+
+
Shares

काम, काम, काम

युवा जनसङ्ख्याको लाभ निकै भएको देशमा हरेक मानिसले ‘काम चाहियो, काम चाहियो’ भन्नु आफैँमा सकारात्मक पक्ष हो । कामप्रति यत्तिको आसक्ति हुनु मुलुक निर्माणको लागि अमूल्य पुँजी हो ।

निष्णु थिङ निष्णु थिङ
२०८३ जेठ ३ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने वाचा गरेको छ जसमा बाध्यात्मक पलायन घटाउने लक्ष्य राखिएको छ।
  • त्रिवि मानवशास्त्र विभागले ३५ जातजातिको २४ घण्टाको समय खर्च अध्ययन गर्दै कामको अभाव र अनियमित रोजगारीको अवस्था देखाएको छ।
  • सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा रोजगारी प्रवर्द्धनका लागि औद्योगिक नीति परिमार्जन र रिमोट वर्क नीति लागू गर्ने योजना बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत आम निर्वाचनअगाडि एकपाने नागरिक करार सार्वजनिक गरेको थियो । सो करारपत्र तीन महले छ । पहिलो महलमा प्राथमिकता, दोस्रोमा आजको अवस्था र तेस्रोमा हाम्रो लक्ष्य उल्लेख छ । सो एक पृष्ठको करारको प्राथमिकताको बुँदा नम्बर ३ मा ‘काम, काम, काम’ शीर्षक उल्लेख छ ।

सो बुँदामा आजको अवस्थामा ‘अनौपचारिक, न्यून ज्याला र उच्च बेरोजगारी; दैनिक ३,३०० भन्दा बढी युवा पलायन’ र हाम्रो लक्ष्यमा ‘बाध्यात्मक पलायन घटाउन औपचारिक, सम्मानित, सुरक्षित र समावेशी १२ लाख नयाँ रोजगारी सिर्जना’ उल्लेख छ । त्यस्तै, प्राथमिकताका क्षेत्रमा ‘आईटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापार’ उल्लेख छ ।

सो करारको तल ‘तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्तहरू ‘डेलिभरी’ सहित ५ वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा… अर्को पटकको निर्वाचनमा सजाय दिई असुलउपर गरी लिनुहोला’ भनी वाचा गरिएको छ । यसरी तमसुक कागजमा दुवै बुढी औँलाको दायाँ-बायाँ छाप गरी सार्वजनिक गरिएको थियो ।

समय अध्ययनको प्रसङ्ग

सन् २०२२ मा त्रिवि मानवशास्त्र विभाग, इस्ट-वेस्ट सेन्टर हवाई र पर्ड्यु विश्वविद्यालय अमेरिकाको सहकार्यमा ‘नेपालमा ३५ वटा जातजातिले आफ्नो चौबिस घण्टा समय कसरी बिताउँछन् वा खर्च गर्छन् ?’ भन्ने विषयमा विस्तृत अध्ययन गरिएको थियो । त्यो अनुसन्धान परियोजनाको शीर्षक ‘स्टेट अफ सोसल इन्क्लुजन : अ स्टडी अफ टाइम अलोकेसन’ थियो ।

यो अनुसन्धान यही विभागले सन् २०१२ मा गरेको ‘स्टेट अफ सोसल इन्क्लुजन इन नेपाल’ अध्ययनमा आधारित र त्यसको उच्च रूप थियो; त्यही अध्ययनको दोस्रो भाग नै थियो ।

ती ३५ वटा जातजाति बागमती र मधेस प्रदेशबाट छनोट गरिएका थिए । छनोटका आधारमा सबैभन्दा गरिब र धनीलाई राखिएको थियो । सँगसँगै हिमालदेखि तराई-मधेससम्मका जातजातिहरू पनि थिए । हिमाल, पहाड र तराई-मधेसमा विभिन्न जातजाति र वर्गका मानिसहरूले आफ्नो चौबिस घण्टा कसरी खर्च गर्छन् भन्ने बुझ्न छनोट गरिएका जातजातिमा पहाडे ब्राह्मण, नेवार, कायस्थ, गुरुङ, दराई, कलवार, हलवाइ, तराई ब्राह्मण, राजपुत, घर्ती/भुजेल, जिरेल, तामाङ, बनिया, क्षेत्री, बन्तर, धानुक, चेपाङ, दमाई, बरइ/कमार, कुम्हार, धोबी, केवट, तत्मा, कामी, हायु, मलाहा, डोम, खत्वे, बिन, नुनिया, चमार, पासवान र मुसहर थिए ।

