News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नीतिगत सुधार र व्यवसायी एकता आवश्यक भएको बताए।
- उनले सार्वजनिक यातायातमा जीपीएस जडान र विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको बताए।
- मन्त्री थापाले यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक र कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने आवश्यकता औंल्याए।
२७ वैशाख, काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यातायात क्षेत्रलाई २१औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताएका हुन् ।
उनले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने बताए ।
उनले सार्वजनिक यातायातमा जीपीएस जडान, प्रविधिमैत्री मापदण्ड र पेट्रोलियम तथा डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको बताए । यसमा सहयोग गर्न उनले यातयात व्यवसायीलाई आग्रह गरे ।
यातायात क्षेत्रमा धेरै संघसंस्था हुँदा एउटै विषयमा फरक–फरक धारणा आउने गरेको उल्लेख गर्दै उनले ऐन र मापदण्ड निर्माणमा अन्योल सिर्जना हुने बताए ।
उनले अधिकार प्राप्तिका लागि व्यवसायीहरू पहिले आफैं एकीकृत र बलियो हुनुपर्नेमा जोड दिए ।
उनले सवारीसाधन भित्र्याउँदा अन्तर्राष्ट्रिय कम्पनीहरूले ल्याएका मापदण्ड नेपाली सडक र भूगोलअनुकूल छन् वा छैनन् भन्ने मूल्यांकन गरेर मात्रै ल्याउन पनि आग्रह गरे ।
उनले भने, ‘पहिला राज्यसँग अधिकार लिनका लागि तपाईंहरू आफू बलियो हुनुपर्यो । तपाईंहरूले ल्याउने पूँजीको सुरक्षा गर्नका लागि राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ । तपाईंहरूले कुदाउने गाडी कस्तो हुनुपर्छ ? पेट्रोल र डिजेलको मापदण्ड कस्तो बन्नुपर्छ ? ईभी गाडीको मापदण्ड कस्तो बन्नुपर्छ ? इन्टरनेसनल मल्टी कम्पनीहरूले ल्याएको विभिन्न किसिमका मापदण्डहरूमा नेपालको माटो सुहाउँदो छ कि छैन ? नेपालको रोड सुहाउँदो छ कि छैन ? पहिला राष्ट्रियतालाई ख्याल गरेर तपाईंहरूले डिसिजन गर्नुस् ।’
उनले यातयात क्षेत्र सुधारका लागी राज्यले नीति निर्माणमा सुधार गर्नुपर्ने बताए ।
लगानीकर्ताको पूँजी सुरक्षित गर्न तथा यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक र कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4