+
+
Shares

उच्च रक्तचाप ‘नदेखिने तर घातक समस्या’का रुपमा बढ्दै

ईश्वर थापा ईश्वर थापा
२०८३ जेठ ३ गते १२:१६

३ जेठ, धनकुटा । आइतबार मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस विश्वर विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप अर्थात् ‘हाइ ब्लड प्रेसर’ विश्वव्यापी स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको छ ।

नेपालमा पनि पछिल्ला वर्षहरुमा उच्च रक्तचापका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको स्वास्थ्य कार्यालय तथा अस्पतालहरुले बताउने गरेका छन् । उच्च रक्तचापलाई ‘सायलन्ट किलर’ अर्थात् विना कुनै विरामीका लक्षण एक्कासी ज्यान लिने रोगका रुपमा चिनिने गरिएको छ ।

धेरैजसो व्यक्तिमा सुरुआती अवस्थामा उच्च रक्त चापको स्पष्ट लक्षण नदेखिने गरको र समयमै नियन्त्रण नगर्दा यसले मुटुरोग, मस्तिष्कघात, मिर्गौला समस्या तथा दृष्टि कमजोर हुने जस्ता गम्भीर समस्या निम्त्याउने धनकुटा अस्पतालका प्रमुख डा. सन्दीप राईले बताए । उच्च रक्तचाप समयमै पहिचान र नियन्त्रण गर्न सकिए धेरै जटिल रोगबाट बच्न सकिने उनको भनाइ छ ।

रक्तचाप सामान्यभन्दा लगातार बढी रहनुलाई उच्च रक्तचाप भनिन्छ । सामान्यतया स्वस्थ मानिसमा १२०/८० एमएम एचजीलाई सामान्य रक्तचाप मानिन्छ भने लगातार १४०/९० वा सोभन्दा माथि पुगेमा उच्च रक्तचापको जोखिम मानिन्छ ।

नेपालमा वयस्क ४ जना मानिसमध्ये १ जनामा उच्च रक्तचापका विरामी पाइने गरेको तथ्यांक रहेको छ । उच्च रक्तचाप भएका ८० प्रतिशत मानिसलाई कुनै लक्षण नदेखिदा समस्या भयावह रहेको चिकित्सकहरु बताउँछन् । कति मानिसमा उच्च रक्त चाप रहेको छ वा यसका कारण कति मानिसको ज्यान गयो भन्ने तथ्यांक भने पाउन मुस्किल रहेको छ । किनभने अधिकाशं मानिसमा यसको समस्या रहेको बताउने गरिएको छ ।

कुनै बेला शहरमा बसोबास गर्ने मानिसमा मात्रै उच्च रक्त चापको समस्या हुने गरेको बताउने गरेपनि अहिले शहर वा गाउँ दुवैतिर यसको समस्या देखिन थालेको छ ।साइलेन्ट किलर भएकाले कसलाई उच्च रक्त चाप रहेको छ भन्ने नजाचेसम्म थाहा नहुने तर, भित्रि रुपमा मष्तिस्क, मुटु तथा मृगौलामा असर गरिरहेको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

लक्षण नदेखिदाँ समस्या बढ्दै गएको रोग भएपनि थाहा नपाएजस्तो गर्ने गरेको पाइएको डा. राईले बताए । विश्वमा नसर्ने रोग भएपनि मृत्युदर बढाउने रोग उच्च रक्तचाप रहेको उनले बताए ।

नेपालमा शहरीकरण, अस्वस्थ खानपान, तनाव, मदिरा तथा धुमपानको सेवन, शारीरिक श्रमको कमी र मोटोपनका कारण उच्च रक्तचापका बिरामी बढ्दै गएको पाइन्छ । युवापुस्तामा समेत यो समस्या बढ्न थालेको डां राइको भनाइ छ । विशेषगरी धेरै नुनिलो तथा चिल्लो खाना खाने बानी, जंक फुडको अत्यधिक प्रयोग, पर्याप्त निद्रा नहुनु र नियमित स्वास्थ्य परीक्षण नगर्नु उच्च रक्तचापको प्रमुख कारण मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ जीवनशैली, नुन कम खाने, अम्वलहरु जस्तै धुमपान र मध्यपान नगर्ने,  दैनिक आधा घण्टा पसिना आउने गरी कसरत गर्ने, चार खुट्टेको मासु नखाने तथा बजारमा पाइने तयारी खानेकुरा अर्थात जंग फुड नखाने उपाय रहेको छ । यस्तै तनाव व्यवस्थापन गर्नु र समय–समयमा रक्तचाप परीक्षण गर्नु आवश्यक हुन्छ । चिकित्सकको सल्लाहबिना औषधि सेवन रोक्नु पनि जोखिमपूर्ण हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करोडौं मानिस उच्च रक्तचापबाट प्रभावित छन्, तर धेरैलाई आफूलाई उच्च रक्तचाप भएको जानकारी नै छैन । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतना फैलाउने, नियमित परीक्षण गर्ने र स्वस्थ जीवनशैली अपनाउने सन्देश दिइँदै आएको छ ।

धनकुटा जिल्ला अस्पतालले नि:शुल्क रक्तचाप परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरेको छ । धनकुटा अस्पतालको ओपिडिमा आउने अधिकांश उच्च रक्त चापका बिरामी पाउने गरेको अस्पतालले जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?