३ जेठ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानबीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थालाई लिएर टेलिफोन वार्ता भएको छ।
रुसको राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार, दुवै नेताहरूले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक कुराकानी जारी राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्।
एमिरेट्स न्युज एजेन्सीका अनुसार शनिबार भएको फोन वार्तामा मध्यपूर्वको पछिल्लो घटनाक्रम र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभावबारे छलफल भएको थियो। उनीहरूबीच जलमार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा यस सङ्कटले पार्ने असरका विषयमा पनि विचार आदानप्रदान भएको थियो।
साथै, दुई देशबीचको रणनीतिक साझेदारीलाई थप बलियो बनाउन द्विपक्षीय सहयोग र संयुक्त प्रयासहरूको पनि समीक्षा गरिएको थियो।
यसै क्रममा पुटिनले रुस र युक्रेनबीचको कैदी आदानप्रदानमा युएईले निरन्तर गर्दै आएको मध्यस्थता प्रयासका लागि धन्यवाद दिए। उनले युक्रेन युद्धसँग जोडिएका मानवीय मुद्दाहरूमा युएईको सकारात्मक सहयोगको पनि प्रशंसा गरे।
इरान र युएईबीच बढ्दो तनाव
अमेरिका र इजरायलसँग चलिरहेको युद्धका बीच इरानको युएईसँग पनि तनाव बढेको छ। युद्धका क्रममा इरानले आफूमाथि पटक-पटक हमला गरेको युएईको दाबी छ।
अर्कोतर्फ, हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले युएईलाई अमेरिका र इजरायलको सक्रिय साझेदार भएको संज्ञा दिँदै इरानमाथि भइरहेका हमलाहरूमा युएई प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लगाएका थिए।
यसको जवाफमा युएईले भने इरानले आफ्ना आक्रामक हमलाहरूलाई सही साबित गर्न मात्र यस्तो आरोप लगाइरहेको बताएको छ ।
प्रतिक्रिया 4