२५ वैशाख, डोटी । जिल्लाको समग्र शान्ति सुरक्षा र सुशासनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने निकाय जिल्ला प्रशासन कार्यालय, डोटी आफै कर्मचारी अभाव झेल्दै आएको छ ।
जिल्लामा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख जिल्ला अधिकारी र द्वितीय श्रेणीको सहायक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । तर विगत लामो समयदेखि डोटीले दरबन्दी अनुसारको प्रमुख जिल्ला अधिकारी पाएको छैन । गृह मन्त्रालयले उपसचिवलाई जिम्मेवारी दिँदै आएको छ ।
जिल्लाले सहायक प्रमुख जिल्ला अधिकारीको अनुहार नदेखेको पनि धेरै समय भयो । गृह मन्त्रालयले एक जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको थियो तर उनले आजसम्म नक्सामा मात्रै डोटी देखेका छन् ।
गत मङ्सिर १ गते गृह मन्त्रालयबाटै डोटीको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा भएका रामबहादुर केसी सोही दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजमा खटिए । उनको दरबन्दी डोटी आयो, तर उनी आएनन् । मन्त्रालयले उतैबाट कामकाजमा खटायो । उनको तलब भत्ता डोटीबाटै निकासा भइरहेको छ ।
प्राधिकरणले हाजिरी प्रमाणित गरेर पठाएपछि तलब उनको खातामा जाने गरेको जिल्ला प्रशासन कार्यालय डोटीमा लेखापाल सतिश गुरुङले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी किन आउँदैनन् त ! प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल भन्छिन् ‘यस विषयमा त मैले पनि बुझेको छैन, बुझ्नै पर्छ ।’
प्रमुख जिल्ला अधिकारी र आफू समान तहका हुँदा आफू आउन नमिल्ने बताउँछन् सहायक प्रमुख जिल्ला अधिकारी केसी । ‘डोटीमा प्रमुख जिल्ला अधिकारी सहसचिव हुने व्यवस्था छ, हाल कार्यरत व्यक्ति उपसचिव हुनुहुन्छ’, केसी भन्छन्, ‘समान तहका व्यक्ति प्रमुख जिल्ला अधिकारी भएको ठाउँमा सोही तहको व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी भएर बस्न मिलेन नि !’
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी समान तहका भएकै कारण आफूलाई सोही दिन कामकाजका लागि प्राधिकरणमा खटाइएको केसीको भनाइ छ । ‘सरकारी कर्मचारी भएपछि जहाँ भए पनि कामै गर्नु त हो । मैले प्राधिकरणमा बसेर पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको छु’, उनले भने ।
देशभरिका ७७ जिल्लामध्ये ६१ जिल्लामा सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीको दरबन्दी भए पनि सरकारले केही जिल्लाहरूमा उपसचिवलाई नै जिम्मेवारी दिएर पठाएको उनी बताउँछन् ।
यस्तै दुई जना शाखा अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा हाल एक जना मात्रै शाखा अधिकृत रहेका छन् । संगठनात्मक संरचना अनुसार प्रमुख जिल्ला अधिकारीको निजी सचिवालयमा एक जना सहित विभिन्न शाखाहरूमा गरी सात जना नासुको दरबन्दी छ । तर हाल पाँच जना मात्रै कार्यरत रहेको कार्यालयले जनाएको छ । यस्तै, दुई जना कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा एक जना मात्रै कार्यरत छन् ।
खरिदार सरहका चार जना कर्मचारी हुनु पर्नेमा हाल तीन जना मात्रै कार्यरत रहेका छन् । कार्यालय सहयोगी ६ जना हुनु पर्नेमा पाँच जना कार्यरत छन् भने हल्का सवारी चालक दुई जना हुनु पर्नेमा एक जना मात्रै छन् ।
डोटीमा यो समस्या अहिलेको मात्रै होइन, लामो समयदेखि जिल्ला प्रशासन कार्यालयले कर्मचारीको अभाव झेल्दै आएको छ ।
वैशाख २ गते जिल्लाको दक्षिणी क्षेत्र बीपीनगरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि कर्मचारीको झन् अभाव भएको छ । भएका कर्मचारीहरू पनि बाँड्नुपर्ने अवस्था आएपछि सेवा प्रवाहमा थप समस्या भएको हो । प्रशासन कार्यालयमा दरबन्दी अनुसारका अधिकृत नभए पनि इलाका प्रशासन कार्यालयमा राजपत्र अनंकित कर्मचारीलाई पठाइएको छ ।
प्रतिक्रिया 4