२६ वैशाख, काठमाडौं । क्रुज जहाजबाट सुरु भएको हान्ताभाइरसको संक्रमण फैलिने क्रममा शुक्रबार स्पेन र दक्षिण एटलान्टिकको दुर्गम टापु ट्रिस्टन डा कुन्हामा थप दुई जना संदिग्ध बिरामी फेला परेका छन् ।
हजारौं माइलको दूरीमा रहेका फरक भौगोलिक क्षेत्रमा संक्रमणको आशंका गरिएपछि यसले चिन्ता बढाएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले सर्वसाधारणका लागि यसको जोखिम अझै पनि न्यून रहेको स्पष्ट पारेको छ। हालसम्म यस प्रकोपसँग सम्बन्धित तीन जनाको मृत्यु भइसकेको छ ।
स्पेनको एलिकान्ते प्रान्तमा एक ३२ वर्षीया महिलामा हन्टाभाइरसका लक्षणहरू देखिएपछि स्वास्थ्य अधिकारीहरूले उनको विशेष परीक्षण सुरु गरेका छन् । ती महिला ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा संक्रमित भएकी एक डच महिलासँगै विमानमा यात्रा गरेको पाइएको छ ।
स्वास्थ्य राज्यमन्त्री जाभियर पाडिलाका अनुसार डच महिला अस्वस्थ भएर विमान उड्नुअघि नै जोहानेसबर्गमा ओर्लिएकी थिइन्, जसको पछि उपचारका क्रममा मृत्यु भयो ।
त्यसैगरी, बेलायती स्वास्थ्य सुरक्षा निकायले ट्रिस्टन डा कुन्हा टापुमा एक बेलायती पुरुषमा पनि संक्रमणको आशंका गरेको छ। ती पुरुष अप्रिलको मध्यतिर सोही डच जहाजमा यात्रा गरिरहेका यात्री भएको खुलेको छ। विश्व स्वास्थ्य संगठनकी प्राविधिक अधिकृत एनेस लेग्यान्डले भाइरसको प्रकृति र संक्रमणको दरलाई हेर्दा यो सजिलै मानिसबाट मानिसमा नफैलने भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
गत मार्चमा अर्जेन्टिनाबाट करिब १५० यात्री बोकेर हिँडेको यो क्रुज जहाज अन्टार्कटिका हुँदै अफ्रिकी जलक्षेत्रतर्फ लागेको थियो। अधिकारीहरूले पुष्टि गरेअनुसार यो संक्रमण हन्टाभाइरसको ‘एन्डीज स्ट्रेन’ हो। यो मानिसबाट मानिसमा सर्न सक्ने एक मात्र प्रजाति मानिन्छ ।
यो भाइरस संक्रमित व्यक्तिसँग धेरै लामो समयसम्म र अत्यन्तै नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइ छ। अहिले जहाजलाई केप भर्ड नजिकैको समुद्री क्षेत्रमा निगरानीमा राखिएको छ ।
प्रतिक्रिया 4