News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल निर्माण व्यवसायी महासंघले प्रतिष्ठित निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट निरन्तर धरपकड र थुनछेक भएकोमा आपत्ति जनाएको छ।
- महासंघ महासचिव शिवहरि घिमिरेले धरपकड गैरकानुनी भएको र संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराएका छन्।
- महासंघले सरकारले बिना ठोस आधार धरपकड गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।
२९ वैशाख, काठमाडौं । मुलुकका प्रतिष्ठित एवं अग्रज निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट निरन्तर धरपकड र थुनछेक भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
महासंघ महासचिव शिवहरि घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठित निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट भएको धरपकड एवं थुनछेक निन्दनीय भएको उल्लेख गरेका छन् ।
इन्धन तथा निर्माण सामाग्रीमा भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण राज्यले समयमै मूल्य समायोजन नदिँदा निर्माण कार्यहरू गर्न सक्ने अवस्था नभएको परिस्थितिमा निर्माण व्यवसायीलाई ठूलो आर्थिक एवं मानसिक दबाबमा परेकै बखत धरपकड गरिएकोमा कडा आपत्ति जनाइएको छ ।
अहिलेको विषम परिस्थितिमा निर्माण व्यवसायीलाई राहत दिनुको सट्टा सार्वजनिक खरिद ऐन, नियम र खरिद सम्झौताका सर्त विपरीत गरिएको धरपकड गैरकानुनी भन्दै महासंघले खेद प्रकट गरेको छ ।
‘अनुसन्धानपछि दोषी प्रमाणित भए जो कोही पनि प्रचलित ऐन, कानुन अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यता महासंघको रहेकोमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाप्रति महासंघ सबैलाई स्मरण गराउन चाहन्छ,’ विज्ञप्तिमा छ ।
निर्माण उद्योग लगायत निजी क्षेत्रका उद्यमीलाई त्रसित एवं आतंकित पारिएको अवस्थामा अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निश्चित भएको महासंघको ठहर छ ।
सरकारले अब फेरि निर्माण व्यवसायीहरूमाथि विना कुनै ठोस आधार तथा प्रमाण धरपकड तथा थुनछेक गर्ने कार्य गरे महासंघ कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4