+
+
Shares

उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुग्यो, लुम्बिनी प्रदेशमा महँगी सबैभन्दा उच्च

भौगोलिक आधारमा विश्लेषण गर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा मूल्यवृद्धिको दर केही उच्च देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चैत २०८२ मा नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ भने अघिल्लो वर्ष ३.३९ प्रतिशत थियो।
  • खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.७२ प्रतिशत कायम भएको छ।
  • नेपालको मुद्रास्फीति भारतको ३.४० प्रतिशतभन्दा बढी ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२८ वैशाख, काठमाडौं । चैत २०८२ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ९ महिनाको तथ्यांक अनुसार अघिल्लो वर्ष सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेकामा यस वर्ष मूल्यवृद्धिमा केही चाप देखिएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत कायम भएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत छ ।

गत वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमश: २.४५ र ३.९० प्रतिशतमात्र थियो ।

यद्यपि, समग्र आव २०८२/८३ को ९ महिनाको औसत मुद्रास्फीति भने २.३९ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.५७ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत केही उपसमूहको मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा गिरावट आएको छ ।

घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा बढी १२.८७ प्रतिशत बढेको छ भने फलफूल मूल्यमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतको वृद्धि देखिएको छ ।

अर्कातर्फ, दाल तथा गेडागुडीको मूल्य सूचकांक २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ र मरमसलाको १.६४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यमा १९.९४ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । यस्तै यातायात क्षेत्रको मूल्य १२.०३ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशत बढेको छ ।

भौगोलिक आधारमा विश्लेषण गर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा मूल्यवृद्धिको दर केही उच्च देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७१ प्रतिशत बढ्दा सहरी क्षेत्रमा ४.७४ प्रतिशत बढेको छ ।

प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३.३९ प्रतिशत छ ।

अन्य प्रदेशमा कोशी ४.९८, मधेस ४.९१, बागमती ४.२०, गण्डकी ३.८५ र कर्णालीको ३.८२ प्रतिशत छ ।

क्षेत्रगत आधारमा तराईमा ४.८३ प्रतिशत, काठमाडौं उपत्यका ४.६९, पहाड ४.१८ र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति कायम भएको छ ।

थोक मुद्रास्फीतितर्फ चैत २०८२ मा वार्षिक बिन्दुगत वृद्धिदर ३.९२ प्रतिशत छ, जुन अघिल्लो वर्ष सोही महिनामा ४.२० प्रतिशत थियो । यस अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ५.६० प्रतिशतले ऋणात्मक रहे पनि मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमश: ९.९५ र ४.१४ प्रतिशत छ । साथै, निर्माण सामग्री थोक मूल्य सूचकांकमा पनि १.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।

चाल आव २०८२/८३ तेस्रो त्रैमासमा तलब तथा ज्याला सूचकांकमा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार आएको छ । वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ६.३० प्रतिशतले वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष सोही त्रैमासमा यस्तो वृद्धिदर २.६० प्रतिशतमात्र थियो ।

प्रदेशगत रूपमा गण्डकीमा तलब तथा ज्याला वृद्धिदर १०.४० प्रतिशतका साथ सबैभन्दा उच्च छ भने कर्णालीमा १.१५ प्रतिशतको न्यून वृद्धि देखिएको छ ।

अन्य प्रदेशमा कोशी ८.४५, लुम्बिनी ८.५४, सुदूरपश्चिम ५.८३, बागमती ५.०३ र मधेस ३.७५ प्रतिशतले ज्याला बढेको छ ।

अन्तर्राष्ट्रिय सन्दर्भमा नेपालको मुद्रास्फीति छिमेकी भारतको तुलनामा केही बढी देखिएको छ । सन् २०२६ मार्च (चैत २०८२) मा  भारतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४० प्रतिशत रहँदा नेपालमा सोही अवधिमा ४.४७ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?