+

साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

२०८३ वैशाख  २६ गते ७:१५ २०८३ वैशाख २६ गते ७:१५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन हुनु र अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाबाट समेत निलम्बनको खतरा रहेको अवस्थामा नेपाली महिला टोली भने साफ जित्ने लक्ष्यका साथ तयारीमा जुटेको छ ।

साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको महिला फुटबल टोली भारतको गोवामा मे २५ देखि जुन ५ सम्म हुने आठौं साफ महिला च्याम्पियनसिपको लागि तयारीमा छ।
  • प्रशिक्षक नवीन न्यौपानेले साफ च्याम्पियनसिप नेपालका लागि विश्वकप जस्तै भएको र उपाधि जित्ने लक्ष्य रहेको बताए।
  • कप्तान सावित्रा भण्डारी र सविता रानाको अनुपस्थिति भए पनि नयाँ खेलाडीहरुले अवसरको सदुपयोग गर्ने प्रशिक्षक र खेलाडीहरूले बताएका छन्।

२५ वैशाख, काठमाडौं । भारतको गोवाको आयोजना हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टोली केही दिनदेखि प्रशिक्षण गरिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन हुनु र अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाबाट समेत निलम्बनको खतरा रहेको अवस्थामा नेपाली महिला टोली भने साफ जित्ने लक्ष्यका साथ तयारीमा जुटेको हो ।

यसअघि खेलेको सात मध्ये ६ पटक फाइनल पुगेपनि सधैं उपविजेतामै रोकिँदै आएको नेपालले सधैं उपाधि लक्ष्य राखेपनि त्यो चाहना भने पूरा हुन सकेको छैन ।

यस पटक साफ महिला च्याम्पियनसिप मे २५ देखि जुन ५ (जेठ ११-२२) सम्म भारतको गोवास्थित मरगावमा रहेको जवाहरलाल नेहरु स्टेडियममा हुनेछ ।

जहाँ दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्ने तय छ र त्यही अनुसार खेलतालिका पनि सार्वजनिक भइसकेको छ ।

तर नेपाली फुटबलको आन्तरिक विवादले गर्दा मैदानमा खेल्ने खेलाडीका लागि भने मानसिक रुपमा असर गर्न सक्छ ।

महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेले संस्था र सरकारबीचको आन्तरिक लडाइँको असर मैदानमा देखिन नहुने बताए । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठूलो सपना बोकेर मैदानमा उत्रने भएकाले उनीहरूका लागि शुद्ध र खेलमैत्री वातावरण निर्माण गरिदिन उनले सरकार र संवद्ध निकायसँग आग्रह गरे ।

नेपाली महिला टोलीले अहिलेसम्म दर्जन बढी फाइनल खेलेपनि उपाधि जित्न नसकेकोले सधैं उपाधिको भोको रहँदै आएको छ ।

यस्तो अवस्थामा साफ महिला च्याम्पियनसिप नेपालको लागि विश्वकप जस्तै भएको प्रशिक्षक न्यौपानेको भनाइ छ । उनले नेपाली टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन् ।

‘साफ च्याम्पियनसिप नेपालका लागि निकै प्रतिष्ठित प्रतियोगिता हो । मेरा लागि त यो विश्वकप जस्तै हो’ न्यौपानेले भने, ‘मैत्रीपूर्ण खेलमा हामी प्रयोग र एक्सपोजरमा जोड दिन्छौं, तर साफमा हामी उत्कृष्ट टोलीका साथ मैदान उत्रन्छौं । यहाँ हाम्रो एकमात्र उद्देश्य सुखद् नतिजा निकाल्नु हुन्छ ।’

न्यौपानेले आफु खेलाडी हुँदा पनि साफ च्याम्पियनसिप जित्न नसकेकोले अहिले प्रशिक्षकको रुपमा भएपनि साफ जित्ने लक्ष्य रहेको बताए । यस्ते खेलाडी र प्रशिक्षक हुँदा जिम्मेवारी फरक हुने उनले बताए ।

‘खेलाडी र प्रशिक्षकको भूमिकामा निकै भिन्नता हुँदो रहेछ । एउटा प्रशिक्षकको रूपमा हार र जित दुवैको जिम्मेवारी आफूले नै लिनुपर्छ’ उनले भने ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको सन्दर्भमा प्रशिक्षक न्यौपानेले आफ्नो मुख्य जिम्मेवारी र लक्ष्य नै उक्त ट्रफी नेपाल भित्र्याउनु रहेको स्पष्ट पारे । अहिले टोली सोही लक्ष्य प्राप्तिका लागि कडा प्रशिक्षणमा व्यस्त रहेको उनले बताए ।

यस्तै नेपाली टिमको सिनियर सदस्य रहेकी अनिता बस्नेत, हिरा भुजेल र गीता रानाले पनि अहिले टिममा सिनियर र जुनियर खेलाडीको मिश्रण रहेकोले नेपालको लक्ष्य साफ जित्नु ने रहेको बताएका छन् ।

‘तयारी राम्रो भइरहेको छ । सिनियर र जुनियरको मिश्रण छ । अपेक्षा नतिजा नै हो च्याम्पियन बन्ने नै हो’ एन्फासँगको कुराकानीमा अनिताले भनेकी छिन् । यस्तै गीता र हिराले पनि नेपालले साफको उपाधि जित्न सक्ने बताइन् । यस पटक महिला टोलीले निरन्तर गोल्डकपहरु खेलेकोले पनि त्यसले फाइदा हुने गीता र हिराले बताए ।

