२४ वैशाख, काठमाडौं । सूर्यमुखी(सन फ्लावर) खानेतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्रि गरेको आरोपमा एक उद्योगी पक्राउ परेका छन् । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठको कम्पनी ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित महादेव खोलामा छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठसँगै ९०५ कार्टुन तेल पनि बरामद गरेको छ ।
प्रहरीले उनको कम्पनीले उत्पादन गर्ने छहारी र ओमकार ब्रान्डको एक लिटर र आधा लिटरको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा तेलको प्याकेट तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र बरामद भएको तेलका कार्टुनसहित ठगी सम्बन्धी कसुरमा अनुसन्धान र आवश्यक कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4