News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरी १० वर्षे रणनीति र ५ वर्षे कार्ययोजना सहित आरोग्य पर्यटन प्रवर्द्धनमा लागेको छ।
- रणनीतिले ५ वर्षभित्र आरोग्यउन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ।
- सरकारले काठमाडौं, पोखरा, लुम्बिनी, नगरकोट लगायत स्थानमा एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने योजना बनाएको छ।
१८ वैशाख, काठमाडौं । सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरेको छ । साथै, मुलुक १० वर्षे आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) र ५ वर्षे कार्ययोजना (सन् २०२६–२०३०) सहित आरोग्य पर्यटन प्रवर्द्धनमा होमिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आरोग्य पर्यटन माध्यमबाट कुल चार विधामा काम गर्न खोजिएको छ । जसमा स्पा र मसाज, आयुर्वेद क्लिनिक, योग र ध्यान तथा प्राकृतिक उपचार र आध्यात्म छन् । यी विधा व्यवस्थित गर्न मन्त्रालयले आचारसंहिता समेत समेटेको छ ।
रणनीतिमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भनेका छन्, ‘प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र आध्यात्मिक पक्षहरूको अनुपम संगमले नेपाललाई आरोग्य पर्यटनका लागि विश्वकै एक उत्कृष्ट गन्तव्य बनाएको छ ।’
उनका अनुसार नेपालका नीति तथा योजनाहरूले पर्यटनसँगै स्वास्थ्य तथा आरोग्य पर्यटनलाई पनि रणनीतिक विकासको क्षेत्रमा समावेश गरेको छ ।
उनका अनुसार लगानी बोर्ड नेपालले आफ्नो सम्भावित लगानीको सूचीमा आरोग्य पर्यटनलाई प्राथमिकताका साथ समेटेको छ । यसका आधारमा आगामी दिनमा नयाँ साझेदारी नियामक प्रणाली स्थापना र विकासका प्रवर्द्धनात्मक कामले थप संस्थागत सहयोग प्राप्त हुने अपेक्षा समेत उनले गरेका छन् । रणनीतिले स्वास्थ्य र पर्यटनलाई जोड्न लगानी प्रवर्द्धन योजना समेत राखेको छ ।
५ वर्षभित्र आरोग्यउन्मुख पर्यटक आगमन ११ प्रतिशत बढाउने लक्ष्य
सरकारले आफ्नो दीर्घकालीन रणनीति मार्फत अबको ५ वर्षभित्र आरोग्य उन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ । सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षण गर्दै पर्यटकका लागि मापनयोग्य आरोग्य लाभ प्रदान गर्ने ध्येयसहित रणनीति बनाइएको मन्त्रालयले जनाएको छ ।

यसका माध्यमबाट गन्तव्य बजारीकरण र प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने र नेपाललाई पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटन अतिरिक्त आरोग्य पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्नेसमेत रणनीति र कार्ययोजनाको लक्ष्य छ ।
सन् २०३० सम्म कम्तीमा ५ प्रमुख क्षेत्रमा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने भएको छ । २०३५ सम्म नेपालको आरोग्य क्षेत्रका पर्यटकको सन्तुष्टिस्तर ८.५/१० बराबर वा त्यसभन्दा धेरै पुर्याउने लक्ष्यसमेत राखिएको छ ।
मन्त्रालयका अनुसार २०२७ अन्त्यसम्म राष्ट्रिय आरोग्य मापदण्ड तथा आचारसंहिता कार्यान्वयनमा ल्याइने छ । २०३० सम्म सबै प्रमुख आरोग्य पूर्वाधार वा सुविधा प्रमाणित गरी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग आबद्ध गर्ने गरी सरकारले लक्ष्य राखेको छ ।
मन्त्रालयका अनुसार २०३० सम्म राष्ट्रिय मान्यताप्राप्त कार्यक्रम मार्फत २ हजार नयाँ आरोग्य जनशक्तिलाई तालिम र प्रमाणपत्र प्रदान गरिने भएको छ । आरोग्य पर्यटन क्षेत्रमा सिर्जित नयाँ रोजगारीमा कम्तीमा ३० प्रतिशत हिस्सा महिला, युवा र स्थानीय समुदायका व्यक्तिलाई उपलब्ध गराइने भएको छ ।
सन् २०२७ सम्म आरोग्य नेपाल बजारीकरण अभियान थाल्नेसमेत कार्ययोजनामा समेटिएको छ ।
रणनीतिको उद्देश्य के छ ?
