News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघको म्याद १० महिना बढी समयदेखि सकिएको छ तर अझै नवीकरण गरिएको छैन।
- राष्ट्रिय खेलकुद परिषद्ले क्यानले नवीकरणका लागि निवेदन नदिएको पुष्टि गरेको छ।
- क्यानले १९ महिनामा साधारण सभा नगरेको छ र वैशाख २७ र २८ गते सभा गर्ने तय गरेको छ।
२४ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा बढी गतिविधि गर्ने खेल संघमा पर्छ, नेपाल क्रिकेट संघ (क्यान) । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा एकपछि अर्को सफलता मिल्दा त्यसको श्रेय क्यानलाई नै जान्छ । सरकारका योजनादेखि बजेट विनियोजनमा क्यान अरुभन्दा बढी नै प्राथमिकतामा पर्ने गर्छ । तर, सोही क्रिकेट संघ म्याद सकिएको १० महिना बढी समय हुँदासम्म नवीकरण नगरी चलिरहेको छ ।
गत असारमा सकिएको म्याद अर्को वर्षको वैशाख सकिनै लाग्दासम्म पनि क्यानले नवीकरण गरेको छैन । क्यानले हालसम्म नवीकरण नगरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले पुष्टि गरे । ‘क्यान हालसम्म नवीकरणका लागि आएको छैन,’ उनले भने ।
राष्ट्रिय खेलकुद विकास ऐनअनुसार खेल संघहरुले हरेक वर्ष नवीकरण गर्नुपर्छ । राष्ट्रिय खेलकुद नियमावली २०७७ ले खेल संघहरूले दर्ताको मान्य अवधि सकिनुभन्दा कम्तीमा १५ दिनअघि प्रत्येक वर्ष नवीकरणका लागि राखेपमा निवदेन दिनुपर्ने उल्लेख छ । तर, क्यानले आर्थिक वर्ष सकिनै लाग्दा पनि नवीकरण गरेको छैन । नवीकरणको बारेमा बुझ्न खोज्दा नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामा तर्किए ।
‘नवीकरण त गरेको हुनुपर्छ । के रैछ बुझ्छु है’ भन्दै फोन राखे । त्यसपछि उनले फोन उठाएनन् ।
यता नवीकरण नगर्ने क्यानसहित खेल संघलाई पत्राचार गर्ने राखेप सदस्य सचिव रामचरित्र मेहता बताउँछन् । ‘नवीकरण अनिवार्य गर्नुपर्ने हो । किन नगरेको भन्नेबारे प्रश्न गर्नुपर्छ,’ उनले भने, ‘हामीले पत्राचार गर्छौं ।’
क्यानले २०८२ असारसम्मका लागि पछिल्लो पटक २०८१ पुस ९ मा नवीकरण गरेको थियो । त्यसयता क्यानले न नवीकरण गरेको छ न साधारण सभा नै । २०८१ को असोजमा क्यानले पछिल्लोपटक साधारण सभा गरेको थियो । हरेक वर्ष साधारण सभा गर्नुपर्ने व्यवस्था भएपनि क्यानले १९ महिनायता गर्न सकेको छैन । १९ महिनापछि वैशाख २७ र २८ गते क्यानले साधारण सभा गर्ने तय गरेको छ ।
नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेस गर्नुपर्ने व्यवस्था छ । लेखा परीक्षणका कारण नवीकरणको दायरामा नआएको हुनसक्ने क्यानका सदस्यहरु नै बताउँछन् । लेखा परीक्षणसहितको कागजातका लागि उपाध्यक्ष रोशन सिंहसहितको टोलीले पटकपटक निवेदन दिएका थिए । तर, उनीहरुले हालसम्म पाउन सकेका छैनन् ।
शिक्षामन्त्रीसमेत रहेका युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल मंगलबार नेपाल र ओमनबीचको खेलको अन्त्यतिर त्रिवि क्रिकेट मैदानमा पुगेका थिए । केही समय मैदानमा विताएका खेलकुद मन्त्री पोखरेलले क्यानलाई नवीकरणका लागि सम्झाउन सकेनन् ।
गत मंसिरमा भएको दोस्रो संस्करणको एनपीएलमा क्यानले ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्यो । यसअघिबाहेक पनि क्यानले वार्षिक करोडौंको कारोबार गर्छ । तर, नवीकरणको दायरामा पनि आएको छैन ।
सोही विषयमा उपाध्यक्ष रोशन सिंहसहितको टोलीले सोमबार राखेपमा निवेदन दिएको छ । उनीहरुले नवीकरणसँगै नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो र दोस्रो सिजनको वित्तिय तथा प्रशासनीक कागजातहरु र अडिट रिपोर्ट, राखेपको प्रत्यक्ष निगरानीमा स्वतन्त्र निष्पक्ष र उच्चस्तरीय छानविन समिति गठन र सुशासन, निगरानी तथा उत्तरदायित्व प्रणाली कार्यान्वयनको माग गरेका छन् ।
नेपाल क्रिकेट संघ भित्रको सुशासन कायम गर्नुपर्ने भन्दै वार्षिक लेखापरीक्षण, नवीरकण, कर चुक्तासहितका विषयमा क्यान नेतृत्व असफल भएको निवेदनमा उल्लेख छ । निवेदनमा उपाध्यक्ष सिंह, केन्द्रीय सदस्यहरु प्रदीप मजगैयाँ, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट र दुर्गाराज पाठकले हस्ताक्षर गरेका छन् । दिवाकर घले र विक्रम विष्टको हस्ताक्षर छैन ।
क्यानको अडिट रिपोर्ट आफूहरुले समेत नपाएको केन्द्रीय सदस्य दुर्गाराज पाठक बताउँछन् । ‘एनपीएल सम्बन्धी डकुमेन्टहरु र अडिट रिपोर्ट कुनै पनि सदस्यलाई दिइएको छैन । हामीले पाएका छैनौं,’ उनले भने, ‘उहाँहरुले पास गरेको भन्नु भयो । पास गरेको रिपोर्ट चाहियो नि त ।’
यसअघि पटकपटक क्यान नेतृत्वसँग औपचारिक रुपमा माग गरेका थिए । तर, नपाएपछि राखेप पुग्नुपरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4