+
+
Shares

९ दिनभित्र चलचित्र प्राविधिकको पारिश्रमिक तिर्न नेफ्टाको अल्टिमेटम

३५ निर्माता कम्पनीविरुद्ध अदालत जाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र निर्माता र सम्बन्धित पक्षलाई ९ दिनभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्न चेतावनी दिएको छ।
  • संघले प्राविधिकको मेहनतअनुसार पारिश्रमिक नबढेको र धेरैले महिनौँसम्म रकम नपाउने अवस्था रहेको उल्लेख गरेको छ।
  • नेफ्टाले पारिश्रमिक नदिए छायांकन र प्राविधिक काम रोक्ने, ब्ल्याकलिस्ट गर्ने र कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न चलचित्र निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको जनाएको हो ।

संघका अनुसार नेपाली चलचित्र उद्योग व्यावसायिक रूपमा विस्तार हुँदै गए पनि प्राविधिकको अवस्था भने अझै कमजोर छ । फिल्मको बजेट, कलाकारको पारिश्रमिक र बजार बढे पनि प्राविधिकको मेहनतअनुसार पारिश्रमिक नबढेको र धेरैजसोले महिनौँसम्म रकम नपाउने अवस्था रहेको नेफ्टाको भनाइ छ । संघले यस्तो प्रवृत्तिले उद्योगभित्र श्रमिकमाथिको अन्याय बढाएको उल्लेख गरेको छ ।

नेफ्टाले हाल विभिन्न चलचित्रमा काम गरेका प्राविधिकको बाँकी पारिश्रमिक विज्ञप्ति जारी भएको मितिले ९ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न माग गरेको हो । साथै बजारको महँगी र श्रमको मूल्यअनुसार प्राविधिकको पारिश्रमिक पुनरावलोकन गरी समयमै भुक्तानी सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

संघले तोकिएको समयभित्र माग पूरा नभए बाँकी रकम रहेका चलचित्रको छायांकन तथा प्राविधिक काम तत्काल रोक्ने चेतावनी दिएको छ । पारिश्रमिक नदिने निर्माता र निर्माण कम्पनीलाई सार्वजनिक रूपमा ‘ब्ल्याकलिस्ट’ गर्ने तथा आवश्यक परे श्रम अदालतमा कानुनी उपचार खोजिने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी प्राविधिकको श्रमको सम्मान नभए सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत नेफ्टाले दिएको छ । ‘छायाँमा बसेर काम गर्ने प्राविधिकको योगदानबिनाको चलचित्र उद्योग सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आफ्नो श्रमको उचित मूल्य र सम्मानजनक बाँच्न पाउने अधिकारको माग गरिरहेका छौं ।’

अध्यक्ष प्रेम भोम्जन ‘पुस्कर लामा’का अनुसार ३५ भन्दा फिल्म निर्माता कम्पनीले १ करोड रुपैयाँ भन्दा धेरै पारिश्रमिक तिर्न बाँकी छ । नेफ्टाले यसअघि पनि विज्ञप्ति जारी गर्दै पारिश्रमिक दिन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?