News Summary
Generated by OK AI. Editorially reviewed.- एमआइटीका वैज्ञानिकहरूले वर्षाको आवाजले माटोमुनि रहेका बीउहरूलाई अंकुरणका लागि संकेत दिन्छ भन्ने नयाँ खोज गरेका छन्।
- धानका बीउहरूले वर्षाको आवाज सुनेपछि ३० देखि ४० प्रतिशत छिटो अंकुरित हुने अध्ययनले देखाएको छ।
- बीउभित्रका स्टाटोलिथ नामका कणहरूले वर्षाको आवाजबाट उत्पन्न कम्पन महसुस गरी अंकुरणको सही समय निर्धारण गर्छन्।
के माटोमुनि गाडिएका बीउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन् ? यो प्रस्न कुनै काल्पनिक कथाको हरफजस्तो लाग्न सक्छ । तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो तथ्यको पुष्टि गरेको छ ।
अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्थान एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका हुन् । वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुख्खा माटोमा खस्छ त्यो आवाज माटोमुनि रहेका बीउहरूले सुन्छन् अनि सुषुप्त अवस्थामा रहेका बीउहरू ब्युँझिन थाल्छन् । वर्षाको त्यही आवाज उनीहरूका लागि जीवन सुरु गर्ने संकेत बन्ने गर्छ ।
अध्ययनअनुसार विशेषगरी धानका बीउहरू वर्षाको ध्वनि सुनेपछि ३० देखि ४० प्रतिशतसम्म छिटो अंकुरण हुने गरेको पाइएको छ । अर्थात् वर्षाको तप-तप आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ । यो खोजले वनस्पतिहरू निस्क्रिय तथा चेतनाविहीन ठान्ने धारणालाई गलत सावित गरिदिएको छ।
वैज्ञानिकहरूका अनुसार बीउहरूले केवल चिस्यान र पानीको मात्र प्रतीक्षा गर्दैनन्, उनीहरूले आफ्नो वरिपरिको वातावरणलाई पनि महसुस गर्छन् र त्यसकै आधारमा अब अंकुरित हुने सही समय आएको हो वा होइन भन्ने निर्णय लिन्छन्।
बीउहरूले वर्षाको आवाज कसरी सुन्छन् ?
वर्षाका थोपा जब माटो वा पानीमा खस्छन्, तब ध्वनि तरंगहरू उत्पन्न हुन्छन् । यी तरंगहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन् । बीउहरूले यी कम्पनहरूलाई महसुस गर्न सक्छन् ।
वैज्ञानिकहरूका अनुसार बीउभित्र स्टाटोलिथ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन् । जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले यी स्टाटोलिथहरूलाई हल्लाउँछन् तब बीउलाई संकेत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अंकुरणका लागि उपयुक्त भएको छ । यही कारणले बीउहरू छिटो अंकुरित हुन थाल्छन् ।
शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब ८ हजार प्रकारका धानका बीउहरूमा प्रयोग गरेका थिए । केही बीउहरूलाई सामान्य चिसो/आद्र वातावरण दिइयो भने केहीमा वर्षाजस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो ।
त्यसको नतिजा रोचक थियो। जुन बीउलाई वर्षाको आवाज सुनाइयो ती बीउहरू ३०/४० प्रतिशत छिटो अंकुरित भए । वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरंगहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बीउहरूले यो आवाज अझ राम्ररी महसुस गर्न सक्छन् ।
यो अध्ययनले बिरुवाहरू हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनुका साथै केवल प्रकाश, पानी र माटोमा मात्र निर्भर नभई आवाज र कम्पनलाई पनि महसुस गर्न सक्ने देखाएको छ ।
स्मरण रहोस् यसअघिका अध्ययनहरूले पनि वनस्पतीले सुन्नसक्ने तथ्य पत्ता लगाएका थिए । जस अनुसार केही विरुवाहरूले कीराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन् । केही बिरुवाहरू छोएपछि बन्द हुन्छन् भने केही बिरुवाले गन्धप्रति प्रतिक्रिया जनाउँछन् । अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ ।
त्यसैले वर्षाको तपतप आवाज केवल हाम्रो मनोरञ्जनका लागि मात्र होइन माटोभित्र लुकेका बीउहरूका लागि जीवनको सन्देश पनि हो ।
एजेन्सी
प्रतिक्रिया 4