+
+
Shares

मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब

मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ । भोलि फस्ने डर छ । त्यसकारण त्यो फाइल अड्केको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब रोकिदिएका छन्।
  • नेपाल सरकारको परिपत्र अनुसार सचिवालयमा बढीमा तीन जना मात्र नियुक्त गर्न सकिने व्यवस्था छ।
  • मुख्यमन्त्री यादवले करिब दुई महिना अघि तलब खुवाउन फाइल पठाए पनि कर्मचारीले अडान लिएका छन्।

२४ वैशाख, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् । यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयमा स्वकीय अधिकृतमा कमलदेव यादव, कम्युटर अपरेटरमा महेश्वर चौधरी, चालकमा दिवस दुलाल, कार्यालय सहयोगीमा विद्यालाल राउत, संजितकुमार यादवलगायत १० जना नियुक्त छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा स्वकीय सचिवसहित १४ जनासम्म मुख्यमन्त्रीले सचिवालयमा राख्न सक्छन् ।

तर जेनजी आन्दोलन पश्चात नेपाल सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तीनै तहको सरकारले गर्नुपर्ने खर्च कटौतीबारे निर्णय गरेको थियो ।

नेपाल सरकारको अर्थ मन्त्रालयले ७ असोजमा तीनै तहको सरकारलाई गरेको परिपत्रको बुँदा नम्बर ५ को (ट) मा ‘नेपाल सरकार, प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न सक्ने’ उल्लेख छ ।

तर, मुख्मयन्त्रीले १० जना सचिवालयमा राखेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले उनीहरूलाई तलब खुवाउन मानेका छैनन् । मुख्यमन्त्री यादवले करिब २ महिना अगाडि तलब खुवाउन फाइल लेखाशाखामा पठाएका थिए ।

तर, तीनजना भन्दा बढीको तलब खुवाउन नमिल्ने कर्मचारीले अडान लिएका छन् ।

‘संघीय सरकारले सचिवालयमा तीनजना भन्दा बढी नियुक्त गर्न नपाइने परिपत्र गरेको छ । हाम्रो मुख्यमन्त्रीजीले १० जना नियुक्त गर्नु भएको छ । यो संघीय सरकारको परिपत्र विपरीत हो,’ एक कर्मचारीले भने, ‘तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ । भोलि फस्ने डर छ । त्यसकारण त्यो फाइल अड्केको हो ।’

केही दिनअघि मुख्यमन्त्री यादवले सञ्चारकर्मीसँगको भेटघाटमा आफ्नो सचिवालयका कर्मचारीले अहिलेसम्म तलबभत्ता खान नपाएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?