२४ वैशाख, लन्डन । ७ मे बिहीबार (आज) बेलायतका चारमध्ये तीन राज्य इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा स्थानीय निर्वाचन सुरु भएको छ । विभिन्न १३६ स्थानीय काउन्सिलमा ५ हजार १४ सिटका लागि निर्वाचन भइरहेको हो ।
यस निर्वाचनमार्फत स्कटल्यान्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसद्का लागि प्रतिनिधि छनोट गर्ने छन् भने इङ्गल्यान्डका ३० काउन्सिलमा काउन्सिलर र मेयर चुनिने छन्।
साथै, इंग्ल्यान्डका क्रोयडन, ह्याक्नी, लुइसाम, न्यूह्याम, टावर ह्यामलेट्स र वाटफोर्डसहितका ६ स्थानीय तहमा मेयर पदको चुनाव पनि हुँदैछ ।
बिहान ७ बजे सुरु भएको मतदान राति १० बजेसम्म जारी रहने छ । अधिकांश क्षेत्रको नतिजा शुक्रबार दिनभरसम्म आइसक्ने अपेक्षा छ ।
यो चुनावलाई वर्तमान प्रधानमन्त्री केयर स्टार्मरको एक प्रकारको जनमत संग्रहका रूपमा हेरिएको छ ।
कन्जर्भेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै ठूलो अपेक्षासहित सत्तामा आएका स्टार्मरको पछिल्लो समय भने लोकप्रियता घट्दो छ ।
सरकारमा आएपछि गरेका केही नीतिगत यू-टर्न, आर्थिक चुनौती र जनअपेक्षा पूरा गर्न नसकेका कारण उनको छवि कमजोर बन्दै गएको हो ।
सामान्यतया स्थानीय तहका चुनावहरू सडक, सरसफाइ र स्थानीय सेवामा केन्द्रित हुने गर्छन् । तर यस पटकको चुनाव भने राष्ट्रिय राजनीतिसँग सिधा जोडिएको छ ।
यो पटकको स्थानीय चुनावमा मतदाताले सरकारप्रतिको आफ्नो सन्तुष्टि वा असन्तुष्टि व्यक्त गर्ने छन् ।
विश्लेषकहरूका अनुसार लेबरले उल्लेख्य सिट गुमाउन सक्ने जोखिम देखिएको छ । यदि त्यस्तो भयो भने यसले स्टार्मरको नेतृत्वमाथि गम्भीर प्रश्न उठाउन सक्छ ।
अर्कोतर्फ, रिफर्म यूके जस्ता दक्षिणपन्थी र ग्रिन जस्ता वैकल्पिक दलहरूको उभारले बेलायतको परम्परागत दुई दलीय राजनीतिक संरचना कमजोर बनाउँदै लगेको छ ।
बेलायतमा यस पटकको स्थानीय निर्वाचनमा नेपाली मूलका पनि थुप्रै उम्मेदवार मैदानमा उत्रिएका छन् । प्राप्त जानकारीअनुसार कन्जरभेटिभ पार्टीबाटै कम्तीमा एक दर्जन नेपाली मूलका उम्मेदवार छन् ।
सत्तारुढ लेबरका साथै लिबरल डेमोक्रयाट, ग्रिन र जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीबाट समेत रहेका कारण नेपाली मूलका उम्मेदवारहरूको जम्मा संख्या कम्तीमा डेढ दर्जन बढी हुन सक्ने आकलन गर्न सकिन्छ ।
यस पटक बेलायतको स्थानीय निर्वाचन लड्दै गरेका नेपाली मूलका उम्मेदवारबीच केही रोचक संयोग पनि जुरेका छन् । एक बरोमा नेपाली दम्पती नै काउन्सिलर पदका उम्मेदवार छन् भने दुई क्षेत्रमा नेपाली मूलका उम्मेदवारबीचमै प्रमुख प्रतिस्पर्धा छ ।
लन्डनको रोयल बरो अफ ग्रिनविचमा पूर्वमेयर जित रानाभाट प्लमस्टिड एन्डन ग्लिन्डन वार्डबाट उम्मेदवार छन् भने उनकी पत्नी गौमाया गुरुङ सोही बरोकै एबिउड वार्डबाट उम्मेदवार छिन् । उनीहरू दुवैजना लेबर पार्टीका हुन् ।
पूर्वमेयर रानाभाट उम्मेदवार रहेको प्लमस्टिड एन्ड ग्लिन्डन वार्डमा लेबर पार्टीका पूर्वनेता जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा नरेन्द्र कँडेल पनि उम्मेदवार छन् ।
त्यस्तै, अल्डरसटको वेलिङटन वार्डमा कन्जरभेटिभ पार्टीबाट डा. विशाल गुरुङ तथा लेबर पार्टीबाट उत्तरबहादुर गुरुङ उम्मेदवार छन् ।
यी दुवै वार्डमा तीन-तीन जना काउन्सिलर निर्वाचित हुने भएकाले प्राविधिक हिसाबले नेपाली मूलका दुवै उम्मेदवार निर्वाचित हुने सम्भावना पनि रहन्छ । तर मत विभाजन हुने अवस्थामा एउटाले जित्ने र अर्कोले हार्ने सम्भावना पनि उत्तिकै रहन सक्छ ।
पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि लेबर पार्टीबाट बेजिङस्टकको ब्राइटनहिल वार्डमा चुनावी मैदानमा छन् ।
ज्ञानप्रसाद गुरुङ कन्जरभेटिभ पार्टीबाट स्विन्डनको पार्क साउथमा चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतीक्षा गुरुङ लेबर पार्टीबाट ब्याटल वार्ड रिडिङमा चुनाव लड्दै छिन् । इन्द्राहाङ लिम्बु फेलथाममा कन्जरभेटिभ उम्मेदवार छन् ।
प्रतिक्रिया 4