+
+
Shares

‘अमेरिकन फिल्म शोकेस’ अन्तर्गत काठमाडौंमा स्मार्टफोन फिल्ममेकिङ कार्यशाला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी दूतावासले अमेरिकन फिल्म शोकेसअन्तर्गत पाँचदिने 'स्मार्टफोन सिनेमाटोग्राफी एन्ड डिजिटल डिस्ट्रिब्युसन' कार्यशाला आयोजना गरेको छ।
  • कार्यशालामा नेपाली नयाँ पुस्ताका दृश्य कथाकारलाई कथा संरचना, सिनेमाटोग्राफी, सम्पादन र डिजिटल वितरणबारे व्यावहारिक प्रशिक्षण दिइएको छ।
  • अवार्ड विजेता फिल्ममेकर इज्जी च्यानले नेतृत्व गरेको कार्यशालामा सहभागीले ३ देखि ५ मिनेट लामो ब्रान्डेड डकुमेन्ट्री निर्माण गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं । अमेरिकी दूतावासले अमेरिकी सरकारको प्रमुख अन्तर्राष्ट्रिय फिल्म तथा टेलिभिजन सार्वजनिक कूटनीतिक पहल ‘अमेरिकन फिल्म शोकेस’ अन्तर्गत ‘स्मार्टफोन सिनेमाटोग्राफी एन्ड डिजिटल डिस्ट्रिब्युसन’ कार्यशाला आयोजना गरेको छ ।

पाँचदिने यो व्यावहारिक कार्यशालाको उद्देश्य नेपाली नयाँ पुस्ताका दृश्य कथाकारलाई सिर्जनात्मक, आत्मविश्वासी र स्रोत-साधनको प्रभावकारी प्रयोगसहित कथा भन्न सक्षम बनाउनु रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा उदीयमान फिल्ममेकर, डकुमेन्ट्री कथाकार, कन्टेन्ट क्रियटर, ब्रान्डेड कन्टेन्ट निर्माता तथा मार्केटिङ क्षेत्रमा काम गर्ने सहभागीलाई आधुनिक फिल्म निर्माणका सिर्जनात्मक र प्राविधिक पक्षबारे प्रशिक्षण दिइँदैछ ।

कार्यशालाको नेतृत्व अवार्ड विजेता फिल्ममेकर तथा विज्ञापन क्षेत्रकी अनुभवी कार्यकारी इज्जी च्यानले गरिरहेकी छन् । उनी २० वर्षभन्दा बढी समयदेखि कथा प्रस्तुति र विज्ञापनको क्षेत्रमा सक्रिय छिन् ।

यो कार्यक्रम ‘लर्निङ बाइ डुइङ’ अर्थात् काम गर्दै सिक्ने अवधारणामा आधारित छ । सहभागीले आफ्नै स्मार्टफोन प्रयोग गरेर छोटो ब्रान्डेड डकुमेन्ट्री निर्माण गर्नेछन् ।

अवधारणादेखि सम्पादनसम्मको प्रक्रियामा उनीहरूले कथा संरचना, पात्र विकास, दृश्य शैली, सिनेमाटोग्राफी, ध्वनि, अन्तर्वार्ता लिने तरिका र सम्पादनबारे व्यवहारिक अनुभव हासिल गर्नेछन् ।

कार्यशालामा डिजिटल प्लेटफर्ममार्फत कन्टेन्ट वितरण र दर्शकसँगको पहुँच विस्तारबारे पनि विशेष जोड दिइएको छ । सहभागीले सामाजिक सञ्जालमा प्रभावकारी रूपमा कथा प्रस्तुत गर्ने, सन्देश निर्माण गर्ने र डिजिटल रणनीति अपनाउनेबारे सिक्नेछन् ।

सानो समूहमा विभाजन गरिएका सहभागीले विभिन्न स्थानमा छायांकन गर्दै आफ्नो प्रोजेक्टमा काम गरिरहेका छन् । कार्यशालाको अन्त्यसम्म प्रत्येक समूहले ३ देखि ५ मिनेट लामो तयार ब्रान्डेड डकुमेन्ट्री निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको समापन शुक्रबार तयार गरिएका छोटा फिल्मको प्रदर्शनमार्फत गरिनेछ । उक्त कार्यक्रममा सहभागीले आफ्ना फिल्म मिडिया व्यवसायी, फिल्म उद्योगका अगुवा, सिर्जनशील व्यक्तित्व, सांस्कृतिक क्षेत्रका सरोकारवाला र डिजिटल इन्फ्लुएन्सरसमक्ष प्रस्तुत गर्नेछन् ।

प्रदर्शनपछि नेटवर्किङ कार्यक्रम पनि राखिएको छ, जहाँ सहभागीले आफ्नो काम साझा गर्दै उद्योगसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् ।

कार्यशालाकी प्रमुख प्रशिक्षक इज्जी च्यान अमेरिकाको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको स्कूल अफ सिनेमाटिक आट्र्सकी स्नातक हुन् । उनले ‘द बिग फ्लिप : स्टोरिज फ्रम द मोडर्न होम फ्रन्ट’ लगायतका डकुमेन्ट्री निर्माण गरेकी छन्, जसले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रशंसा पाएको थियो ।

च्यानले एप्पल, नाइक, गुगल र अमेजनजस्ता विश्व चर्चित ब्रान्डसँग सहकार्य गरिसकेकी छन् । उनले अमेरिकन फिल्म शोकेसकी फिल्म तथा सांस्कृतिक दूतका रूपमा विश्वका विभिन्न देशमा फिल्म निर्माणसम्बन्धी कार्यशाला सञ्चालन गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?