+
+
Shares

ओलीलाई विद्याको सुझाव : कार्यकर्तामा निराशा बढ्दै गएको छ, अलमलमा धेरै बस्नु हुँदैन

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाएकी थिइन् । ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:१६
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा बढी राजनीतिक सम्वाद गरेकी छन्।
  • भण्डारीले ओलीलाई निर्वाचन समीक्षा बैठक तुरुन्त बोलाउन र नेतृत्व छोड्नुपर्ने आवाजबारे सुझाव दिएकी छन्।
  • भण्डारीले ओलीलाई लगातार भेटेर आन्तरिक राजनीति उठाइरहेकी छिन्।

२८ वैशाख, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् ।

हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गरेकी छन् । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् ।

‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको सुनिन्छ । तर अहिलेसम्म बैठक बोलाइएको छैन,’ भण्डारी निकट स्रोतले भन्यो, ‘केपी ओलीसँग यही विषयमा कुरा गर्नुभयो ।’

एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेकी भण्डारीले समीक्षा बैठक राख्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी छन् । ‘कार्यकर्तामा निराशा बढ्दै गएको छ । यस्तो अलमलमा धेरै बसिरहनु हुँदैन,’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् ।

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाएकी थिइन् । ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिएकी छन् ।

ओलीले भने सन्दर्भ नमिलिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको जवाफ दिएका थिए । ओलीले अरु नेताहरुसँग पनि यस्तै तर्क गर्दै आएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा एमालेले नराम्रो पराजय बेहोरेपछि ओलीमाथि नेतृत्व छोड्न दबाब बढिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले पनि लगातार ओलीलाई भेटेरै आन्तरिक राजनीतिको प्रसंग उठाइरहेकी छन् ।

२१ फागुनको निर्वाचन यता भण्डारीले ओलीलाई भेटेको यो चौथोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?