+
+
Shares

कांग्रेस विवाद : क्रियाशील अद्यावधिकमा संस्थापन–इतर रस्साकस्सी

नेतृत्वले पार्टीलाई ‘डिजिटलाइज’ र सुदृढीकरण गर्ने भन्दै नयाँ सदस्यता प्रणाली ल्याउन खोज्दा संस्थापन इतर समूहले भने विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विद्रोहको संकेत गरेको छ ।

केशव सावद केशव सावद
२०८३ वैशाख १८ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले २५ चैतमा सबै पुराना क्रियाशील सदस्यता खारेज गरी नयाँ सदस्यता प्रणालीमार्फत अद्यावधिक गर्ने निर्णय गरेको छ।
  • संस्थापन इतर समूहले सदस्यता अद्यावधिकलाई विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विरोध जनाएका छन्।
  • कांग्रेसले सदस्यता अद्यावधिकका लागि फारम भर्ने, फोटो खिच्ने र कांग्रेस आईडी वितरण गर्ने प्रक्रिया अनिवार्य गरेको छ।

१८ वैशाख, काठमाडौं । १५औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद चरमचुलीमा पुगेको छ ।

नेतृत्वले पार्टीलाई ‘डिजिटलाइज’ र सुदृढीकरण गर्ने भन्दै नयाँ सदस्यता प्रणाली ल्याउन खोज्दा संस्थापन इतर समूहले यसलाई विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विद्रोहको संकेत गरेको छ ।

सभापति गगनकुमार थापाले २५ चैतमा मधेश प्रदेशमा आयोजित प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सबै पुराना क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्दै नयाँ प्रक्रियाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने घोषणा गरेपछि विवादले उग्र रूप लिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनका सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिकका लागि गरेको निर्णयबारे जानकारी दिँदै उनले मधेश झरेर क्रियाशील सदस्यता खारेजको घोषणा गरेका थिए ।

‘अस्तिको केन्द्रीय समितिको निर्णयबाट हामीले नेपाली कांग्रेस पार्टीको सबै क्रियाशील सदस्यता खारेज गरेका छौं,’ मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापाले भनेका थिए, ‘सबै खारेज भयो । अब क्रियाशील सदस्यता छैन ।’

१०–११ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ‘पार्टी सदस्यता अभिलेख अद्यावधिकसम्बन्धी विशेष व्यवस्था र अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैठकको ५ नम्बर निर्णयमा भनिएको थियो, ‘पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन हालसम्मका पार्टीमा आबद्ध सम्पूर्ण क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संशोधन) बमोजिम सम्पूर्ण सदस्यलाई पुन: क्रियाशील सदस्यता फाराम भर्न लगाई सदस्यता अद्यावधिक गर्ने निर्णय यो बैठक गर्दछ ।’

सदस्यता अद्यावधिकका लागि वैशाख महिनाभरि देभरका हजार ७४३ वटै वडामा एक महिने सदस्यता अद्यावधिक विशेष अभियान (जरामा जाऊँ अभियान) सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

‘१६५ वटै क्षेत्रमा केन्द्रबाट प्रतिनिधि खटाइने छ । यसरी सदस्यता अद्यावधिक भएका सदस्यका लागि पार्टीले नयाँ नम्बरसहित कांग्रेस परिचयपत्र (कांग्रेस आईडी) प्रदान गर्नेछ र कांग्रेस परिचयपत्र प्राप्त व्यक्तिको मात्र सदस्यता कायम हुने र अधिवेशन प्रक्रियामा सहभागी हुनेछ,’ निर्णयमा भनिएको छ ।

पार्टीले सदस्यता अद्यावधिक विशेष अभियान सुरु गर्ने अघिल्लो दिन ३० चैतमा संस्थापनइतर समूहले विज्ञप्ति जारी गरेर पार्टीको निर्णयप्रति आपत्ति जनाएको थियो । सदस्यता अध्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख थियो ।

पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक कसैले पनि आमसदस्यहरूको क्रियाशील सदस्यता खारेज गर्न नसक्ने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइ थियो ।

सोही दिन महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले क्रियाशील सदस्यता खारेज गर्ने नभएर व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको प्रष्टीकरण दिएका थिए ।

पौडेलले बिहानै र घिमिरेले खड्काको विज्ञप्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको प्रष्टीकरण दिएका थिए ।

एक दिनपछि १ वैशाखमा कांग्रेस सभापति थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाइ कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको थियो । अभियान सञ्चालनका लागि कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

तर, गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह र छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला समूहले सदस्यता अद्यावधिकमा रुचि देखाएको छैन ।

पछिल्लो समय देउवा समूहको नेतृत्व गरिरहेका नेता खड्का र कोइराला दुवैले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला बोलाएर क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडान लिएका छन् ।

दुई दिने धुम्बाराही भेलापछि बिहीबार विज्ञप्ति जारी गरेर खड्काले क्रियाशील सदस्यता अद्यावधिकको नगर्न पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