पङ्क्तिकार सो अनुसन्धान परियोजनामा आबद्ध भएर मधेसका सातवटा गाउँ- मुसहर (सिरहा), कायस्थ, तत्मा र धानुक (धनुषा) र पासवान, मलाहा र कुम्हार (सर्लाही) जातजातिका गाउँ-गाउँ गएको थिएँ । उनीहरूसित अन्तर्वार्ता, विषयकेन्द्रित छलफल, गाउँको अवलोकन, छानिएका व्यक्तिको प्रत्येक घण्टाको विवरण सङ्कलन, महिला र पुरुषको दैनिकीको अध्ययन एवं समग्र उनीहरूको जीवनकै अध्ययन गरिएको थियो ।

प्रश्नावली फाराममा उत्तर भर्ने, कुन सिजनमा कस्तो-कस्तो काम र रोजगारीको स्थिति छ भन्ने बुझ्ने र ती जातजातिका मानिसको मौसमी क्यालेन्डर बनाउने कामसमेत गरेको थिएँ । समग्रमा यो अनुसन्धानमा उनीहरूले बिताउने २४ घण्टाको अध्ययन गर्दै मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवस्थाको पनि विश्लेषण गरिएको थियो ।

प्रत्येक गाउँहरूमा गएर जो-जोसँग भेटघाट, छलफल, अन्तर्क्रिया र अन्तर्वार्ता गरियो, त्यहाँ सबैभन्दा बारम्बार उठेको प्रश्न थियो- ‘उनीहरूलाई पर्याप्त काम छैन ।’ हरेक जातजातिका मानिसहरू गाउँमा कामको अभाव भएको गुनासो गर्दथे । गाउँघरमा पाउने सामान्य कृषि मजदुरी, ज्याला, खेत अधियाँ, ठेक्का, घर मिस्त्री, श्रमिकलगायत सामान्य स्थानीय स्तरमा पाइने काम नै गरेर आफ्नो चौबिस घण्टा बिताएको बताउँथे ।

अनियमित र मौसमी काम गर्ने अनि बाँकी घरायसी काममै समय बिताउने गरेको उनीहरूले बताएका थिए । ती कामहरू कुनै नियमित, सरकारी, औपचारिक प्रकृतिका नभई मौसमी र कहिलेकाहीँ मात्रै पाइने प्रकारका थिए ।

सरदर वर्षकै दस-बाह्र लाख नै रोजगारी चाहिने देशमा रास्वपाले पाँच वर्षमा बाह्र लाख रोजगारी सिर्जना गर्ने घोषणा आफैँमा राम्रो हुँदाहुँदै पनि अपर्याप्त देखिन्छ । भारी अपेक्षासहित बलियो सरकारको लागि जनमत लगानी गरेकाले त्यो मत लगानी खेर जान नदिन सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन

जसको पनि एउटै गुनासो हुन्थ्यो, ‘पर्याप्त काम नै छैन ।’ जेजति काम स्थानीय स्तरमा पाउँछन्, त्यसले गुजारा चलाउनसमेत धौधौ भएको उनीहरू सुनाउँथे । मुसहर बस्तीको दृश्यले मलाई सबैभन्दा बढी छोयो । मुसहरहरू जसको आफ्नो खासै जग्गाजमिन थिएन, मुस्किलले घडेरी मात्रै थियो; उनीहरू हरेक साँझ र बिहान कामको लागि को खोज्न आउला भनेर प्रतीक्षा गरेर बस्दा रहेछन् । मूलतः उनीहरू कृषि मजदुर थिए, जसको रोजीरोटी कृषिमा प्रयोग हुने औजार, यान्त्रिकीकरण र आधुनिकीकरणले खोस्दै गरेको दृश्य मैले प्रत्यक्ष देखेको थिएँ ।

‘सरकारले पर्याप्त कामको व्यवस्थापन गरोस्’ भन्ने धेरैको आशय हुन्थ्यो । यसले हाम्रा गाउँ र सहर दुवैतिर कामको निकै माग रहेको देखाउँछ । यी माथि उल्लिखित सबै गाउँघरमा ‘काम, काम, काम’ को व्यापक माग थियो ।

नयाँ रोजगारीको सिर्जना

रास्वपाले पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने वाचापत्रमा वाचा गरेर अहिले एकलौटी सरकार बनाएको छ । यो घोषणा प्रतिवर्ष दुई लाख चालिस हजार रोजगारी सङ्ख्या हुन जान्छ । अहिले नेपालमा सरदर पाँच लाख जनशक्ति श्रम बजारमा आउँछन् । ती सबैले काम पाउने कुरै भएन । स्वयं रास्वपाले प्रतिदिन देश छाडेर जाने सङ्ख्या ३,३०० उल्लेख गरेको छ ।

यही सङ्ख्यालाई मासिक र वार्षिक गणना गर्दा ९९ हजार र ११ लाख ८८ हजार हुन जान्छ । यसले हाम्रो देशको श्रम बजारको स्थिति स्पष्ट पार्दछ । श्रम बजारमा देखिएको माग र आपूर्तिको बिचमा सोचिएभन्दा बढी दूरी (ग्याप) छ । रोजगारीको लागि देश छाडेर बाहिरिनेको सङ्ख्या अझ बढी नै छ । हाम्रो सरकारको तथ्याङ्कले मात्रै त्यसको वास्तविक चित्र पेस गर्न सक्दैन ।

देशभित्रै श्रम बजारमा परेको दबाबलाई सम्बोधन गर्न अहिलेको सरकारले वाचा गरेको सङ्ख्या नै निकै न्यून छ । रास्वपाले वाचा गरेको रोजगारी सिर्जनाको सङ्ख्या नै करिब आधा हिस्सा मात्रै हो । सरकारलाई श्रम बजारको आयतन वृद्धि गर्न चुनौतीपूर्ण अवस्था छ । श्रम बजारलाई वृद्धि गर्दा दुईवटा चुनौतीहरू आउनेछन् । पहिलो, रोजगारीको अवसर सिर्जना र दोस्रो, सिर्जित रोजगारीले यहाँको महँगीलाई सम्बोधन गर्न सक्छ कि सक्दैन ?

काम नपाउनुभन्दा काम पाउनु आफैँमा राम्रो पक्ष हो तर त्यसले उनीहरूको जीवन-गुजारा सहजै चल्छ कि चल्दैन ? त्यो चाहिँ मुख्य प्रश्न हो । सरकारी रोजगारीले दस प्रतिशत मागलाई आपूर्ति गर्न पनि सकिँदैन । सरकारीभन्दा बाहेक रोजगारी व्यापक वृद्धि गर्न सानोतिनो प्रयासले सम्भव छैन ।

विगतदेखिकै निरन्तरता हो, सरकारले शिक्षित युवालाई देशभित्र रोक्ने किसिमले व्यवस्थापन गर्न सकेको छैन । खर्चिलो शिक्षा प्रणालीबाट लामो समयको पैसा, जवानी र बौद्धिकताको लगानीमार्फत आर्जित डिग्रीबापत हाम्रा श्रम बजारमा उपलब्ध रोजगारी अहिलेको परिवेश सुहाउँदो तलबमानको छैन । रोजगारीको एउटा महत्त्वपूर्ण क्षेत्र ‘संस्थागत विद्यालय’ मा उपलब्ध रोजगारी हो । त्यहाँ विद्यार्थीको शुल्क जति छ, त्योभन्दा निकै कम शिक्षकले पाउने ज्याला छ । न त त्यसका लागि सामाजिक सुरक्षा नै लागु गरिएको छ ।

सहर केन्द्रित अवसर

रास्वपाले वाचापत्र र नीति तथा कार्यक्रममा वाचा गरेअनुसार काम कति गर्छ ? त्यसले नै यस पार्टीलाई पुराना पार्टीभन्दा अलग पहिचान र ओज दिनेछ । साथै, यो पार्टीको दीर्घायु पनि यसैमा टिक्नेछ

हाम्रा सहरहरू शक्ति, स्रोत र अवसरको अति केन्द्रीकरणको लामो अभ्यासले गर्दा गाउँहरू रित्याउने औजार बने । सबै अवसरहरू सहरमै मुठ्याएर राखेपछिको स्थिति नै विद्यमान काठमाडौँ उपत्यका हो । धेरथोर अरू सहरहरू पनि हुने नै भए । सहरमा चाहिनेभन्दा बढी भिड लाग्ने, हाम्रा डाँडापाखाहरू र दूरदराजका गाउँहरू खाली गर्ने असन्तुलित विकासको नीतिले गर्दा अहिले सयौँ वर्षको इतिहास बोकेका गाउँहरू निर्जन बस्ती भएका छन् ।

२०७० सालमा पङ्क्तिकार पाँचथरको सदरमुकाम पुग्दा एक जना नेपाली काङ्ग्रेसका पूर्वसांसदले सुनाएका थिए, ‘गाउँमा लास बोक्ने र मलामी जाने युवाहरूको अभाव परिसक्यो ।’ सहरहरू जनसङ्ख्याको अत्यधिक भिड र चापले विस्फोट हुने स्थितिमा पुगे भने गाउँहरू अस्तित्व नै गुमाउने अवस्थामा छन् । जनसङ्ख्याको चाप काठमाडौँ उपत्यका र तराई-मधेसका फाँटमा निकै पर्दै आएको छ । जनसङ्ख्यालाई पुनर्वितरण, पुनर्सन्तुलन र पुनर्व्यवस्थापन गर्न अति नै आवश्यक भइसक्यो ।

त्यसको लागि सरकारले नयाँ रोजगारी सिर्जना गर्दा प्याकेजमै नीति, योजना र कार्यक्रम बनाउनुपर्छ । गाउँकेन्द्रित अवसरहरू निर्माणमा सरकारले ठोस योजना बनाउन सके त्यसले एकैपटक दुईवटा कामहरू गर्न सक्छ । पहिलो, भिडभाड सहरलाई पातलो र दोस्रो, निर्जन गाउँबस्तीलाई गुल्जार बनाउने । मान्छे नयाँ अवसर र सुविधाको खोजीमा हिँडिरहने प्राणी हो । मानव सभ्यताको इतिहासले त्यही तथ्यलाई उजागर गर्दछ ।

सहरमा पाइने सबै सुविधाहरू गाउँमै पाउने भए, साथमा थप प्रोत्साहन व्यवस्था गर्न सके मानिसहरू सजिलै आफ्नै थातथलोमा फर्किनेछन् । सरकारले भर्खरै बागमती र मनोहरा किनारामा रहेका बस्तीलाई लाखौँ खर्च गरेर भत्काउनुपर्‍यो । यतिबेला देशव्यापी रूपमै सुकुम्बासी र हुकुम्बासीको बहस तीव्र चलिरहेको छ । उनीहरूका घर भत्काउनु जायज हो कि अन्याय ? समाज दुई कित्तामा विभाजित भएको छ ।

वास्तविक सुकुम्बासी र हुकुम्बासीको सङ्ख्या सरकारले लगत सङ्कलन गरेपछि सार्वजनिक होला । तर थापाथली, गैरीगाउँ, मनोहरालगायत विभिन्न ठाउँमा आएर बसेका मानिसहरू सहरमा विभिन्न अवसरहरू खोज्दै आएका हुन् । यदि उनीहरूलाई बसेकै गाउँमा विगतका सरकारले सबै आधारभूत सुविधा, अवसर, स्रोत र शक्ति पनि हस्तान्तरण गरेको भए अनावश्यक रूपमा सहरमा यसरी मानिसहरू थुप्रिने थिएनन् ।

अब यो बलियो रास्वपाको सरकारले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नबाट चुक्नु हुँदैन । गल्फका विभिन्न देशमा जानेहरूले बताएअनुसार उनीहरूले सरदर चालिस-पचास हजार कमाउँछन् । जाँदाको ऋण, आफ्नो खर्च र घरपरिवार सबै कटाएर मुस्किलले बिस हजार बचत गर्छन् । यदि गाउँमै पन्ध्र-बिस हजारको रोजगारी पाउने हो भने विदेश जानुभन्दा गाउँमै बसेको फाइदा हुन्छ भन्ने गर्छन् ।

परियोजना आह्वान

चीनको जनसङ्ख्या विश्वकै दोस्रो ठूलो छ । तर जनसङ्ख्याको वितरण भने असन्तुलित रहेको छ । मूलतः तटीय क्षेत्र, पूर्वी भाग र सहरमा ठूलो जनसङ्ख्याको बसोबास छ । त्यहाँको पश्चिमी भूभाग खाली-खाली जस्तै छ; थोरै जनसङ्ख्या मात्रै छ । त्यसैले, ती निर्जन इलाकाहरूमा आफ्ना जनसङ्ख्याको पुनर्वितरण गर्न चीन सरकारले राम्रा-राम्रा योजना ल्याएको छ ।

सडक सञ्जाल, यातायात, बुलेट रेल, विद्युत्, शिक्षा, स्वास्थ्य, व्यापार-व्यवसाय, कृषिलगायत सबै सुविधाहरू सरकारले रातारात निर्माण गरेर आफ्नो पूर्वी तटीय क्षेत्रमा केन्द्रित जनसङ्ख्यालाई पश्चिमी क्षेत्रमा बसाइँसराइ गर्न प्रोत्साहित गरिरहेको छ । युवाहरूलाई सरकारले परियोजना आह्वान गर्छ, तिनीहरूको परियोजना प्रस्तावलाई सरकारका सबै अङ्गले सघाउँछन् ।

रास्वपाले घोषणा गरेको पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना झट्ट सुन्दा महत्त्वाकाङ्क्षी लाग्छ । नेपाली समाजमा मानिसहरू जसरी कामको माग गरिरहेका छन्, त्यो हेर्दा १२ लाख रोजगारी ‘हात्तीको मुखमा जिरा’ जस्तो हुन्छ

ग्रामीण उद्यमशीलतालाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी राखिँदैन । प्रस्तावित अवधारणामा विज्ञ, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ताले सहयोग गरेर भरपर्दो ‘सोचपत्र’ (भिजन पेपर) मा परिणत गराउँछन् । आवश्यक लगानी, बजार, जनशक्ति, तालिम र आधारभूत पूर्वाधारमा सबै सहयोग सरकारले गर्छ । कुनै युवा उद्यमी असफल हुनुलाई त्यहाँ समग्रमा सरकारको असफलताकै रूपमा लिइन्छ । त्यसैले त्यहाँ असफल हुने छुट सजिलो छैन । केही गरी कुनै व्यवसायी डुबे पनि राज्यले उद्धार गरिदिन्छ ।

हाम्रोमा पनि ‘स्टार्टअप’ व्यवसायमा लगानी सुरु हुन थालेको छ । भर्खरै दुई-तीन वर्ष हुन थाल्यो । तर हाम्रो सरकारले सुरु गरेको स्टार्टअप र चीनले सञ्चालन गर्ने नीतिमा आधारभूत भिन्नता छ ।

हाम्रोमा अवधारणा हेर्छन्, त्यसमा सानो लगानी गर्छन् (धितोमा) तर प्रक्रियामा कुनै मद्दत हुँदैन । उत्पादन भइसकेपछि त्यसलाई बजारीकरण गर्न राज्यले कुनै भूमिका खेल्दैन । केही कारणले व्यक्ति टाट पल्टिएमा राज्यले उसलाई भरथेग गर्नुभन्दा जायजेथा लिलामी गर्छ र उठिबास नै गराउँछ ।

नीति तथा कार्यक्रम

सरकारले भर्खरै संसद्‌मा आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सयवटा बुँदामा प्रस्तुत सो नीति तथा कार्यक्रममा ३३, ४१ र ४४ नम्बरको बुँदाले रोजगारीसम्बन्धी सरकारको दृष्टिकोण स्पष्ट पारेको छ । त्यसैगरी, ६९औँ बुँदाले अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजनालाई प्रस्तुत गरेको छ ।

बुँदा ३३ मा ‘औद्योगिक नीति, २०६७ परिमार्जन गर्ने र राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने’ उल्लेख छ । त्यसमा ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ नामक संस्थागत संरचनाको व्यवस्था गर्ने घोषणा छ । बुँदा ४१ मा, ‘नयाँ रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ ।

कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय एप्रेटिन्ससिप कार्यक्रम गरिनेछ । नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्टमार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइनेछ’ भन्ने उल्लेख छ ।

त्यसैगरी, वि.सं. २०८३/०८४ देखि २०९२/०९३ को दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गर्ने उल्लेख छ । बुँदा ६९ मा व्यक्त भएअनुसार मध्यपहाडी लोकमार्ग आसपासका सहरलाई नयाँ आर्थिक सम्भावनायुक्त बनाउने उद्घोष छ ।

निष्कर्ष

रास्वपाले घोषणा गरेको पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना झट्ट सुन्दा महत्त्वाकाङ्क्षी लाग्छ । नेपाली समाजमा मानिसहरू जसरी कामको माग गरिरहेका छन्, त्यो हेर्दा १२ लाख रोजगारी ‘हात्तीको मुखमा जिरा’ जस्तो हुन्छ । रास्वपाको वाचापत्रमा उल्लेख भएअनुसार प्रतिदिन बाहिरिनेको सङ्ख्या ३,३०० का दरले वार्षिक करिब १२ लाख युवा रोजगारीको लागि जाने गरेको देखिन्छ ।

युवा जनसङ्ख्याको लाभ निकै भएको देशमा हरेक मानिसले ‘काम चाहियो, काम चाहियो’ भन्नु आफैँमा सकारात्मक पक्ष हो । कामप्रति यत्तिको आसक्ति हुनु मुलुक निर्माणको लागि अमूल्य पुँजी हो । रोजगारीले रोजगारी नै सिर्जना गर्ने भएकाले सरकारले वाचा गरेको वचन पूरा गर्ने बेला आएको छ ।

रास्वपाले वाचापत्र र नीति तथा कार्यक्रममा वाचा गरेअनुसार काम कति गर्छ ? त्यसले नै यस पार्टीलाई पुराना पार्टीभन्दा अलग पहिचान र ओज दिनेछ । साथै, यो पार्टीको दीर्घायु पनि यसैमा टिक्नेछ ।

एकलौटी सरकार, युवा प्रधानमन्त्री र विश्वचर्चित अर्थशास्त्री नै अर्थमन्त्री पाउनुजति अनुकूलता पहिले प्राप्त भएको थिएन । तर रास्वपा सरकारले पहिलो पटक जेठ १५ गते पेस गर्ने बजेटले त्यसको निर्क्यौल गर्नेछ । नीति तथा कार्यक्रममा व्यक्त कार्यक्रमलाई बजेटले कसरी विशिष्टीकरण गर्छ ? कार्यान्वयन कसरी गर्छ ? संस्थागत संरचना कस्तो बनाउँछ ? ती संस्थाहरूको नेतृत्व कसले गर्छ ? कुन बाटोबाट, कसरी र कुन साधनले यात्रा गर्दै छ ? त्यो हेरेपछि गन्तव्यमा पुग्छ कि पुग्दैन भनेर अनुमान गर्न सकिनेछ ।

‘रिमोट वर्क नीति’ आकर्षक देखिन्छ; विगतमा ‘वर्क फ्रम होम’ जस्ता नीति पनि परीक्षण भइसकेको हो । दक्ष जनशक्ति निर्माणमा सरकारले कसरी काम गर्छ ? त्यसले सफलताको आकलन गर्न सकिन्छ । सरदर वर्षकै दस-बाह्र लाख नै रोजगारी चाहिने देशमा रास्वपाले पाँच वर्षमा बाह्र लाख रोजगारी सिर्जना गर्ने घोषणा आफैँमा राम्रो हुँदाहुँदै पनि अपर्याप्त देखिन्छ । भारी अपेक्षासहित बलियो सरकारको लागि जनमत लगानी गरेकाले त्यो मत लगानी खेर जान नदिन सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन ।

(लेखक नेपाल खुला विश्वविद्यालयमा अध्यापन गर्दछन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?