+
+
Shares

नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास लगायत खाद्य सामग्रीमा किरा भेटिएपछि आयातमा तत्काल रोक लगाएको छ।
  • अस्ट्रेलियाले नेपाललाई आफ्नै भूमिमा मापदण्ड अनुसार उपचार गर्ने वा भारत सरकारको रि–एक्स्पोर्ट सर्टिफिकेट लिनुपर्ने दुई विकल्प दिएको छ।
  • नेपाल सरकारले आर्थिक वर्षको अन्त्यसम्म अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ ।

नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ ।

वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेल

अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ ।

नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो ।

तर, पछिल्लो समय यस प्रक्रियामा गम्भीर लापरबाही र बदमासी भेटिएको पौडेलले बताए । ‘सामान नेपालमै हुँदा कोलकातामा उपचार भइसकेको नक्कली कागजात बनाउने, प्लास्टिकमा प्याक गरिएको सामानलाई नै उपचार गरिएको भनी प्रमाणपत्र दिनेजस्ता कार्यहरू व्यवसायी र कोलकाताका ट्रिटमेन्ट प्रोभाइडरबाट भएको पाइयो,’ उनले भने ।

उनका अनुसार अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने जनाएको छ ।

‘यदि सामान भारतमा उपचार गरिएको हो भने भारत सरकारकै ‘रि–एक्स्पोर्ट फाइटो स्यानिटरी सर्टिफिकेट’ चाहिन्छ, अन्यथा नेपालले आफ्नै उपचार सुविधा विकास गर्नुपर्छ,’ अस्ट्रेलियाले पठाएको पत्रमा उल्लेख छ ।

पछिल्लो समय पठाइएका सामग्रीमा किरासमेत भेटिएपछि अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई सचेत गराउँदै आयात रोकेको हो ।

अस्ट्रेलियाले हाल नेपाललाई दुई वटा विकल्प दिएको छ । पहिलो, नेपालले आफ्नै भूमिमा अस्ट्रेलियाले तोकेको मापदण्ड र मेसिन प्रयोग गरेर सामानको उपचार गर्नुपर्ने छ ।

दोस्रो, यदि तेस्रो मुलुक (भारत) मा उपचार गराउने हो भने भारतीय सरकारी निकायले नै त्यसको शतप्रतिशत जिम्मेवारी लिएर रि–एक्स्पोर्ट फाइटोस्यानिटरी सर्टिफिकेट जारी गर्नुपर्ने छ ।

हालको अवस्थामा नेपालका अधिकारीहरू कोलकाता गएर प्रत्येक कन्टेनर अनुगमन गर्न सक्ने अवस्थामा छैनन् र भारतीय पक्षले पनि नेपालका लागि यस्तो ग्यारेन्टी लिन नमानेको पौडेल बताउँछन् ।

यो समस्या समाधानका लागि नेपाल सरकारले आफ्नै उपचार केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको पौडेलले जानकारी दिए ।

‘अस्ट्रेलियाले निश्चित ब्रान्डका मेसिनहरू प्रयोग गर्न निर्देशन दिएको छ,’ पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं र यसै आर्थिक वर्षको अन्त्यसम्म नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा तयार हुनेछ ।’

स्वदेशमै फ्युमिगेसन सेन्टर बनाउने सरकारी योजना पनि वर्षौंदेखि प्रशासनिक र कानुनी उल्झनमा फसेको छ । कीर्तिपुरस्थित बागवानी केन्द्रको जग्गामा यस्तो केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको भए पनि त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवादले गर्दा निर्माण कार्य अघि बढ्न सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले यसलाई विकसित देशहरूले प्रयोग गर्ने ‘नन–ट्यारिफ ब्यारियर’ (गैरभन्सार अवरोध) का रूपमा टिप्पणी गरेका छन्, जहाँ गुणस्तर र क्वारेन्टिनका नाममा विकासोन्मुख देशका उत्पादनलाई निरुत्साहित गर्ने गरिन्छ ।

नेपालको आन्तरिक क्षमता कमजोर हुनु नै निर्यातको मुख्य बाधक रहेको उनीहरूल् औँल्याएका छन् । हाल नेपालमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा पर्याप्त नभएका कारण सामानहरू भारतको कोलकाता पठाएर उपचार गरी निर्यात गर्नुपर्ने बाध्यता छ । यसले प्रक्रियालाई झन्झटिलो र जोखिमपूर्ण बनाएको छ ।

‘हामीले डेस्टिनेसन मार्केट (गन्तव्य बजार) को क्वारेन्टिन र गुणस्तर मापदण्ड पूरा गर्न सकेका छैनौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्राइमरी प्रडक्टभन्दा पनि भ्यालु एडेड र प्रोसेसिङ गरिएका सामान पठाउँदा बजारको माग र मापदण्डमा विशेष ध्यान दिनु आवश्यक छ ।’

नेपाल र अस्ट्रेलियाबीचको वैदेशिक व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोर्नु परिरहेको छ । पछिल्लो ९–१० महिनाको तथ्यांक अनुसार नेपालले अस्ट्रेलियामा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको खाद्यान्न निर्यात गर्दा सोही अवधिमा अस्ट्रेलियाबाट भने करिब १० अर्ब रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ ।

तथ्यांक विश्लेषण गर्दा अस्ट्रेलियासँगको व्यापारमा नेपाल अहिले नै झन्डै ९ अर्ब रुपैयाँ घाटामा छ । यस्तो असन्तुलित व्यापारिक अवस्थामा अस्ट्रेलियाले नेपाली उत्पादन आयातमा कडाइ गरेसँगै यो घाटाको खाडल अझै फराकिलो हुने निश्चित छ ।

निर्यात ठप्प हुँदा एकातिर विदेशी मुद्रा आर्जनको स्रोत सुक्ने छ भने अर्कातिर दुई देशबीचको व्यापारिक सन्तुलन पूर्णत: एकपक्षीय हुने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?