+

आर्थिक पाटोलाई पारदर्शी बनाउन लागिपरेका छौं : पारस खड्का

२०८३ वैशाख  २७ गते १५:५४ २०८३ वैशाख २७ गते १५:५४
आर्थिक पाटोलाई पारदर्शी बनाउन लागिपरेका छौं : पारस खड्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा १८ महिनापछि विराटनगरमा प्राविधिक र राजनीतिक कारणले केही ढिलो सुरु भएको छ।
  • नेपाल प्रिमियर लिगमा ८ टोलीमा १५ देखि २० करोड रुपैयाँसम्म लगानी भइसकेको र कुल २०० देखि २५० करोड रुपैयाँ लगानी हुने देखिएको छ।
  • क्यानले कर छुटका लागि प्रक्रिया अगाडि बढाउँदै सबै आर्थिक पक्ष पारदर्शी बनाउन टिम मालिक र प्रायोजकसँग समन्वय गरिरहेको छ।

२७ वैशाख, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए ।

विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ।

१८ महिनापछि संघको साधारणसभा आज विराटनगरमा सुरु भएको हो । साधारणसभा भोलि समापन हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

खड्काले भने संघको अवस्थाका विषयमा राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएर समन्वयमा काम गरिएको बताए । ‘साधारण सभा गर्नुपर्छ भनेर औपचारिकताका लागि मात्र नभई यसलाई एउटा अर्थपूर्ण र ठोस निष्कर्ष दिने बनाउन खोज्दा केही समय लागेको हो,’ खड्काले भने ।

नेपाल प्रिमियर लिग (एनपीएल)सँग जोडिएका आर्थिक विषयमा कर छुटको प्रक्रियाका कारण हिसाब–किताब मिलाउने क्रममा रहेको उनले बताए ।

नेपाल प्रिमियर लिगमा वैदेशिक तथा आन्तरिक लगानी भित्रिएको बताउँदै उनले  एनपीएलका ८ वटा टोलीमा १५ देखि २० करोड रुपैयाँसम्म दरले लगानी भइसकेको उनले बताए ।

‘सबै टोलीमा २०० देखि २५० करोड रुपैयाँको लगानी हुने देखिएको छ,’ खड्काले थपे, ‘यति ठूलो आर्थिक भार र स्रोतहरू परिचालन भइरहेको अवस्थामा क्यानले अब कर छुटका लागि प्रक्रिया अगाडि बढाउँदै छ । टिम मालिक र प्रायोजकहरूसँगको समन्वयमा सबै आर्थिक पाटोलाई पारदर्शी बनाउन हामी लागिपरेका छौं ।’

क्यानले  सबै प्रक्रियाहरू पूरा गरी क्रिकेटको संस्थागत विकासमा लाग्ने बताए ।

पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय