२६ वैशाख, तेह्रथुम । तेह्रथुम जिल्लाको गाउँदेखि सदरमुकाम म्याङलुङ बजारसम्म बिहानको घामसँगै तानको ताल गुञ्जिन थाल्छ । कतै धागो मिलाइँदै हुन्छ, कतै रङ्गीचङ्गी बुट्टा बुन्दै महिलाहरू व्यस्त देखिन्छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ढाका बुन्ने परम्परागत सीप अहिले तेह्रथुमका धेरै परिवारको जीवनसँग प्रत्यक्ष जोडिएको छ । विशेषगरी महिलाहरूका लागि ढाका उद्योग केवल संस्कृति जोगाउने माध्यम मात्र नभई आर्थिक आत्मनिर्भरताको बलियो आधार बनेको छ ।
गाउँघरका घर-घरमा सुनिने तानको आवाज, रंगीन धागोबाट तयार हुने कलात्मक बुट्टा र महिलाहरूको अथक मेहनतले तेह्रथुमे ढाकालाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सफल भएको छ ।
एक समय विशेष अवसर र सांस्कृतिक कार्यक्रममा सीमित रहेको ढाका कपडा अहिले आधुनिकता सँगै मौलिक पहिरनको हिस्सा बन्दै गएको छ । ढाका टोपी, दौरा-सुरुवाल र चोलोमा मात्र सीमित नभई अहिले कोट, ब्याग, स्कार्फ, पर्स, कुशन कभर, सजावटी सामाग्री तथा आधुनिक पहिरनमा समेत यसको प्रयोग बढेको छ । परम्परागत बुट्टा र आधुनिक डिजाइनको संयोजनले नयाँ पुस्तामाझ पनि ढाकाप्रतिको आकर्षण बढाएको छ ।
तेह्रथुम उत्पादन भएको ‘तेह्रथुमे ढाका’ अहिले देश-विदेशमा नेपाली मौलिकताको प्रतीकका रूपमा परिचित बन्दै गएको छ । ढाका कपडाको संरक्षण, व्यवसायीकरण र अन्तर्राष्ट्रिय प्रचार-प्रसार गर्ने उद्देश्यले २०७९ असार २० गते तेह्रथुमलाई “ढाका राजधानी” घोषणा गरिएको थियो । त्यसबेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्थानीय तहहरूले ढाका उद्योगलाई व्यवस्थित व्यवसायका रूपमा विकास गर्ने, सीप संरक्षण गर्ने तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीय तहहरूले महिलाहरूलाई ढाका बुनाई, डिजाइन विकास तथा उद्यमशीलता सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् । यसले गाउँमै बसेर स्वरोजगार बन्ने वातावरण सिर्जना गरेको छ । अहिले धेरै महिलाहरू आफ्नै घरमा ढाका बुनेर नियमित आम्दानी गर्न सफल भएका छन् ।
ढाका उत्पादक समाजका अध्यक्ष भिम लुवागुनका अनुसार तेह्रथुमबाट वार्षिक करिब पाँच करोड रुपैयाँ बराबरका ढाका सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । उनका अनुसार यस उद्योगले सयौँ स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै जिल्लाको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
‘तेह्रथुमको ढाका अहिले देशका विभिन्न शहरसँगै विदेशसम्म पुगिरहेको छ’, उनले भने, ‘विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली समुदायले तेह्रथुमे ढाका अत्यन्त रुचाउने गरेका छन् ।’ ढाका कपडा केवल व्यापारिक वस्तु मात्र नभई सांस्कृतिक पहिचानको प्रतीक पनि हो । विशेषगरी लिम्बू समुदायको परम्परा, संस्कार र जीवनशैलीसँग यसको गहिरो सम्बन्ध रहेको स्थानीयहरू बताउँछन् । विवाह, चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा सम्मानका अवसरमा ढाका प्रयोग गर्ने परम्परा अझै कायम छ ।
स्थानीय व्यवसायी अनिता लिम्बुका अनुसार पछिल्लो समय युवापुस्ताले पनि ढाकालाई मौलिक पहिरनको रूपमा अपनाउन थालेका छन् । ‘पहिला ढाका विशेष अवसरमा मात्र प्रयोग हुन्थ्यो’, उनी भन्छिन, ‘अहिले दैनिक प्रयोगदेखि आधुनिक डिजाइनका पहिरनसम्म यसको प्रयोग बढेको छ । युवाहरूले पनि ढाकालाई गर्वका साथ प्रयोग गर्न थालेका छन् ।’
त्यस्तै व्यवसायी उज्वलता सुब्बाका अनुसार ढाकाले तेह्रथुमको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । ‘विदेश जाने नेपालीहरूले कोसेलीका रूपमा ढाका लैजाने गरेका छन’, उनले भनिन्, ‘यसले नेपाली कला, संस्कृति र मौलिकताको प्रचार गरिरहेको छ ।’ पछिल्लो समय तेह्रथुम घुम्न आउने पर्यटकहरू पनि यहाँको ढाका उद्योगप्रति आकर्षित बन्न थालेका छन् । स्थानीय बजार, प्रदर्शनी तथा मेलाहरूमा पर्यटकहरूको चहलपहल बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।
चलचित्र निर्देशक नवीन सुब्बा ले आफू तेह्रथुम आउँदा हरेक पटक ढाका कोसेलीका रूपमा लिएर जाने गरेको बताए । ‘हातले बुनेको तेह्रथुमे ढाकामा मौलिकता छ’, उनले भने, ‘यो केवल कपडा होइन, नेपाली पहिचान बोकेको कला हो ।’ ढाका उद्योगको विस्तारसँगै यसको व्यापारिक सम्भावना पनि बढिरहेको छ । अहिले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट समेत ढाका सामग्री बिक्री हुन थालेका छन् । काठमाडौं, धरान, विराटनगर लगायतका शहरहरूमा तेह्रथुमे ढाकाको माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन् ।
विदेशमा रहेका नेपालीहरूले समेत अनलाइनमार्फत ढाका सामग्री मगाउने गरेका छन् । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि तेह्रथुमे ढाकाले केही चुनौतीहरू झेलिरहेको छ । विशेषगरी एकीकृत ब्रान्डिङको अभाव अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ । तेह्रथुममा उत्पादन नभएका कपडासमेत ‘तेह्रथुमे ढाका’ नाममा बिक्री हुन थालेपछि वास्तविक उत्पादनको पहिचान संकटमा पर्न थालेको छ । यसले स्थानीय व्यवसायीहरुको आम्दानी र मौलिक उत्पादनको विश्वसनीयतामा समेत असर पारेको सरोकारवालाहरू बताउँछन् ।
महिला उद्यमी महासंघ सम्बद्ध उपाध्यक्ष शान्ति लिम्बू भन्छि, ‘ब्रान्डिङ नहुँदा स्थानीय उत्पादनले उचित मूल्य पाउन सकेको छैन । हामीले लामो समयदेखि पहल गरिरहेका छौँ, तर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।’ उनका अनुसार समयमै एकीकृत ब्रान्डिङ गर्न नसकिए तेह्रथुमे ढाकाको मौलिक पहिचान कमजोर बन्न सक्ने खतरा छ ।
म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाङ्फे ले ढाका उद्योगको ब्रान्डिङका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
उनका अनुसार उद्योग मन्त्रालयसँग समन्वय गरी ‘Made in Terhathum’ नामबाट ढाका उत्पादनलाई एकीकृत ब्रान्डका रूपमा विकास गर्ने तयारी भइरहेको छ । उनले भने, ‘ब्रान्डिङ भएपछि तेह्रथुममा उत्पादन भएको मौलिक ढाका छुट्टै पहिचानसहित बजारमा जान्छ । यसले कारीगरले उचित मूल्य पाउने र अन्तर्राष्ट्रिय बजारमा समेत विश्वास बढ्ने अपेक्षा गरेका छौँ ।’
तेह्रथुमे ढाका अहिले केवल कपडा उद्योगको कथा होइन, यो परम्परा, संस्कृति, सीप, महिला सशक्तीकरण र स्थानीय समृद्धिको साझा यात्रा बनेको छ । गाउँघरका तानमा बुनेका ती रङ्गीन धागाहरूले केवल कपडा मात्र होइन, तेह्रथुमको पहिचान, मेहनत र सपनालाई पनि बुन्दै लगेका छन् । यदि समयमै प्रभावकारी ब्रान्डिङ, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने तेह्रथुमे ढाकाको आफ्नै पहिचान बन्नेछ ।
प्रतिक्रिया 4