News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा ३० लाखमा बनेको फिल्मले १ करोड ग्रस कलेक्सन गर्दा पनि निर्माताको वास्तविक नाफा करिब २ लाख २५ हजार मात्र हुन्छ।
- चलचित्र विकास बोर्डका अनुसार 'परालको आगो'ले ४ करोड २५ लाख, 'राम नाम सत्य'ले ३ करोड ४० लाख र 'पहाड'ले ६३ लाख कमाएको छ।
- नेपालको फिल्म उद्योगमा नयाँ निर्माता निरन्तर प्रवेश गरिरहेका छन्, तर धेरैले उद्योगको वास्तविकता नबुझी लगानी गर्दा घाटामा पर्ने अवस्था छ।
एउटा फिल्मले १५ करोड कमायो । करोडको आँकडामा फिल्मको आम्दानी सुन्दा धेरैलाई लाग्छ– अरू सबै काम छाडेर फिल्म बनाउनु लाभदायक रहेछ ।
चानचुन दुई करोड लगानी गरिएको फिल्मले १० करोड कमाएको सुन्दा हाम्रो कान ठाडा हुन्छन् । अन्य इन्द्रीयहरू चनाखो हुन्छन् । एउटै फिल्मबाट करोडौं कमाइने रहेछ भन्ने लाग्न थाल्छ ।
यस्तो लाग्छ, यो दुनियाँमा फिल्म निर्माण नै यस्तो काम हो, जसमा जुवाभन्दा पनि सजिलै पैसा हात पर्छ ।
तर वास्तविकता फरक छ । जस्तो कुनै एउटा फिल्मले १ करोड रुपैयाँ कमायो ।
सबैभन्दा पहिले उक्त रकमबाट १३ प्रतिशत भ्याट काटिन्छ । त्यसपछि रकम करिब ८७ लाखमा झर्छ । त्यसपछि ५ प्रतिशत स्थानीय विकास कर तिर्नुपर्छ । यो कटेपछि रकम झन्डै ८२ लाखमा सीमित हुन्छ ।
अब बाँकी रकम हल सञ्चालक र निर्माता बीचको सम्झौताअनुसार बाँडफाँड हुन्छ । अहिले प्रायः ५०–५० प्रतिशतको अभ्यास छ । त्यसअनुसार निर्माताको भागमा करिब ४१ लाख आउँछ । तर हिसाब यतिमै सकिँदैन ।
अब वितरकको हिस्सा आउँछ । वितरकले पहिले एडभान्स दिएको भए त्यो रकम कटाइन्छ, नभए पनि कम्तीमा ५ प्रतिशत कमिसन जान्छ । त्यसपछि निर्माताको हातमा करिब ३६ लाख जति बाँकी रहन्छ ।
त्यसपछि हलमा फिल्म चलाउन तिर्नुपर्ने सर्भर चार्ज, प्रविधि शुल्कलगायत अन्य खर्च पनि जोडिन्छ । मानौं ३ लाख रुपैयाँ सर्भर चार्जमा गयो भने अन्ततः निर्माताको हातमा करिब ३३ लाख मात्र पुग्छ ।
अब फिल्म बनाउन ३० लाख लागेको थियो भने फाइदा ३ लाख भयो । त्यसमा २५ प्रतिशत मुनाफा कर बुझाउनुपर्छ । यसपछि निर्माताको वास्तविक नाफा करिब २ लाख २५ हजारमा झर्छ ।
अझ महत्वपूर्ण कुरा, यो ग्रस कलेक्सनको हिसाब पनि फिल्म रिलिज भएको एक–दुई हप्तामै निर्माताको हातमा आइपुग्दैन । धेरै अवस्थामा रकम उठ्न १ महिनादेखि ६ महिनासम्म लाग्ने गरेको देखिन्छ ।
अब सोचौं—फिल्म निर्माणअघि र निर्माणका क्रममा निर्माताले महिनौं गरेको दुःख, लगानीमा लागेको ब्याज, विभिन्न ठाउँमा दौडधुप गर्दा भएको खर्च, खाना–खाजा, बसोबासदेखि अन्य व्यवस्थापन खर्च जोड्दा वास्तविक लागत कति पुग्ला ?
