३० वैशाख, सप्तरी । सप्तरीको राजविराज मेनरोड सौन्दर्यकरण हुने भएको छ । राजविराज नगरपालिकाले रुपनी–राजविराज–कुनौली सडक अन्तर्गत पर्ने हनुमान मन्दिरदेखि सगरमाथा हस्पिटल गेटसम्मको सडक खण्ड सौन्दर्यकरण गर्ने भएको हो ।
नगरपालिकाले सडकको बीच भागमा एक मिटर चौडाइ भित्रमा मेडियन लगायत आवश्यक सौन्दर्यकरण कार्य गर्नका लागि सडक डिभिजन कार्यालय लहानसँग अनुमति माग गरेको थियो । त्यसलाई सडक डिभिजन कार्यालयले अनुमति दिएको छ ।
राजविराज नगरपालिकालाई एक मिटरभन्दा थप क्षति नहुने गरी मेडियन, लाइटिङ्ग, ट्राफिक बत्ती लगायत राखेर सौन्दर्यकरण गर्न/गराउन अनुमति दिइएको सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख इन्जिनियर ध्रुव कुमार झाले जानकारी दिए ।
राजविराज नगरपालिकाको योजना शाखा प्रमुख मनोज कुमार यादवले सडक डिभिजन कार्यालय लहानबाट सौन्दर्यकरणका लागि अनुमति आइसकेकाले डिजाइन अनुसार निर्माण कार्यलाई अगाडि बढाएको बताए । उनले सडकमा मेडियन, लाइटिङ, ट्राफिक बत्ती जडान लगायतका कार्य भएपछि सहरको सुन्दरता बढ्ने बताए ।
प्रतिक्रिया 4