उनले पार्टीको स्थापनाकालको इतिहास र लोकतन्त्रको क्रान्ति, सघर्ष र आन्दोलनका योद्धाहरूको जीवनसँग जोडिएको क्रियाशील सदस्यता खारेज गरेर अद्यावधिक गरिनु सरासर गलत र बदनीयतपूर्ण भएको जिकिरसमेत गरेका छन् ।

विधानको व्यवस्थाअनुसार पार्टी छोडेका, अनुशासनको कारबाहीमा परेका, मृत्यु भएका वा आफ्नै स्वेच्छाले सदस्यता त्याग गर्न चाहेका व्यक्तिहरूको सदस्यता सूची अध्यावधिक गर्नु र कुनै विशेष कारणले नवीकरण गर्न छुटेका वा निर्वाचन पछि पनि पार्टीमा आउन चाहने व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नुपर्ने कारणले सदस्यता नवीकरण र वितरण गर्नुलाई भने देउवा समूहले स्वाभाविक भनेको छ ।

नेता शेखर कोइरालाको समूह पनि क्रियाशील सदस्यता अद्यावधिक नगर्ने मनस्थितिमा छ । उनी निकट नेताहरू क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताइरहेका छन् ।

नेता कोइरालाले बिहीबार बागमती प्रदेशअन्तर्गतका आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । बालुवाटारस्थित ओपेरा होटेलमा भएको उक्त छलफलमा सहभागीहरू नेताहरूले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुन: अद्यावधिक गर्न नहुने अडान राखेका छन् ।

‘अहिले आएर सदस्यता अद्यावधिक व्यावहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन,’ छलफलमा सहभागी नेताहरूको निष्कर्ष छ, ‘एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको हो ।’

बिहीबार नै सुदूरपश्चिम प्रदेशका नेताहरूले काठमाडौंमा छुट्टै भेला गरी क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेका छन् ।

१५औं महाधिवेशनका लागि यसअघि नै क्रियाशील सदस्यता नवीकरण गरिसकेको र पार्टीमा लेबी पनि बुझाइसकेकाले सदस्यता अद्यावधिक नगर्ने निर्णय गरिएको उनीहरूको तर्क छ ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट भेन्युमा आयोजित भेलाबाट नेताहरूले सुदूरपश्चिमका क्रियाशील सदस्यहरूलाई पनि सदस्यता अद्यावधिक नगर्न/नगराउन अनुरोध पनि गरेका छन् ।

तर, कांग्रेस संस्थापन पक्ष क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता–कार्यकर्ताहरू आसन्न १५औं महाधिवेशनमा सहभागी हुन नपाउने बताइरहेको छ । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि भौतिक उपस्थिति अनिवार्य गरेको छ ।

जसअनुसार पार्टीका हरेक सदस्यले आफूले क्रियाशील सदस्यता लिएको वडामा पुगेर अद्यावधिक गर्नु पर्नेछ । महामन्त्री पौडेल भन्छन्, ‘यो खासमा सबै नेपाली कांग्रेसका सदस्यहरूलाई जहाँबाट सदस्य बनेको हो, त्यहीँ गएर अध्यावधिक गर, गाउँ फर्क, टोलमा जाउ भन्न खोजिएको हो ।’

कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गरेको छ । सबै क्रियाशील सदस्यहरूको वैयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान राखेको हो ।

‘अद्यावधिकको प्रोसेस के हो भने आफ्नै वडामा जाने, वडामा गएर म सदस्यता नवीकरण गर्न चाहन्छु भन्ने,’ पौडेलले भने, ‘यति भनेपछि उहाँहरूले ओटीपी नम्बर पाउनुहुन्छ । अनि त्यो ओटीपी नम्बरको आधारमा उहाँहरूले आफ्नो सदस्यता अद्यावधिक गर्नुहुन्छ ।’

क्रियाशील सदस्यहरूले एकअर्कासँग सम्पर्क गर्न, सदस्यले पार्टीका विभिन्न संरचनाहरूसँग सम्पर्क, समन्वय गर्न र सूचनाहरू लिन सहज बनाउन कांग्रेसले कार्यकर्ताहरूको फोन नम्बर सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणका क्रममा संकलन गर्न लागेको महामन्त्री पौडेलको भनाइ छ ।

महामन्त्री पौडेलका अनुसार १४औं महाधिवेशनका ८ लाख ७० हजार ८८४ क्रियाशील सदस्यहरूमध्ये कांग्रेससँग एक लाख सदस्यहरूको पनि फोन नम्बर छैन । त्यस्तै २५–३० हजार क्रियाशील सदस्यहरूको फोटो पनि कांग्रेससँग छैन ।

