News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ले बक्स अफिसमा ऐतिहासिक सफलता पाएको छ।
- ‘धुरन्धर २’मा प्रयोग गरिएको ‘तिरछी टोपीवाले’ गीतको कपीराइट विवाद दिल्ली उच्च अदालतमा मध्यस्थता असफल भएपछि ट्रायलमा जाने भएको छ।
- ‘त्रिमूर्ति फिल्म्स’ले अनुमति बिना गीत प्रयोग गरिएको भन्दै निर्माता पक्षविरुद्ध मुद्दा दायर गरेको छ र अर्को सुनुवाइ मे ८ मा तोकिएको छ।
मुम्बई । बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ले एकातिर बक्स अफिसमा ऐतिहासिक सफलता पाइरहको छ भने अर्कोतिर फिल्म कपीराइट विवादमा फसेको छ ।
दिल्ली उच्च अदालतलाई जानकारी गराइएअनुसार फिल्मका निर्माता पक्ष र ‘त्रिमूर्ति फिल्म्स’बीच गीत ‘तिरछी टोपीवाले’को कपीराइट विवाद मध्यस्थताबाट समाधान हुन सकेन ।
‘त्रिमूर्ति फिल्म्स’का राजीव रायले जियो स्टुडियोज र बी सिक्सटी टुविरुद्ध अनुमति बिना गीत प्रयोग गरिएको आरोपसहित मुद्दा दायर गरेका हुन् । उक्त गीत राजीव राय निर्देशित सन् १९८९ को फिल्म ‘त्रिदेव’मा समावेश थियो र यसको अधिकार ‘त्रिमूर्ति फिल्म्स’सँग रहेको दाबी गरिएको छ ।
मध्यस्थता असफल भएपछि ‘धुरन्धर २’मा प्रयोग गरिएको ‘रंग दे लाल (ओए ओए)’ गीतसम्बन्धी विवादले नयाँ मोड लिएको छ । अब फिल्मका निर्माता पक्षले अदालतमा औपचारिक सुनुवाइ र ट्रायल सामना गर्नुपर्ने भएको छ ।
‘बार एन्ड बेन्च’को रिपोर्टअनुसार न्यायाधीश तुषार राव गेडेलाले यस मुद्दाको अर्को सुनुवाइका लागि मे ८ को मिति तोकेका छन् । सुरुमा अदालतले दुवै पक्षलाई आपसी समझदारी र मध्यस्थतामार्फत समाधान खोज्न सुझाव दिएको थियो । तर बुधबार पुनः सुनुवाइ हुँदा मध्यस्थता सफल नभएको जानकारी अदालतलाई गराइएको हो ।
‘तिरछी टोपीवाले’ गीत मूल रूपमा सन् १९८९ मा रिलिज भएको ‘त्रिदेव’ फिल्मको चर्चित गीत हो । यसमा सपना मुखर्जी र अमित कुमारको स्वर रहेको थियो भने संगीत जोडी कल्याणजी-आनन्दजीले संगीत तयार गरेका थिए । गीत त्यस समयको ठूलो हिट बनेको थियो र तीन दशकभन्दा बढी समयदेखि लोकप्रिय रहँदै आएको छ ।
यसै वर्ष मार्च १९ मा रिलिज भएको ‘धुरन्धर २ : द रिभेन्ज’को क्लाइमेक्स दृश्यमा उक्त गीत प्रयोग गरिएको छ । फिल्ममा यो गीत ‘रंग दे लाल’ शीर्षकमा समावेश गरिएको छ र यसका केही नयाँ शब्द पनि थपिएका छन् ।
गीतलाई ज्यास्मिन स्यान्डलस र अफसाना खानले स्वर दिएका छन् भने शाश्वत सचदेवले रिमिक्स गरेका हुन् । फिल्ममा यो गीत अभिनेता राकेश बेदीको पात्रमाथि चित्रित गरिएको छ, जहाँ उनले मुख्य पात्र जसकीरत, जसको भूमिका रणवीर सिंहले निभाएका छन्, उनलाई महत्वपूर्ण कुरा सुनाइरहेका हुन्छन् ।
फिल्म रिलिज भएको केही समयमै ‘त्रिमूर्ति फिल्म्स’ले निर्माता पक्षविरुद्ध अदालत पुगेको थियो । कम्पनीले गीत प्रयोग गर्न आवश्यक लाइसेन्स वा अनुमति नलिइएको दाबी गरेको छ । गीत र यसको साउन्ड रेकर्डिङसँग सम्बन्धित सम्पूर्ण अधिकार आफूहरूसँग रहेको भन्दै कम्पनीले अनुमति बिना गीत पुनः निर्माण गरेर सार्वजनिक गरिएको आरोप लगाएको छ ।
राजीव रायले ‘डीएनए’सँगको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लडाइँ केवल साउन्डट्रयाकमा गीत प्रयोग गरिएको विषयमा होइन, यो त सम्पूर्ण कथासँग जोडिएको विषय हो । यो चोरी हो । अर्को फिल्ममा अलिकति परिवर्तन गरेर प्रयोग गर्नु दोहोरो चोरीजस्तै हो । मेरो नजरमा यो स्पष्ट चोरीको मामला हो ।’
उता टी सिरिज अन्तर्गतको ‘सुपर क्यासेट्स इन्डस्ट्रिज’, जससँग गीतको अडियो अधिकार रहेको बताइन्छ । उसले कुनै पनि अन्तरिम राहत दिन नहुने अडान राखेको छ । कम्पनीले ‘त्रिमूर्ति फिल्म्स’ले पूर्ण पारदर्शिता नअपनाएको र यस्ता अघिल्ला घटनालाई बेवास्ता गरेको दाबी गरेको छ ।
निर्माता कम्पनी बी सिक्सटी टु स्टुडियोजले अदालतलाई ‘धुरन्धर २’ पहिले नै प्रदर्शनमा आइसकेको र मे महिनाको मध्यतिर ओटीटी प्लेटफर्ममा समेत आउन सक्ने जानकारी दिएको छ ।
यसबीच फिल्म अझै पनि हलमा प्रदर्शनरत छ । फिल्मको साउन्डट्रयाक र ‘रंग दे लाल’ गीत अहिले पनि फिल्मभित्र समावेश छ । प्रदर्शनको ४९औँ दिन फिल्मले भारतभर ८५९ शोबाट ५२ लाख भारु कमाएको छ ।
प्रतिक्रिया 4