागेको छ।
- उनको कृति युरोपेली सांस्कृतिक केन्द्रको आधिकारिक सहायक प्रदर्शनी 'पर्सनल स्ट्रक्चर्स' अन्तर्गत ९ मेदेखि २२ नोभेम्बर २०२६ सम्म प्रदर्शित हुनेछ।
- श्रेष्ठले भनिन्, 'भेनिस बिएनालेको हिस्सा बन्न पाउनु मेरा लागि अविश्वसनीय अनुभूति हो' र उनले विश्व समकालीन कला क्षेत्रमा नेपालको उपस्थिति विकासमा योगदान दिन चाहन्छिन्।
काठमाडौं । नेपाली दृश्यकलाकार तथा फोटोग्राफर ज्योति श्रेष्ठ यसवर्ष आयोजना हुने ६१औँ अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘ला बिएनाले दी भेनेजिया’ मा आफ्नो ‘छ्याके’ कला परियोजना प्रदर्शनीका लागि छनोट भएकी छन् ।
विश्वकै प्रतिष्ठित समकालीन कला मञ्चमध्येको एकमा नेपाली उपस्थितिको निरन्तरताका रूपमा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ ।
उनको कृति युरोपेली सांस्कृतिक केन्द्र (ईसीसी) ले आयोजना गर्ने आधिकारिक सहायक प्रदर्शनी ‘पर्सनल स्ट्रक्चर्स’ अन्तर्गत प्रस्तुत गरिनेछ । यो प्रदर्शनी आगामी ९ मेदेखि २२ नोभेम्बर २०२६ सम्म इटालीको भेनिसस्थित ऐतिहासिक थलो पलाज्जो बेम्बो, पलाज्जो मोरा र मरिनारेसा उद्यानमा सञ्चालन हुनेछ ।
सन् १८९५ मा स्थापना भएको भेनिस बिएनाले समकालीन कलाको विश्वकै प्रभावशाली अन्तर्राष्ट्रिय मञ्चमध्ये एक मानिन्छ । नेपालले सन् २०२२ मा पहिलोपटक आधिकारिक मण्डप प्रस्तुत गरे पनि बिएनालेको व्यापक संरचनाभित्र नेपाली कलाकारको सहभागिता अझै सीमित छ ।

श्रेष्ठको सहभागिताले अन्तर्राष्ट्रिय समकालीन कला विमर्शमा नेपाली सिर्जनशील आवाजको उपस्थिति विस्तार हुँदै गएको संकेत गरेको छ ।
श्रेष्ठले भनेकी छन्, ‘भेनिस बिएनालेको हिस्सा बन्न पाउनु मेरा लागि अविश्वसनीय अनुभूति हो । यहाँ आफ्नो काम प्रदर्शन गर्ने सपना सधैं थियो, अहिले त्यो पूरा हुँदैछ भन्ने विश्वास गर्नै गाह्रो भइरहेको छ । आफ्नो सिर्जना मात्र होइन, विश्व समकालीन कला क्षेत्रमा नेपालको विकसित उपस्थितिमा योगदान दिन पाउनु पनि मेरा लागि महत्वपूर्ण छ ।’
नेपालमा जन्मिएकी ज्योति फोटोगाफ्रीमा पनि सक्रिय छिन् । नेदरल्यान्ड्सको ‘जियुपी फ्रेस आइज ट्यालेन्ट २०२६’ मा छनोट भइसकेकी छन् भने युरोपेली सांस्कृतिक केन्द्र, अर्बानोटिका र पेरिस कला महाविद्यालयद्वारा प्रदान गरिने ‘ब्लरिङ द लाइन्स २०२५’ सम्मानसमेत प्राप्त गरिसकेकी छन् ।
उनका सिर्जना नेपाल, भारत, बंगलादेश, कम्बोडिया, भियतनाम, थाइल्यान्ड, मलेसिया, फिनल्यान्ड, जर्मनी, हङकङ र फिलिपिन्सलगायत विभिन्न देशमा प्रदर्शन भइसकेका छन् । उनी कम्बोडियाको एङ्कोर फोटो कार्यशाला, बंगलादेशको पाठशाला दक्षिण एसिया सञ्चार संस्था तथा नेपालको फोटोसर्कलकी पूर्वविद्यार्थीसमेत हुन् ।

प्रतिक्रिया 4