यस रणनीति अनुसार राज्यले नेपाललाई एक आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न एकीकृत आरोग्य केन्द्र सञ्जाल निर्माण गर्ने उद्देश्य राखिएको छ । आरोग्य पर्यटन सेवाबाट विभिन्न प्रकारका आर्थिक लाभ सिर्जना गर्नु, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने प्रामाणिक र दक्ष जनशक्ति विकास र तालिम सुनिश्चित गर्ने उद्देश्य तय गरिएको छ ।
पर्यटकले खोजेको र उनीहरूलाई आकर्षित गर्न आरोग्य सम्बन्धी हिमाली सेवा केन्द्रका रूपमा अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्नु र नेपालको सामाजिक तथा वातावणीय पक्ष सन्तुलन गर्दै आरोग्य पर्यटन सञ्चालन गर्ने उद्देश्य रणनीतिमा समेटिएको छ ।
कहाँ–कहाँ बन्नेछन् आरोग्य केन्द्र ?
सरकारले एकीकृत आरोग्य केन्द्र पहिचान तथा विकास मार्फत पर्यटकलाई जीवन रूपान्तरणका अनुभव प्रदान गर्न सक्ने आरोग्य गन्तव्यका लागि रणनीतिक स्थान छनोट गरेको छ ।
सोही अनुसार काठमाडौं उपत्यकालाई आध्यात्मिक र सांस्कृतिक एकीकरण बनाइने भएको छ । पोखरा र अन्नपूर्ण क्षेत्रलाई प्रकृतिमा समर्पण र योग राजधानी बनाउने रणनीतिमा उल्लेख छ ।

त्यस्तै लुम्बिनीलाई आध्यामिक आरोग्य धाम बनाइने भएको छ । पहाडी क्षेत्र (नगरकोट, धुलिखेल, सराङकोट लगायत) मा इकोरिट्रिट र सामुदायिक आरोग्य ग्राम बनाउने समेत रणनीतिमा उल्लेख छ । उच्च हिमाली क्षेत्र (मनाङ, मुस्ताङ लगायत) मा लेक आरोग्य र दुर्गम आध्यात्मिक समर्पण कार्यक्रम सञ्चालन गरिने छ ।
सेवा सुविधाका वर्ग
नेपाललाई एक सबल आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने मौलिक अनुभव प्रतिनिधित्व गर्ने गरी सेवा सुविधा वर्गीकरण गरिएको छ । जसअनुसार आरोग्य पदयात्रा परिपथका गतिविधि सञ्चालन गरिने छ ।
मठ ध्यान रिट्रिट, आयुर्वेद र डिटक्स (विकार निष्कासन) रिट्रिट, ध्वनि र ऊर्जा उपचार यात्रा, योगसहित साहसिक प्याकेज, मौसमी आरोग्य कार्यक्रम सञ्चालन योजना रणनीतिमा समेटिएको छ ।
मौसमी आरोग्य कार्यक्रमभित्र मनसुन डिटक्स (असार–भदौ), जाडो प्रतिरक्षा कार्यक्रम (मंसिर–माघ) वसन्त नजीकरण (फागुन–जेठ) र शरद ऋतु कृतज्ञता (असोज–कात्तिक) जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पाइलट परियोजनाका रूपमा के–के गरिने छ ?
