News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको र १९५४ देखि यात्रा हुँदै आएको बताएको छ।
- नेपालले भारत र चीनलाई लिपुलेक पास हुँदै यात्रा सञ्चालनमा विरोध जनाउँदै कूटनीतिक नोट पठाएको छ।
- सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली पूर्वका भू-भाग नेपालको भएको उल्लेख छ।
२४ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे भारत विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको बताए ।
मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफ्रिङमा उनले भने, ‘हामी यो विषयमा प्रेस नोट जारी गरिसकेका छौं । मानसरोवर यात्रा १९५४ देखि नै हुँदै आएको हो । यो नौलो विषय होइन ।’
केही दिनअघि भारत र चीनले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लाएको विरोधमा नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले यो विषय नयाँ नभएको प्रतिक्रिया दिएको थियो । यद्यपि नेपालसँग संवादका लागि भने तयार रहेको प्रेस नोटमा उल्लेख थियो ।
सन् २०१५ मा भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक, तीर्थालु आउजाउ गर्ने सहमति गरेका थिए । त्यतिबेला नेपालले पठाएको कूटनीतिक नोटको भने दुवै देशले औपचारिक जवाफ दिएका थिएनन् । यसपटक पनि चीनले नेपालको यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
सन् १८१६ मा नेपाल र ब्रिटिस भारतबीच भएको सुगौली सन्धिमा काली (महाकाली) पूर्वका भू-भाग नेपालको हुने उल्लेख छ । जसअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली सीमा नदी हो ।
प्रतिक्रिया 4