२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी आउँदै गर्दा उनी आउने चर्चाभन्दा बढी सरकार फेरबदलको चर्चा चलेको बताएका छन् । शनिबार धनगढीमा सुरु भएको कांग्रेसको प्रदेश स्तरीय भेलाको उद्घाटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सभापति थापाअघि नै सो कुरा बताएका हुन् ।
‘सभापति ज्यु, तपाईँ आउने चर्चासँगै तपाईँ आउने कार्यक्रमको चर्चाभन्दा बढी सरकार परिवर्तन र सरकार फेरबदलका कुराहरू सुदूरपश्चिममा चर्चाको विषय बन्यो,’ मुख्यमन्त्री शाहले भने, ‘म भन्न चाहन्छु ती मित्रहरूलाई तपाईँहरूसँग यो मुख्यमन्त्री कमल शाह ड्यासमा उपस्थित हुँदैगर्दा म शारिरीक रूपले पनि, मानसिक रूपले पनि, वैचारिक रूपले पनि प्रतिस्पर्धा गर्नसक्ने हिम्मत छ । मसँग त्यो साहस छ । त्यसैले गैरजिम्मेवार र गैर राजनीतिक संस्कार नदेखाउन म सबैलाई आग्रह गर्न चाहन्छु ।’
त्यस्तो हल्ला गर्नेहरूले सभापति थापालाई बदनाम गर्न खोजेको बताएका छन् । उनले अगाडि भने, ‘म भन्न चाहन्छु– जसरी तपाईँहरूले बजारमा, मिडियाहरूमा कुरा ल्याउनुभएको छ । सभापतिलाई बदनाम गर्न पनि समानुपातिक सांसदलाई फिर्ता ल्याएर भएपनि सभापतिले सरकार परिवर्तन गर्छ भन्दै हुनुहुन्छ ।’
तर त्यो कुरामा आफूलाई विश्वास नभएको उनले बताए । ‘मलाई विश्वास छैन, म नेपाली कांग्रेसको सिपाही हुँ, म नेपाली कांग्रेसको मूल्य र मान्यतामा हिँड्ने व्यक्ति हुँ । त्यसकारण यस्ता भ्रमित कुराहरू, कांग्रेसलाई विवादमा ल्याउने कुराहरू, कांग्रेसलाई कमजोर बनाउने कुराहरू, पार्टी सभापतिलाई कमजोर बनाउने अभिव्यक्ति कसैले नदिनुहोला,’ मुख्यमन्त्री शाहले भने ।
आफू गगन थापालाई स्वागत गर्न एयरपोर्ट गएको र उनीसँगै मञ्चमा उपस्थित भएको पद जोगाउन नभएको उनले बताए ।
‘म तपाईँहरूलाई भन्न चाहन्छु–मुख्यमन्त्रीको पद गौण हो, हाम्रो लोकतान्त्रिक विधि र प्रक्रिया छ, हाम्रा नेताहरू छन्, नेतृत्व कसलाई दिने ? गठबन्धन कोसँग गर्ने ? नेतृत्वको कुरा हो,’ उनले भने ।
सिंगो कांग्रेस एक होस् भन्ने मनशायका साथ आफू त्यो मञ्चमा उभिएको उनले बताए । उनले भने, ‘म यहाँ उभिँदै गर्दा गगन थापा सिंगो कांग्रेसको सभापति बनोस् भन्ने भावनाका साथ उभिएको छु । कांग्रेसको शक्ति क्षीण भएका बेला त्यो शक्ति पुनर्जागरित कसरी गर्न सकिन्छ भनेर उभिएको छु ।’
प्रतिक्रिया 4