त्यो हिसाब तपाईंहरू आफैं अनुमान गर्न सक्नुहुन्छ । तर एउटा यथार्थ के हो भने, नेपालमा ३० लाखमा बनेको फिल्मले १ करोड ग्रस कलेक्सन गर्दा पनि धेरै अवस्थामा निर्माता नाफामा होइन, घाटामै पुग्ने गर्छन् ।
०००
माथिको हिसाबकिताब बुझिसकेपछि अब यो वैशाखमा प्रदर्शन भएका फिल्महरूले कति कमाइ गरे भन्ने पनि हेरौं ।
चलचित्र विकास बोर्डका अनुसार ‘परालको आगो’ले हालसम्म ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ‘राम नाम सत्य’ले ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ कमाएको छ भने ‘पहाड’ले ६३ लाख ९३ हजार १५२ रुपैयाँको व्यापार गरेको देखिन्छ । ‘लालीबजार’को आधिकारिक कलेक्सन विवरण भने आउन बाँकी छ ।
अब यी फिल्ममा वास्तविक लगानी कति थियो भन्ने कुरा निर्माताहरूलाई नै राम्रोसँग थाहा होला । तर चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आम्दानीको तथ्यांक भने यहाँ प्रस्तुत गरिएको छ ।
अब एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ– यी कमाइबाट निर्माताले वास्तवमै कति फाइदा गरे होलान् ? यसको उत्तर त्यति जटिल छैन । सुरुमा प्रस्तुत गरिएको आम्दानीको हिसाब राम्रोसँग बुझ्नुभएको छ भने निर्माताको वास्तविक आम्दानी अनुमान गर्न पनि धेरै गाह्रो पर्दैन ।
०००
फिल्म उद्योग संसारभर नै जोखिमपूर्ण मानिन्छ । तर विकसित फिल्म उद्योग भएका देशहरूमा निर्माता आफू सुरक्षित रहने विभिन्न आर्थिक माध्यम तय गरेर अघि बढ्ने गर्छन् ।
ओटीटी अधिकार, स्याटेलाइट तथा टेलिभिजन राइट्स, डिजिटल स्ट्रिमिङ, विदेश प्रदर्शन अधिकार, ब्रान्ड सहकार्य, म्युजिक राइट्स, युट्युब आम्दानी, वितरण सम्झौता र अग्रिम लगानीजस्ता स्रोतहरूले रिलिजअघि वा रिलिजपछि पनि निर्मातालाई ठूलो सहारा दिने गर्छन् ।
तर नेपालमा अवस्था त्यति सहज छैन । सामाजिक सञ्जाल र मिडियामा देखाइएजस्तो यहाँ फिल्मबाट सजिलै करोडौं आम्दानी हुँदैन । केही सुपरहिट फिल्महरूले राम्रो व्यापार गरे पनि ‘हिट’ र ‘ब्लकबस्टर’ भनिएका धेरै फिल्महरूको वास्तविक कमाइ अपेक्षाअनुसार हुँदैन । बाहिर प्रचार हुने कलेक्सन र निर्माताको हातमा पुग्ने वास्तविक रकमबीच ठूलो अन्तर छ ।
यति हुँदाहुँदै पनि नेपालमा फिल्म निर्माण भने रोकिएको छैन । धेरै निर्माता फिल्म बनाएर उँभो होइन, उधोतिर गइरहेका छन् । कोही ऋणमा डुबिरहेका छन्, कोही भएको जायजेथा बेचेर ऋण तिरिरहेका छन् । कतिपयको अवस्था भागाभागसम्म पुगेको छ ।
आखिर किन बन्दैछन् फिल्म ? कसले र किन यति ठूलो जोखिम उठाइरहेको छ ? निर्माता सुरुमै सबै बुझेर फिल्म बनाइरहेका छन् कि फिल्म बनाएपछि मात्रै यथार्थ थाहा पाइरहेका छन् ?
