News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा जेठ ८ देखि १५ गतेसम्म आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप एफआईभीबीको विश्व वरीयता प्राप्त प्रतियोगिता हुनेछ।
- नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले यस प्रतियोगिता जितेमा नेपाली महिला टिम एसिया कपमा छनोट हुने बताए।
- नेपाली महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले यस च्याम्पियनसिपपछि नेपाल विश्व वरियतामा समावेश हुने जानकारी दिए।
२७ वैशाख, काठमाडौं । नेपालमा जेठ ८ देखि १५ गतेसम्म आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप एफआईभीबीको विश्व वरीयता प्राप्त प्रतियोगिता हुने नेपाल भलिबल संघले जनाएको छ ।
आइतबार काठमाडौंमा आयोजित च्याम्पियनसिपको ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यो च्याम्पियनसिप एफआईभीबी वर्ल्ड र्याङ्किङमा समावेश हुने जानकारी दिए ।
नेपालमा यसअघि काभाको विभिन्न प्रतियोगिता आयोजना भएपनि त्यसले वर्ल्ड र्याङ्किङको लागि मान्यता पाएको थिएन । तर यस पटक भने एफआईभीबीको वर्ल्ड र्याङ्किङमा पनि समावेश हुने भएकोले काभा महिला भलिबल च्याम्पियनसिप नेपालको लागि धेरै महत्त्वपूर्ण हुने अध्यक्षले चन्दले बताए ।
उनले यस प्रतियोगिता जितेमा एसिया कपमा छनोट हुने र त्यसबाट अझ फड्को मार्न सकिने पनि बताए । ‘यो प्रतियोगितामा जितेमा नेपाली महिला टिमको भाग्य चम्किनेछ । यदि हाम्रो टिमले घरेलु कोर्टमा ट्रफी जित्न सकेमा अर्को वर्ष २०२७ मा एसिया कप खेल्छ । र त्यसमा पनि शीर्ष ६ मा परेमा अझ माथि जाने बाटो खुल्छ’ चन्दले भने, ‘यो प्रतियोगिता एफआईभिबी वर्ल्ड र्याङ्किङ टुर्नामेन्ट भएकोले टिमले राम्रो नतिजा ल्याउन सकेमा धेरै फाइदा हुनेछ ।’
नेपालले गत वर्ष कात्तिकमा टुँडिखेलमा आउटडोर भएको काभा महिला नेसन्स लिग प्रतियोगिता आयोजना गर्ने तय थियो । एफआईभीबीको वर्ल्ड र्याङ्किङ टुर्नामेन्ट भएपनि २०८२ भदौमा नेपालमा भएको जेनजी आन्दोलनले गर्दा नेपालले त्यो प्रतियोगिता आयोजना अधिकारदेखि धेरै कुरा गुमायो । जसको असर नेपालको अन्तर्राष्ट्रिय सहभागता पनि पर्यो । त्यसपछि त्यो टुर्नामेन्ट उज्वेकिस्तानमा हुँदा चार टिम मात्र सहभागी भयो, नेपाल सहभागी भएन ।
त्यो प्रतियोगिता खेल्ने टिमहरू अहिले एसियाली स्तरमा खेल्दा नेपाल भने अझै काभाकै प्रतियोगितामा सिमित छ । जसले गर्दा नेपाल अहिले एफआईभीबीको वरियतामा समावेश छैन ।
यस्तै नेपाली महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले नेपालको अहिले विश्व वरियतामा नभएको र काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि वरियतामा समावेश हुने जानकारी दिए ।
‘हाम्रो अहिले विश्व वरियता छैन । महिलाको वरियतामा छैन । यो भन्दा अघि हामी एफआईभीबीको वरियतामा ८६औं स्थानमा थियौं । १९औं एसियन गेम्समा हामी ११औं भएका थियौँ । विगतमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा हामी वरियतामा समावेश थिएन’ प्रशिक्षक भट्टले भने ।
जेनजी आन्दोलनले गर्दा नेपालमा हुने प्रतियोगिता प्रभावित भएको र यस पटक फेरि नेपाल भलिबल संघले वरियता प्राप्त प्रतियोगिता गर्दा नेपाललाई फाइदा हुने भट्टले बताए ।
‘यो जेनजी आन्दोलनले रोकिएको हो । नेपालमा हुने प्रतियोगिता आन्दोलनपछि उज्वेकिस्तानमा भयो । यस पटक भलिबल संघ अध्यक्षको पहलमा विश्व वरियताको प्रयास स्वरुप यो प्रतियोगिता नेपालमा हुँदैछ’ प्रशिक्षक भट्टले भने, ‘हामी यो प्रतियोगितामा समावेश हुनु नै विश्व वरियतामा समावेश हुनु हो । हामीले राम्रो प्रदर्शन गर्दै कति खेल जित्छौं भन्नेमा भर पर्छ । यही हामीले यस राम्रो गर्न सके विश्वमा ५० देखि ६० स्थानसम्म पर्न सक्छौं ।’
भलिबल संघका अध्यक्ष चन्दले विश्व वरियतामा पर्नका लागि काभा देखि एभीसीका प्रतियोगिताहरू नियमित खेल्नुपर्ने र त्यसका लागि धेरै बजेट चाहिने बताए । ‘विश्व वरियतामा पर्नका लागि विश्व वरियता प्राप्त गेमहरु खेल्नुपर्छ । अहिले काभाको पुरुषको प्रतियोगिता पाकिस्तानमा हुनेछ । महिलाको हामी आफैं आयोजना गर्दैछौं’ उनले भने, ‘एभीसीको प्रतियोगिताहरू खेल्नुपर्यो । काभाको वरियता प्राप्त प्रतियोगिता खेल्नुपर्यो । यो प्रतियोगितामा हामी ट्रफीले उचाल्यौं भने मलाई लाग्छ नेपाल टप २० भित्र पर्छ ।’
चन्दले अन्य राष्ट्रका सरकारले खेललाई सहयोग गर्दा सहज भएको बताए ।
प्रतिक्रिया 4