२७ वैशाख, धनकुटा । कुनै समय उच्च शिक्षाको लागि तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र तथा हालको कोशी प्रदेशका विद्यार्थीले भरिभराउ हुने धनकुटा बहुमुखी क्याम्पस अहिले विद्यार्थीको अभाव झेलिरहेको छ ।
गाउँ गाउँमा उच्च शिक्षाका लागि क्याम्पसहरु सञ्चालनमा आएसँगै तथा धनकुटा बहुमुखी क्याम्पसले विद्यार्थी आकर्षित गर्न नसक्दा न्युन मात्रामा विद्यार्थी भर्ना हुन थालेका हुन् ।
यसै क्रममा क्याम्पसले आधुनिक र समावेशी शिक्षा प्रवर्द्धन गर्ने लक्ष्यसहित स्थापना गरिएका संरचना नै प्रयोगविहीन बन्न थालेका छन् ।
लाखौं रुपैयाँ खर्चेर स्थापना गरिएका विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रभावकारी रुपमा सञ्चालन नहुँदा उद्देश्यअनुसार उपयोग हुन सकेका छैनन् ।
करिब एक दशकअघि स्थापना गरिएको ई-लाइब्रेरीले क्याम्पसमा अध्ययन–अध्यापनलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको थियो । ई-बुक, जर्नल, रिसर्च पेपर तथा अनलाइन डाटाबेसमार्फत विद्यार्थीलाई गुणस्तरीय स्रोत उपलब्ध गराउने सोचसहित सुरु गरिएको पुस्तकालयमा २० वटा कम्प्युटर, इन्टरनेट सेवा र अन्य आवश्यक विद्युतीय उपकरण जडान गरिएको छ । तर, नियमित सञ्चालन नहुँदा ती स्रोतहरू प्रयोगविहीन बनेका छन् ।
प्राविधिक जनशक्तिको अभावले प्रयोगविहीन बनेको क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. श्यामप्रसाद वाग्ले बताउँछन् । ‘अधिकृतस्तरको लाइब्रेरियन नहुँदा उपलब्ध पुरानै जनशक्तिबाट सामान्य काम मात्र चलाइएको छ ।’, उनले भने ‘जसले ई–लाइब्रेरीको प्रभावकारी उपयोग सम्भव हुन सकेको छैन ।’
त्यस्तै, फरक क्षमता भएका विद्यार्थीलाई समान शैक्षिक अवसर दिने उद्देश्यले चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र पनि सञ्चालनविहीन हुन पुगेको छ । दाताको सहयोगमा स्थापना गरिएको केन्द्रमा कम्प्युटर, डिजिटल डिस्प्ले, सहायक उपकरण तथा अपाङ्गमैत्री पूर्वाधार तयार पारिएको भए पनि प्रयोगमा आउन सकेको छैन । अपाङ्गता विद्यार्थी सहायता केन्द्रमा अहिलेसम्म व्हिलचेयर पुग्ने पूर्वाधार निर्माण नहुँदा फरक क्षमता भएका विद्यार्थीको सहज पहुँचसमेत पुग्न सकेको छैन् ।

उपकरण आए पनि सञ्चालनका लागि आवश्यक बजेट अभावले केन्द्र सञ्चालन गर्न नसकिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेत स्वीकार गर्छन् । उनका अनुसार प्रयोग नहुँदा केही उपकरण अन्य शाखामा सारिएको छ भने केही प्राध्यापकले व्यक्तिगत रुपमा प्रयोग गरिरहेका छन् ।
यता विद्यार्थीहरु भने संरचना निर्माण पनि पर्याप्त नभएको बताउँछन् । पर्याप्त संरचना निर्माण र प्रविधिको उपयोगबारे विद्यार्थीमा संस्कार विकास गर्न क्याम्पस प्रशासनले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने र पहुँच विस्तारमा ध्यान दिनुपर्ने क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति युवा तिम्सिनाले बताए ।
ई-लाइब्रेरी र अपाङ्गता सहायता केन्द्र प्रयोगविहीन बनेको विषयमा व्यवस्थापन समितिका सदस्यहरु भने जानकारी नभएको बताउने गरेका छन् । उनीहरु नै क्याम्पसप्रति असन्तुष्ट व्यक्त गर्छन् । क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलनकुमार खड्गीले आफूलाई बैठकमा नबोलाइएले धेरै कुराको जानकारी नै नभएको बताए ।
उनले क्याम्पस प्रशासनको व्यवस्थापन पक्ष कमजोर देखिएको बताउँदै के गर्ने कसो गर्ने भन्ने सल्लाह नै नगरेको बताए । यस्तै क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा कोशी प्रदेशसभा सदस्य निरन राईले क्याम्पसको शैक्षिक र व्यवस्थापकीय सुधारका लागि आवश्यक अनुगमन र अध्ययन गरिने बताउँदै सरोकारवालासहित निरीक्षणमा जाने तयारीमा रहेको बताए ।
संरचना निर्माणमा भएको लगानी र अपेक्षाअनुसार परिणाम नदेखिँदा धनकुटा बहुमुखी क्याम्पसमा आधुनिक अध्ययन प्रणाली र समावेशी शिक्षाको लक्ष्य नै प्रभावित भएको छ । यस्तै जडान गरिएका विद्युतिय सामान प्रयोगविहीन हुँदा काम नलाग्ने अवस्थामा पुग्न लागेका छन् । त्यसैले संरचना र उपकरण जोगाउने मात्र होइन, तिनलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सरोकारवालाहरु गम्भीर बन्नुपर्ने स्थानीय तथा विद्यार्थीहरु बताउँछन् ।

प्रतिक्रिया 4