यी प्रश्न गम्भीर छन् । तर यिनलाई बेवास्ता गर्दै अघि बढ्ने हो भने नेपाली फिल्म उद्योगमा धेरै निर्माताको रुवाबासी अझै लामो समयसम्म जारी रहनेछ । उद्योगको वास्तविक स्तरोन्नति पनि कठिन हुनेछ ।
अझ रोचक कुरा के छ भने यहाँ बन्न लागेका फिल्महरूको चर्चा धेरै हुन्छ, तर बनेर थला परेका निर्माताको कथा खासै बाहिर आउँदैन । त्यसैले नयाँ–नयाँ अनुहार आकर्षित भएर फिल्म उद्योगमा प्रवेश गरिरहेका छन् ।
०००
नेपाली फिल्म क्षेत्रमा लगानी गर्ने निर्माता मुख्यतः दुई प्रकारका देखिन्छन् । एकथरी यस्ता छन्, जसले यो क्षेत्र राम्रोसँग बुझेका छन् र वर्षौंदेखि निरन्तर फिल्म निर्माण गरिरहेका छन् । अर्काथरी भने सुनेको भरमा, अरूको प्रभावमा वा उक्साहटमा लगानी गर्ने निर्माता हुन्, जसलाई फिल्म उद्योगको वास्तविकता खासै थाहा हुँदैन ।
सधैं नयाँ–नयाँ निर्माता फिल्म क्षेत्रमा प्रवेश गरिरहेका छन् । तर उनीहरू किन आइरहेका छन्, के अपेक्षा लिएर आइरहेका छन् र पछि उनीहरूको अवस्था कस्तो भइरहेको छ भन्ने विषयमा पर्याप्त बहस र गम्भीर छलफल भने कमै हुने गरेको छ ।
एउटा निर्माता एक वा दुई फिल्ममा डुबिसकेपछि फेरि फर्किएका उदाहरण निकै कम छन् । तर कतिपय निर्देशक, लेखक वा फिल्मकर्मीले ‘फिल्मबाट करोडौं कमाइ हुन्छ’, ‘अरूले कमाएका छन्, हामी पनि कमाउन सक्छौं’, ‘लगानी डुब्दैन’ जस्ता कुरा गरेर नयाँ लगानीकर्तालाई उत्साहित बनाइरहेका हुन्छन् । यही कारणले पनि नयाँ–नयाँ निर्माता लगातार भित्रिरहेका छन् ।
फिल्म क्षेत्रलाई नजिकबाट बुझेका मानिसहरूले यस क्षेत्रमा आउन चाहने लगानीकर्तासँग यथार्थ लुकाउनु हुँदैन । झुटो सपना देखाएर होइन, वास्तविक अवस्था स्पष्ट रूपमा राखेर मात्रै स्वस्थ फिल्म उद्योग निर्माण गर्न सकिन्छ ।
स्क्रिप्ट राइटर प्रदीप भारद्वाज भने नयाँ–नयाँ निर्माता फिल्म क्षेत्रमा आइरहेको अवस्थालाई स्वाभाविक रूपमा लिन्छन् । उनका अनुसार समयसँगै परिवर्तन स्वीकार नगर्नेहरूलाई समयले आफैं परिवर्तन गरिदिन्छ, चाहे त्यो व्यापार होस्, राजनीति होस् वा कला–साहित्य र सिनेमा ।
‘आजका पुराना निर्माता पनि कुनै समय नयाँ नै थिए’ उनी भन्छन्, ‘उनीहरूले त्यतिबेला चलिरहेको लिक छाडेर नयाँ बाटो रोजे । पछि त्यही बाटोमै यति लामो समय हिँडे कि त्यो लिक कहिले पुरानो भइसक्यो भन्ने समेत थाहा पाएनन् ।’
भारद्वाजका अनुसार प्रत्येक कालखण्डमा नयाँ निर्माता आउने र पुराना बाहिरिने क्रम चलिरहन्छ । त्यसैले नेपाली फिल्म क्षेत्रमा नयाँ लगानीकर्ता भित्रिनुलाई उनी अस्वाभाविक मान्दैनन् ।