प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेल र मुख्य प्रतियोगिताको फरकलाई स्पष्ट पार्दै मैत्रीपूर्ण खेलहरू नयाँ खेलाडीको परीक्षण र रणनीति निर्माणका लागि प्रयोग गरिने भएपनि साफ च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा नतिजा नै मुख्य प्राथमिकता हुने बताए ।

साम्बा र सबिताको अभाव

नेपालको कप्तान तथा मुख्य सदस्यको रुपमा रहेकी गोलमेसिन सावित्रा भण्डारी साम्बा हाल चोटका कारण मैदानबाहिर छिन् । अष्ट्रेलियन लिग खेल्ने क्रममा चोट लागेपछि साम्बा न्युजिल्यान्डमा शल्यक्रिया गराएर हाल रिह्याबका लागि कतारमा छिन् ।

यस्ते सविताको पनि घुँडाको शल्यक्रियापछि मैदानबाहिर छिन् । दुवै खेलाडी नेपाली टोलीको महत्वपूर्ण सदस्य भएकोले नेपालललाई अभाव हुन सक्नेछ ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले र खेलाडीहरुले पनि यो कुरा स्वीकारेका छन् । टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता राना जस्ता महत्वपूर्ण खेलाडीको अनुपस्थिति नेपालको लागि चुनौती हुन सक्ने न्यौपानेले बताए । न्यौपानेले साम्बा र सवितालाई टोलीको ‘स्पाइनल कर्ड’ को संज्ञा दिँदै अन्य खेलाडीहरूका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर भएको बताए ।

‘साम्बा र सविता मेहेनतकै कारण यो उचाइमा पुगेका हुन् । नयाँ खेलाडीहरूले पनि उनीहरूलाई उदाहरणका रूपमा लिएर यो अवसरलाई सदुपयोग गर्नुपर्छ’ न्यौपानेले भनेका छन् ।

यस्तै अनिता बस्नेतले पनि उनीहरु मिस हुने बताइन् । ‘सावित्रा र सबिता टिमको महत्वपूर्ण खेलाडी हुन् मिस त भइहाल्छ । त्यसका लागि अरु नयाँ बहिनीहरू- रेखा रश्मीलगायत छन् । नयाँ आइरहेका छन् । सबैले मेहेनत गरिरहेका छन् । अभाव त भइहाल्छ तर फुलफिल गर्ने खेलाडीहरु पनि आइरहेका छन्’ अनिताले भनिन् ।

यस्तै गीता र हिराले पनि साम्बा र सविता नहुँदा उनीहरुको स्थानमा नयाँ खेलाडीहरुले अवसर पाउने बताए ।

यस्तै जुनियर खेलाडी जेनिफर रानाले पनि सिनियर खेलाडीहरु नहुँदा जुनियरको लागि अवसर हुने बताइन् । ‘साम्बा र सविता दिदी नहुँदा टिमलाई घाटा त भइहाल्छ । त्यसमा हामी जस्तो युवा खेलाडीहरुले अवसरको सदुपयोग गर्नुपर्छ’ जेनिफरले भनिन् ।

उनले आर्मीबाट खेल्दा पनि आफ्नो भूमिका गोल हान्ने नै रहेको र राष्ट्रिय टिममा पनि अवसर पाए त्यही हुने बताइन् । उनले ट्रेनिङमा त्यही अनुसार केन्द्रित भएको बताइन् ।

असली परिक्षा सेमिफाइनलमा

यस पटक महिला साफमा ६ टोली मात्र सहभागी भएकोले दुवे समूहमा ३-३ टिम छन् । नेपालको समूहमा तुलानात्मक रुपमा कमजोर टोलीहरु भुटान र श्रीलंका छन्  । त्यसैले नेपाललाई समूह चरण केही सहज हुने अपेक्षा छ ।

तर सेमिफाइनलमा भने अर्को समूहबाट बलियो टोली सँग नेपालले खेल्नुपर्ने हुन्छ । समूह बी मा साविक विजेता बंगलादेश, पाँच पटकको विजेता भारत र माल्दिभ्स भएकोले नेपालले भारत र बंगलादेशमध्ये एकसँग खेल्नुपर्ने प्रवल सम्भावना छ ।

त्यसैले नेपालले प्रशिक्षणमा पनि त्यही अनुसार केन्द्रित भएको खेलाडी जेनिफर रानाले बताइन् । ‘नविन गुरुले टेक्निकल्ली कसरी अवेर हुने भनेर भनिरहनुभएको छ । बंगलादेश र भारतले हाई प्रेसर दिएर खेल्ने टिम हो । त्यसमा कसरी ओभरकम गर्ने भन्नेमा केन्द्रित भइरहेका छौं’ उनले भनिन् ।

दक्षिण एसियामा नेपाल सधैं उपाधि दाबेदार भएपनि अहिलेसम्म उपाधि जित्न नसकेको तथ्यले पनि नेपाललाई सधैं झस्काइरहन्छ । यसअघि लगातार तीन संस्करण घरेलु मैदानमा साफ खेल्दा पनि नेपाल फाइनल पुगेर पराजित भएको थियो । जसमा एक पटक भारतसँग र पछिल्लो दुई पटक काठमाडौंमा हुँदा बंगलादेशसँग पराजित भएको थियो । यस पटक झन् नेपालले घर बाहिर खेल्दैछ ।

नेपालभित्र फुटबलको अन्योलपूर्ण स्थितिमा महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्न पाउनु ने सबैभन्दा ठुलो कुरा हुनेछ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने चुनौती पनि टिमसामु हुनेछ ।

समूह ए मा रहेको नेपालले मे २५ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने समूहको दोस्रो तथा अन्तिम खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ ।

दुवै समूहको खेलपछि शीर्ष दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

तस्बीर: एन्फा

नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय