News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्थागत सञ्चालक समितिका रिक्त पदहरूको लागि रोस्टर निर्माण प्रक्रिया आवेदन माग्ने नभई सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने अभ्यास भएको स्पष्ट पारेको छ।
- मन्त्रालयले रोस्टरलाई अनिवार्य मापदण्ड नमान्ने र यसमा नपरेका व्यक्तिहरू पनि नियुक्त हुन सक्ने बताउँदै राजनीतिक भागबण्डाबाट टाढा राख्ने प्रयास गरिने दाबी गरेको छ।
- यसपटक नियुक्ति प्रक्रिया विज्ञहरूको गोप्य, स्वतन्त्र मूल्याङ्कन समितिबाट सुझाइएको सूचीमा आधारित हुने र सिर्जनात्मक योगदान, योग्यता, इमान्दारी र कार्यक्षमतालाई प्राथमिकता दिइने मन्त्रालयले उल्लेख गरेको छ।
३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूको सञ्चालक समितिमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासम्बन्धी रोस्टर (सूचिकरण) निर्माणबारे प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ।
मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग्ने नभई सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने संस्थागत अभ्यास मात्र भएको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार कला, साहित्य र संस्कृतिसम्बद्ध प्रतिष्ठानहरूमा सदस्य चयन गर्ने अभ्यास सामान्य प्रशासनिक भर्तीभन्दा फरक हुने र धेरै मुलुकमा योगदान, प्रतिष्ठा तथा सहकर्मीको मूल्याङ्कनका आधारमा नियुक्ति गरिने परम्परा रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले नेपालको आफ्नै इतिहासमा पनि यस्तो अभ्यास नयाँ नभएको जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको प्रारम्भिक चरणमा धेरै प्राज्ञहरू सरकारी विज्ञापनमार्फत नभई सिर्जनात्मक योगदानको पहिचानका आधारमा आमन्त्रण गरिएको स्मरण गराउँदै मन्त्रालयले ‘राष्ट्रले प्रतिभालाई खोज्ने परम्परा’ पहिलेबाटै रहेको उल्लेख गरेको छ।
मन्त्रालयले रोस्टर निर्माणको उद्देश्यबारे सात बुँदामार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।
राज्यको दृष्टि सीमित हुन सक्ने स्वीकार गर्दै प्रचारभन्दा काममा विश्वास गर्ने गुमनाम सर्जक, अनुसन्धानकर्ता र संस्कृतिकर्मीहरूलाई पनि पहिचानमा ल्याउने उद्देश्य रहेको बताइएको छ।
यो आवेदन नभई सूचिकरण प्रक्रिया भएकाले व्यक्तिले आफ्नो मात्र होइन, आफूभन्दा योग्य लागेका अन्य व्यक्तिहरूको नाम पनि सिफारिस गर्न सक्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यसलाई प्रतिभा खोज्ने सामूहिक अभ्यास भनेको छ।
रोस्टरलाई अनिवार्य मापदण्डका रूपमा नलिइने स्पष्ट पारिएको छ। रोस्टरमा नपरेका व्यक्तिहरू पनि नियुक्त हुन सक्ने र यसले कसैका लागि ढोका बन्द नगर्ने मन्त्रालयले जनाएको छ।
अन्तिम सिफारिस छुट्टै प्रक्रियाबाट गरिने उल्लेख गर्दै मन्त्रालयले पछिल्ला केही वर्षका नियुक्तिमा प्राज्ञिक योगदान नभएका र सिर्जनात्मक वजन नबनाएका तर दलगत निकटताका आधारमा नियुक्त भएका भन्ने जनआवाज आएको स्वीकार गरेको छ।
त्यसैले यसपटक विज्ञहरू सम्मिलित, गोप्य तथा स्वतन्त्र मूल्याङ्कन समितिबाट सुझाइएको सूचीका आधारमा योगदान, योग्यता, इमान्दारी र कार्यक्षमताको मूल्याङ्कन गरी नियुक्तिको आमन्त्रण गरिने मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले हालको भन्दा अझ सिर्जनात्मक, सम्मानजनक वा प्रभावकारी नियुक्ति प्रणालीको सुझाव आए त्यसलाई स्वीकार गरेर प्रक्रिया सुधार गर्न तयार रहेको उल्लेख गरेको छ ।
यसपटकको नियुक्ति राजनीतिक भागबण्डाबाट टाढा राख्ने प्रयास गरिने मन्त्रालयको दाबी छ । सर्जकको राजनीतिक झुकावभन्दा सिर्जनात्मक योगदानलाई प्राथमिकता दिइने र विचारधारा जे भए पनि योग्य सर्जकलाई सम्मान गरिने उल्लेख छ ।
मन्त्रालयले योजनाबद्ध कामबिना प्राज्ञिक र सिर्जनात्मक विकास सम्भव नरहेको उल्लेख गर्दै यसपटक स्पष्ट दृष्टि, योजना र संस्थागत क्षमतालाई पनि नियुक्तिको मुख्य आधार बनाइने जानकारी दिइएको छ।
प्रतिक्रिया 4