यता फिल्म लेखक तथा निर्देशक मनोज पण्डित भने फरक धारणा छ । निरन्तर नयाँ निर्माता आइरहेको देखिए पनि यस विषयमा गम्भीर बहस नहुनु आश्चर्यजनक भएको पण्डित बताउँछन् । ‘निर्माता डुबिरहेका छन्, अधिकांशले उद्योगको वास्तविकता राम्ररी बुझेका पनि हुँदैनन्, तर फेरि नयाँ–नयाँ निर्माता आइरहेका छन्’ उनी भन्छन्, ‘यो अचम्मलाग्दो अवस्था हो ।’
यस विषयमा खोजी गर्ने जिम्मेवारी फिल्म पत्रकारिताको पनि रहेको पण्डितको तर्क छ । फिल्म पत्रकारिताले कति सत्य र तथ्य प्रस्तुत गरिरहेको छ ? भन्ने कुरा पनि हुन्छ’ पण्डित भन्छन्, ‘यदि वास्तविक अवस्था स्पष्ट रूपमा बाहिर आएको भए सायद यति धेरै भ्रम सिर्जना हुने थिएन ।’
नेपालका सफल फिल्म निर्माताका रूपमा चिनिएका रविन्द्रसिंह बानियाँ पनि फिल्म उद्योगको यथार्थ धेरैले नबुझेको बताउँछन् । उनका अनुसार बाहिर सुनिने ‘कलेक्सन’ र निर्माताको वास्तविक आम्दानीबीच ठूलो अन्तर छ ।
‘सामान्य रूपमा १० करोड ग्रस कलेक्सन हुँदा निर्माताको हातमा करिब ३ करोडजति मात्र आउँछ । एक वर्षसम्म फिल्म बनाउन गरेको दुःख, ऋणको ब्याज र अन्य खर्च जोड्दा यो उद्योगको वास्तविक तस्वीर त्यति आकर्षक छैन’ उनी भन्छन् ।
नेपाली फिल्म उद्योग धेरै हदसम्म ‘रहर’ले चलिरहेको उनी बताउँछन् । ‘कसैलाई सेलिब्रेटीसँग उठबस गर्नुछ, कसैलाई सम्बन्ध विस्तार गर्नुछ, कसैले विदेश पठाउने उद्देश्य राखेका हुन्छन्, कसैले व्यक्तिगत स्वार्थका लागि फिल्ममा लगानी गर्छन्’ बनिया भन्छन्, ‘यही कारणले पनि नयाँ–नयाँ निर्माता आइरहेका छन् ।’
बानियाको बुझाइमा फिल्म उद्योगमा लगानी गर्नु सामान्य व्यापारभन्दा बढी जोखिमपूर्ण छ । रेस्टुरेन्ट डुब्यो भने कम्तीमा टेबल, कुर्सी, फ्रिज बेचेर केही रकम उठाउन सकिन्छ । तर फिल्म डुब्यो भने अन्तिममा एउटा हार्डडिस्क मात्रै बाँकी रहने बानिया बताउँछन् ।
‘यदि फिल्म उद्योगमा यति धेरै नाफा हुन्थ्यो भने ठूला व्यवसायिक घराना वा अर्बपति व्यवसायी किन यो क्षेत्रमा खुलेर लगानी गरिरहेका छैनन् ?’ उनी प्रश्न गर्छन् । फिल्म उद्योगमा सफल हुने सम्भावना अत्यन्त कम रहेको बानिया स्वीकार गर्छन् । ‘जुवामा त केही खेल जित्ने सम्भावना हुन्छ, तर नेपाली फिल्म उद्योगमा सफल हुने सम्भावना ५ प्रतिशत पनि छैन’ उनी भन्छन् ।
जबसम्म वास्तविकता स्पष्ट रूपमा बाहिर आउँदैन, तबसम्म भ्रमका आधारमा नयाँ निर्माता भित्रिने क्रम नरोकिने उनको बुझाइ छ ।
०००
नेपालमा हरेक वर्ष करिब ७० देखि १०० हाराहारीमा फिल्म निर्माण हुने गरेको देखिन्छ । तर तीमध्ये अत्यन्त कम मात्रै व्यवसायिक रूपमा सफल हुन्छन् । बजारको वास्तविकता हेर्दा ५ देखि ८ प्रतिशत चलचित्रले मात्र लगानी उठाउने अवस्था देखिन्छ । बाँकी अधिकांश चलचित्र घाटामा जान्छन् । यस्तो अवस्थामा एउटा प्रश्न बारम्बार उठ्नुपर्ने थियो– लगानी डुब्ने सम्भावना यति धेरै हुँदा पनि किन निर्माता फिल्म बनाउन आउँछन् ?
