+
+
Shares

डोल्पाको माटोमा क्षारीय बन्दै, कृषकलाई माटो स्वास्थ्य कार्ड वितरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १०:५५

२७ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा गरिएको माटो परीक्षणबाट जिल्लाको अधिकांश माटो क्षारीय प्रकृतिको रहेको पाइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरेको ‘माटो परीक्षण तथा माटो स्वास्थ्य व्यवस्थापन’ कार्यक्रमबाट जिल्लाको माटो क्षारीय बन्दै गरेको नतिजा सार्वजनिक भएको हो ।

माटोमा प्राङ्गारिक पदार्थको कमी, असन्तुलित रासायनिक मलको प्रयोग, भू-क्षय तथा लामो समयसम्म एउटै बाली लगाउने प्रवृत्तिका कारण माटोको उर्वराशक्ति घट्दै गएको भन्दै कार्यक्रमले माटो परीक्षणलाई प्राथमिकतामा राखेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले जानकारी दिएको छ ।

एकाइका अनुसार जिल्लाको मुड्केचुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका तथा काइके गाउँपालिकाबाट संकलन गरिएको माटोको नमुना परीक्षण गरिएको थियो। परीक्षणमा माटोको पिएच नाइट्रोजन, फस्फोरस तथा पोटास तत्वको अवस्था अध्ययन गरिएको हो ।

जिल्लाका विभिन्न स्थानका माटोको ७६ नमूनाको परीक्षणपछि ४६ नमुना क्षारीय, २४ तटस्थ र ६ अम्लीय माटो भेटिएको इकाईले जानकारी दिएको छ । त्यस्तै अधिकांश माटोमा फस्फोरसको मात्रा उच्च रहेको देखिएको छ भने नाइट्रोजन मध्यम अवस्थामा रहेको पाइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाका निमित्त कार्यालय प्रमुख गोविन्द बहादुर मल्लका अनुसार डोल्पाको भौगोलिक बनावट र सुख्खा हावापानीका कारण यहाँको माटो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी स्याउ र सिमी जस्ता बाली उत्पादनका लागि माटोको सन्तुलित व्यवस्थापन आवश्यक रहेको उनले बताए ।

‘माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा कृषकलाई माटो स्वास्थ्य कार्ड उपलब्ध गराइनेछ’, उनले भने, ‘यसले कुन बाली लगाउने र कस्तो मल प्रयोग गर्ने भन्ने विषयमा कृषकलाई वैज्ञानिक जानकारी दिन सहयोग पुग्नेछ।’

कार्यक्रम अन्तर्गत कृषकलाई माटो स्वास्थ्य, प्राङ्गारिक मलको प्रयोग, हरियो मल, बालीचक्र तथा माटो संरक्षण सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

प्राविधिकहरूका अनुसार क्षारीय माटो सुधार गर्न प्राङ्गारिक मल, कम्पोष्ट, हरियो मल, जिप्सम तथा सल्फरको प्रयोग प्रभावकारी मानिन्छ। त्यस्तै भू–क्षय नियन्त्रण, छापो हाल्ने, चिस्यान संरक्षण तथा बालीचक्र अपनाउने कार्यले माटोको गुणस्तर सुधार गर्न मद्दत पुग्ने बताइएको छ ।

निमित्त प्रमुख मल्लका अनुसार पिएच ६ देखि ७ को बीचमा रहेको माटो धेरैजसो बालीका लागि उपयुक्त मानिन्छ। उनका अनुसार अत्यधिक अम्लीय वा क्षारीय माटोले बिरुवाले आवश्यक पोषक तत्व लिन नसक्ने अवस्था सिर्जना गर्छ, जसले उत्पादनमा प्रत्यक्ष असर पार्ने गर्दछ ।

कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले स्थानीय तहसँग समन्वय गरी आगामी वर्षहरूमा पनि माटो परीक्षण अभियानलाई निरन्तरता दिने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?