News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय अभिनेता विजयले चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्।
- उनले स्थापना गरेको टिभिके पार्टीले २३४ सिटमध्ये १०८ सिट जितेर कांग्रेस र अन्य दलहरूको समर्थनमा सरकार गठन गरेको छ।
- विजयसँगै नौ जना मन्त्रीहरूले पनि शपथ लिएका छन्, जसमा पार्टी महासचिव बुसी आनन्द र २८ वर्षीया कान्छी मन्त्री एस कीर्तनाको नाम छ।
चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।
समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार पाएको छ ।
५१ वर्षीय विजयले स्थापना गरेको दल टिभिकेले दुई वर्षमै प्रदेशको राजनीतिमा ठूलो सफलता हात पारेको छ । गएको महिना सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले बलियो प्रवेश गरेको थियो ।
यद्यपि, एकल बहुमतका लागि आवश्यक ११८ सिट भने पुग्न सकेको थिएन । त्यसपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर विजयले सरकार गठनको बाटो खोलेका हुन् ।
Tamilaga Vettri Kazhagam (TVK) chief Chandrasekar Joseph Vijay takes oath as Tamil Nadu Chief Minister at Jawaharlal Nehru Stadium in Chennai#Vijay #VijayOathTaking pic.twitter.com/VqCUqM5q2j
— NDTV (@ndtv) May 10, 2026
विजयसँगै नौ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । उनीहरूमध्ये एआईएडीएमकेबाट निष्कासित भएपछि टिभिकेमा प्रवेश गरेका के ए सेनगोट्टैयन, विजयका विश्वासपात्र मानिने आधव अर्जुना, पूर्व भाजपा नेता सीटीआर निर्मलकुमार, पार्टी महासचिव ‘बुसी’ आनन्द, कलाकार राजमोहन, चिकित्सकबाट राजनीतिमा आएका केटी प्रभु, पूर्व राजस्व सेवा अधिकारी अरुणराज, मायलापुरका विधायक पी. वेंकटरामनन तथा २८ वर्षीया एस कीर्तनालाई समेटिएको छ ।
कीर्तना मन्त्रिपरिषद्की सबैभन्दा कान्छी सदस्य बनेकी छन् ।
सन् १९७४ जुन २२ मा चेन्नईमा जन्मिएका विजयले बालकलाकारका रूपमा चलचित्र यात्राको सुरुआत गरेका थिए । पछि ‘थुप्पाक्की’, ‘कथ्थी’, ‘मर्सल’, ‘बिगिल’ र ‘लियो’ जस्ता सफल चलचित्र दिएपछि उनी दक्षिण भारतका लोकप्रिय अभिनेतामध्ये एक बने । सन् २०२४ मा फिल्म क्षेत्र छाडेर राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै सत्ता नेतृत्वसम्मको यात्रा तय गरेका छन् ।
प्रतिक्रिया 4