+
+
Shares

बन्दीपुरको नयाँ स्वाद : गाउँ देखाउने ‘भिलेज सफारी’

बन्दीपुरको भिलेज सफारीले गाउँ र शहरबीच आत्मियता बढाउनुका साथै पर्यटकका लागि नयाँ अनुभव र गाउँका लागि अवसरको ढोका खोलेको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८३ वैशाख २५ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्दीपुरमा सन् २०२६ फेब्रुअरी १४ देखि सुरु भएको भिलेज सफारीले पर्यटकलाई गाउँको जीवनशैली र सांस्कृतिक अनुभव प्रदान गर्दैछ।
  • भिलेज सफारीले बन्दीपुर वरपरका गाउँमा पर्यटकको पहुँच बढाएर स्थानीय उत्पादन र होमस्टे व्यवसायलाई प्रवर्द्धन गरेको छ।
  • बन्दीपुर गाउँपालिकाले सडक मर्मत र पूर्वाधार सुधार गरी भिलेज सफारीका लागि गाउँ–गाउँमा सहज पहुँच सुनिश्चित गर्ने योजना बनाएको छ।

२५ वैशाख, तनहुँ । बिहानको हल्का कुहिरो हट्दै थियो । बन्दीपुरको टुँडिखेलमा पर्यटकहरूको सानो समूह जिप वरिपरि जम्मा हुँदै थियो । कसैको हातमा क्यामेरा थियो, कोही मोबाइलबाट फोटो खिच्न व्यस्त । तर उनीहरू जंगल सफारीमा जान लागेका थिएनन् । न त बाघ वा गैँडा हेर्न । उनीहरू निस्किँदै थिए– गाउँ हेर्न ।

तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा अहिले ‘भिलेज सफारी’ नयाँ आकर्षण बनेको छ । जिप चढेर गाउँगाउँ पुग्ने, स्थानीय जीवनशैली बुझ्ने, ताजा अर्गानिक खाना खाने, होमस्टेमा बस्ने र ग्रामीण संस्कृति अनुभव गर्ने, यो अवधारणाले बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपेको छ ।

सन् २०२६ फेब्रुअरी १४ बाट सुरु भएको यो भिलेज सफारी नेपालमै पहिलो भएको दाबी गर्छन् सञ्चालक बसन्त पौडेल । बन्दीपुर पर्यटन विकास समितिका पूर्वसचिवसमेत रहेका उनी अहिले ‘डुलन्ते दाइ’ भनेर चिनिन्छन् । ‘पर्यटकलाई गाउँ डुलाउने क्रममा म आफैं डुल्छु,’ उनी हाँस्दै भन्छन्, ‘त्यसैले मलाई धेरैले डुलन्ते दाइ भनेर चिन्छन् ।’

गाउँ हेर्ने नयाँ तरिका

नेपालमा जिप सफारी भन्नेबित्तिकै राष्ट्रिय निकुञ्ज वा सामुदायिक वन घुम्ने भनेर सम्झिने गरिन्छ । तर बन्दीपुरले त्यसको अर्थ नै फेरिदिएको छ । यहाँ जिप सफारी जंगल होइन, गाउँतिर जान्छ ।

बन्दीपुर बजारबाट छुट्ने जिप रामकोट, रुम्सी, धरमपानी, हिलेखर्क, कोरिखा, छिम्केश्वरी हुँदै छाब्दीबाराहीसम्म पुग्छ । बाटोमा मिनी ग्रेटवाल, तीनधारा, गुम्बा, शहीद स्मारक र केबलकार क्षेत्र पनि देखाइन्छ ।

यसरी डुल्ने क्रममा कतै खेतबारीमा काम गरिरहेका किसान देखिन्छन् भने कतै चौतारोमा गफिइरहेका स्थानीय । हरियाली वातावरणमा रम्दै ग्रामिण रहनसहन र जीवनशैली नियाल्दा आनन्दानुभूति हुन्छ । शहरिया जीवनशैलीमा अभ्यस्त पर्यटकका लागि यो अनुभव असाधारण लाग्छ ।

सुरुमा एउटा मात्र जिपबाट भिलेज सफारी सुरु गरेका पौडेलले पर्यटकहरुको रुचि बढेपछि अर्को एक जिप पनि थपेका छन् । एक जिपमा १२ जनासम्म अट्ने व्यवस्था छ ।

दुई घण्टाको सफारीका लागि न्यूनतम ५ सय रुपैयाँ लिइन्छ । बन्दीपुर बजार र रामकोटसम्म प्रतिव्यक्ति एक हजार रुपैयाँ लिएर घुमाउने गरिएको सञ्चालक पौडेलले जानकारी दिए । होमस्टेसम्म जाने सफारी, लोकल कुखुराको मासुसहितको खाना, सांस्कृतिक कार्यक्रम, रातको बसाइँ तथा बिहानको नास्तासहित ३ हजार २ सय रुपैयाँको प्याकेजको समेत व्यवस्था छ ।

पर्यटकको बसाइँ लम्बियो

एक समय बन्दीपुर आउने अधिकांश पर्यटक बजार घुम्थे, फोटो खिच्थे र एक रात बिताएर फर्किन्थे । व्यवसायी पौडेलका अनुसार धेरै पर्यटकलाई बन्दीपुर वरपरका गाउँ र सम्भावनाबारे जानकारी नै थिएन ।

तर अहिले उनीहरूको बसाइँ लम्बिन थालेको छ । ‘अहिले जिपले गाउँसम्म पुर्‍याउने भएकाले स्थानीय संस्कृति, भेषभूषा, खानपान र जीवनशैली नजिकबाट बुझ्ने अवसर मिलेको छ,’ पौडेल भन्छन्, ‘पर्यटकको बसाइँ पनि लम्बिएको छ ।’