पर्यटन मन्त्रालयका अनुसार नेपाललाई आरोग्य यात्रा गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्न विशिष्ट पाइलट परियोजना सुरु गरिने छ । जस अन्तर्गत सन् २०२७ को अन्त्यसम्म पोखरा वा काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिट्रिट स्थापना गर्न निजी क्षेत्रसँग साझेदारी गरिने भएको छ ।
यस केन्द्रमा स्पा, ध्यान, योग र समग्र उपचारको पूर्ण प्याकेज प्रदान गरिने छ । लुम्बिनीमा आरोग्य ग्राम बनाइने छ । पर्यटकलाई शान्त वातावरणमा ध्यान, आयुर्वेदिक उपचार र सचेत जीवनशैली र सांस्कृतिक समर्पण अनुभव प्रदान गर्न बुद्ध जन्मस्थल लुम्बिनीमा एक मठ रिट्रिट मोडेल स्थापना गरिने भएको छ ।

त्यस्तै सामुदायिक स्वामित्वमा रहने इको–भिलेजमा इको लज, योगशाला, खेतबारीदेखि भान्सासम्म जैविक भोजन र परम्परागत जडीबुटी उपचार हुने बुटिक हिल स्टेसन आरोग्य ग्राम स्थापना गरिने छ । यो नगरकोट जस्ता स्थानमा बनाउने सरकारको योजना छ ।
लगानी प्रवर्द्धन योजना के छ ?
सरकारले नवप्रवर्तन र लगानी भित्र्याउने योजना समेत रणनीतिमा समेटेको छ । नवप्रवर्तनका लागि वित्तीय सहयोग अनुदान कार्यक्रम ल्याइने छ । सार्वजनिक–निजी साझेदारी मोडेलबाट लगानी जुटाइने छ । अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ढाँचा तयार पार्ने र पूर्वाधार अनुकूलन र पुन: प्रयोगमा जोड दिने सरकारको योजना छ ।
यस्तो छ कार्यान्वयन रणनीति
सन् २०२६–२७ : ५ देखि ८ प्रिमियम आरोग्य सेवा सुविधा तयार पार्ने, १० देखि २० लाख अमेरिकी डलर बराबर आम्दानी गर्ने ।
सन् २०२८–२९ : सेवा विस्तार निरन्तर, १ करोड २० लाख डलरसम्म आम्दानी गर्ने ।
सन् २०३० पछि : परिपक्व बजार निर्माण, आरोग्य पर्यटन नेतृत्व, वार्षिक २ देखि ३ करोड डलर आम्दानी लक्ष्य ।
को हुनेछन् आरोग्य पर्यटन स्रोत बजार ?
रणनीति अनुसार योग शिक्षक तालिम, रिट्रिट अनुभव तथा दीर्घकालीन बसाइँ अवसर खोज्ने पर्यटक समूह नेपालको स्रोत बजार हुन सक्ने अनुमान गरिएको छ ।
गुम्बामा आधारित बसोबास, मौन ध्यान अभ्यास तथा तीर्थयात्रासँग आबद्ध आरोग्य आधारित सांस्कृतिक क्रियाकलाप अनुभव गर्न चाहने पर्यटक समेत स्रोत बजार हुनेछन् ।
आयुर्वेद, डिटक्स तथा प्रतिकात्मक सेवामा आधारित व्यवस्थित आरोग्य कार्यक्रम खोज्ने पर्यटक समूह र पदयात्रा, र्याफ्टिङ तथा प्रकृति अन्वेषणका साथै मसाज, योग तथा तातोपानी स्रोतमा आधारित पुनर्ताजगीमूलक आरोग्य अभ्यास संयोजन गर्न चाहने पर्यटक नेपालका स्रोत बजार हुने भएका छन् ।
स्पा तथा मनोरञ्जन आरोग्य पर्यटक, कर्पोरेट समूह पारिवारिक आरोग्य पर्यटक समेत नेपालको लक्षित बजार हुनेछ ।
मुलुक अनुसार पहिलो प्राथमिकतामा मौलिक, आध्यात्मिक तथा प्रकृतिमा आधारित आरोग्य अनुभवप्रति उच्च माग रहेको परिपक्व बजार संरचना भएका अमेरिका, जर्मनी, बेलायत र अस्ट्रेलिया रहने छ ।
दोस्रो प्राथमिकतामा भौगोलिक निकटता, आरोग्य सचेतना विस्तार तथा वाह्य भ्रमणप्रति बढ्दो आकर्षण रहेका जापान, दक्षिण कोरिया, भारत र मध्यपूर्वका मुलुक छन् ।
तेस्रो प्राथमिकतामा उच्च मूल्यका आरोग्य पर्यटनप्रति बढ्दो रुचि देखिएका चीन, ब्राजिल र फ्रान्सजस्ता देशलाई राखिएको छ ।
प्रतिक्रिया 4