नेपालमा सधैं पुराना र अनुभवी निर्माताले कमै मात्रामा दोहोरिएर लगानी गरिरहेको देखिन्छ । नयाँ रिलिज हुने अधिकांश चलचित्रमा नयाँ अनुहारका निर्माता भेटिन्छन् । धेरैजसो निर्माता कुनै सफल चलचित्रको चमक देखेर आकर्षित हुन्छन् । एउटा–दुईवटा ब्लकबस्टर चलचित्रले ‘फिल्ममा पैसा छ’ भन्ने भ्रम सिर्जना गर्छ । तर वास्तविकता निकै कठोर हुन्छ । एउटा चलचित्र असफल हुँदा निर्माता सामान्य घाटामा मात्रै पर्दैनन्, धेरैजसो अवस्थामा १ देखि ३ करोडसम्म नोक्सानी व्यहोर्नुपर्छ ।
नेपालजस्तो अर्थतन्त्र भएको देशमा यो रकम सानो होइन । कतिपय निर्माता त्यसपछि जीवनभर फिल्म क्षेत्रमा फर्किन सक्दैनन् । कतिपय फर्किए पनि उनीहरूको अवस्था दयनीय हुन्छ ।
०००
नेपालमा फिल्मको लगानी सुरक्षित छैन । यसको मुख्य कारण व्यवस्थित बजारको अभाव हो । देशभर पर्याप्त सिनेमा हल छैनन् । भएका हलमा पनि नेपाली फिल्मले लामो समयसम्म शो पाउन संघर्ष गर्नुपर्छ । विदेशी, विशेषगरी हिन्दी र दक्षिण भारतीय फिल्मको प्रभाव नेपाली बजारमा अत्यधिक छ । अर्कोतर्फ, दर्शकको रुचि तीव्र रूपमा बदलिँदै गएको भए पनि धेरै नेपाली फिल्मकर्मीले आफूलाई त्यसअनुसार पूर्णरूपमा रूपान्तरण गर्न सकेका छैनन् ।
कतिपय निर्माता ग्ल्यामर, चर्चा, रेड कार्पेट, पोस्टरमा आफ्नो नाम देख्ने चाहना वा फिल्म क्षेत्रको आकर्षणका कारण निर्माणमा प्रवेश गर्छन् । तर फिल्म केवल रहरले होइन, गहिरो अध्ययन, बजारको बुझाइ र स्पष्ट रणनीतिसहित निर्माण गर्नुपर्ने व्यवसाय पनि हो । भावनात्मक निर्णयका आधारमा गरिएको लगानी धेरैजसो जोखिमपूर्ण बन्ने गरेको देखिन्छ ।
विश्वका अन्य फिल्म उद्योगसँग तुलना गर्दा नेपालको अवस्था अझ स्पष्ट देखिन्छ । हलिउड, बलिउड वा दक्षिण भारतीय फिल्म उद्योगमा पनि धेरै फिल्म असफल हुन्छन् । तर त्यहाँको बजार विशाल छ, वितरण प्रणाली बलियो छ, डिजिटल प्लेटफर्म विकसित छन् र अन्तर्राष्ट्रिय पहुँच व्यापक छ । एउटा फिल्म असफल हुँदा पनि निर्मातासँग जोखिम व्यवस्थापन गर्ने विभिन्न विकल्प हुन्छन् ।
नेपालमा भने बजार सानो छ, लगानीको स्रोत सीमित छ र दर्शक संख्या पनि कम छ । अझै धेरै निर्माता व्यवसायिक योजनाभन्दा भावनात्मक निर्णयका आधारमा फिल्ममा लगानी गरिरहेका छन् ।
यही कारण धेरै निर्माता एकपटक असफल भएपछि फेरि फर्किन सक्दैनन् । पुराना निर्माता हराउँदै जानु, नयाँ निर्माता लगातार आइरहनु र फिल्मको वास्तविक आम्दानी वा नाफाघाटाको स्पष्ट तथ्य बाहिर नआउनुले पनि उद्योगप्रति भ्रम सिर्जना गरिरहेको कतिपय फिल्मकर्मी बताउँछन् ।
केहीको आरोप छ– सत्यभन्दा बढी व्यक्तिगत स्वार्थ र सम्बन्धका कारण यस्ता संवेदनशील विषय खुला रूपमा उठाइँदैनन् ।
प्रतिक्रिया 4