भिलेज सफारीले ग्रामीण पर्यटनलाई मात्र होइन, स्थानीय उत्पादनलाई पनि बजारसँग जोडेको छ । गाउँका अर्गानिक तरकारी, लोकल कुखुरा, घरेलु परिकार र हस्तकलाका सामग्री अहिले बन्दीपुर बजारसम्म सजिलै पुग्न थालेका छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा भन्छन्, ‘पहिले पर्यटक बन्दीपुरको मुख्य बजारमै सीमित हुन्थे । भिलेज सफारी सुरु भएपछि अहिले पर्यटकहरु गाउँगाउँ पुगेका छन् । गाउँको उत्पादन चाखेका छन्, ग्रामीण जीवन अनुभूति गरेका छन् ।’

भिलेज सफारी गर्ने पर्यटकहरुको रुचिलाई देखेर गाउँपालिकाले सडक मर्मत र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । ‘निर्वाध रुपमा गाउँ–गाउँमा पुग्न र डुल्न सहज होस् भनेर बिग्रे–भत्केका सडकहरुको मर्मत, सुधार तथा पक्की बनाउने काममा गाउँपालिकाले ध्यान दिनेछ, ताकि निर्वाध रुपमा बाह्रैमास गाउँ घुम्न सकियोस्,’ अध्यक्ष थापा भन्छन् ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष तथा होटल व्यवसायी बैंश गुरूङका अनुसार भिलेज सफारी बन्दीपुरको नयाँ ‘टुरिज्म प्रडक्ट’ बनेको छ । ‘पहिले बन्दीपुर भनेको पुरानो बजार मात्रै थियो । अहिले पर्यटकलाई वास्तविक ग्रामीण भेगसम्म पुर्‍याउने माध्यम बनेको छ भिलेज सफारी,’ गुरुङ भन्छन् ।

होमस्टेमा रौनक

भिलेज सफारीको प्रत्यक्ष प्रभाव ग्रामीण होमस्टेहरूमा देखिन थालेको छ । बन्दीपुरबाट करिब ७ किलोमिटर टाढाको रामकोटमा पर्यटकहरुको चहलपहल बढेको छ ।

मगर समुदायको बाक्लो बसोबास रहेको रामकोटका १५ घरमा होमस्टे सञ्चालनमा छन् । साँझ स्थानीय सांस्कृतिक कार्यक्रम, ढिँडो–लोकल कुखुरा र गाउँको आतिथ्यले पर्यटक आकर्षित भइरहेका छन् ।

रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आले भन्छन्, ‘विदेशी पर्यटक पहिले हिँडेरै आउनुहुन्थ्यो । अहिले आन्तरिक पर्यटक पनि जिप सफारीबाट आउन थालेका छन् । हाम्रो गाउँ धेरैले चिन्ने–बुझ्ने अवसर पाएका छन् ।’

रामकोटको होमस्टेमा एक रातमा ३० जना जति पर्यटक बस्न सक्छन् । साँझको खानासहित बास बसेको र बिहानको ब्रेकफास्टसहित प्रतिव्यक्ति १२ सय रुपैयाँ लिने गरिन्छ ।

यसैगरी ब्यास नगरपालिका–१४ मा रहेको रुम्सी सामुदायिक होमस्टेसम्म पनि बन्दीपुरबाट पर्यटकहरू जिप सफारी गर्दै पुग्ने गरेका छन् । रुम्सी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाका अनुसार बन्दीपुरबाट १५ किलोमिटरको दूरी तय गरेपछि पुगिने रुम्सीका ८० घरमा होमस्टे सञ्चालनमा छन् । बन्दीपुरबाट सुरु भएको भिलेज सफारीले रुम्सी होमस्टेमा पर्यटकहरू बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

बेलायतबाट श्रीमतीसहित बन्दीपुर घुम्न आएका पर्यटक रामाले गाउँले जीवन र स्थानीयको आतिथ्यले प्रभावित भएको बताए । रामकोटको सडक, गाउँको शान्त वातावरण र स्थानीय स्वागतलाई उनले ‘यादगार अनुभव’ भने ।

बिहानै रामकोटमा भेटिएका उनले साँझको सांस्कृतिक कार्यक्रम हेर्न र स्थानीय अर्गानिक खाना खान पुन: गाउँ फर्किने बताए ।

चितवनको भरतपुर–१० का व्यवसायी विज्ञान पौडेलले भिलेज सफारी गर्दै पहिलोपटक पर्यटकीय गाउँ रामकोट पुग्दा निकै खुसी लागेको बताए । ‘बन्दीपुर त धेरै पटक आएकै हो, तर त्यसभन्दा पर कतै जान सकिएको थिएन, यसपटक बन्दीपुर बजारमा नबस्ने सिधै रामकोट बस्ने भनेर सफारी गर्दै आउँदा निकै फरकपनको अनुभूति भयो,’ पौडेलले सुनाए ।

उनले थपे, ‘शहरमा नै जन्मिएर हुर्किएको नयाँ पुस्तालाई ग्रामिण जीवनशैली, रहनसहन र भेषभूषा तथा सम्भावनाहरू देखाउनु अति महत्वपूर्ण छ ।’

बन्दीपुरको भिलेज सफारीले गाउँ र शहरबीच आत्मियता त बढाएको छ नै पर्यटकका लागि नयाँ अनुभव र गाउँका लागि अवसरको ढोका समेत खोलेको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?