क्रियाशील सदस्यता अध्यावधिक भएपछि कांग्रेसका नेता–कार्यकर्ताहरूले प्राप्त गरेको ‘ओटीपी’ नम्बरमा ‘कांग्रेस आईडी’ जाने बताइएको छ । ‘फारममा सदस्यले जुन मोबाइल नम्बर रेकर्ड गर्नुहुन्छ, त्यो मोबाइल नम्बरमा ओटीपी नम्बर जान्छ,’ पौडेलले भने, ‘नम्बरको आधारमा ‘कांग्रेस आईडी’ सदस्यता अध्यावधिक गरेको व्यक्तिले प्राप्त गर्नुहुन्छ ।’

अब ‘कांग्रेस आईडी’ प्राप्त गरेको व्यक्तिमात्रै कांग्रेसको क्रियाशील सदस्य हुनेछ । ‘कांग्रेस आईडी’ भएको व्यक्तिले मात्रै वडा अधिवेशनमा भाग लिन पाउने छ । ‘कांग्रेस आईडी प्राप्त नगरेको मान्छेले सदस्यता अध्यावधिक गरिएको मानिँदैन,’ महामन्त्री पौडेलले भने, ‘सदस्यता अध्यावधिक नभएको व्यक्ति अधिवेशनमा सहभागी हुन सक्दैन ।’

संस्थापन पक्षले सदस्यता अद्यावधिक नगरे आसन्न महाविधेशनमा सहभागी हुन नपाइने बताइरहेका बेला इतर समूहका नेताहरू भने यसअघि नै आफूहरूले सदस्यता नवीकरण गरिसकेको तर्क गरिरहेका छन् ।

सभापति थापाले महामन्त्रीको हैसियतमा १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा तीन लाखभन्दा बढीले क्रियाशील सदस्यता नवीकरण गरिसकेको तथ्यांक पेस गरेका थिए ।

केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट तीन लाख ९ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको उनले बैठकमा पेस गरेको प्रतिवेदनमा उल्लेख थियो ।

गगनले सदस्यता वितरण र नवीकरणबारे के भनेका थिए ?

सामान्यत: अघिल्ला महाधिवेशनहरूमा सदस्यता वितरण र नवीकरण महाधिवेशनको वर्ष कार्यतालिका तोकिएपछि मात्र हुने अभ्यास थियो । यस पटक १४औं महाधिवेशन सकिएलगत्तै सदस्यता वितरण र नवीकरण विधानबमोजिम निरन्तर गर्ने निर्णय २०७८ चैतमा नै गरिएको थियो ।

दुई वर्ष अगाडि २०८० सालमा नै सदस्यता नवीकरणका लागि आठ लाख ७० हजार ८८४ सदस्यता २०८० सालमा नै सबै जिल्लामा पठाइसकेको थियो ।

पटक–पटक परिपत्रपश्चात २०८१ माघमा चैतसम्म नवीकरण कार्यतालिका नै बनाएर पठाइएको थियो । यसबीचमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको छ भने पछिल्लो पटक बसेको केन्द्रीय कार्यसमितिले अन्तिम पटक २०८२ असोज मसान्तसम्म नवीकरणका लागि समय थप्ने निर्णय गरेको थियो ।

हालसम्म ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भई तहगत प्रक्रिया पूरा गरी विवरण पठाउने क्रममा रहेको छ । जसमा १९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भइसकेको छ ।

२७ जिल्लामा (केही वडाहरू बाहेक) तहगत नवीकरण भई एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा छ । अर्थात् ४६ जिल्लाबाट तीन लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ । सिस्टममा इन्ट्री गर्न बाँकी छ ।

१६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भई तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ ।

पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुर ६ वटा जिल्लामा आन्दोलन र आगजनीका कारण ढिलाइ भएको छ । हाल वडाबाट विवरण संकलन भइरहेको छ ।

कैलाली (क्षेत्र नं. १, २ र ४), रुपन्देही (क्षेत्र न. ४) मुस्ताङ, बारा (१ र २), सिरहा (क्षेत्र नं.३), सप्तरी, धनुषा (क्षेत्र नं. ३ र ४), कञ्चनपुर (क्षेत्र नं. ३), सिन्धुपाल्चोक, नुवाकोट, बाँके (क्षेत्र नं. ३). सुर्खेत (क्षेत्र नं. २), डडेल्धुरा, खोटाङ (सभापति रिक्त भएको कारण) सर्लाही (सभापति रिक्त भएको कारण) लगायतका केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ ।

६७४३ वडामध्ये विभिन्न कारणले नवीकरण बाँकी रहेका मात्र २६८ वडामध्ये हाल २२७ वटा वडामा नवीकरणको प्रक्रियामा रहेको छ । ३ वटा निर्वाचन क्षेत्र (बारा १ र २, रुपन्देही ४ मर्चवारी गापा वडा नं. ४ सहित) लगायत ४१ वटा वडामा नवीकरण सुरु हुन सकेको छैन ।

महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन भएको ढिलाइ महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक हप्तामा नै नवीकरण सकिन्छ ।

नयाँ क्रियाशील सदस्यताको हकमा २ लाख १७ हजार ९०१ नयाँ फारम २०८० मा नै जिल्लामा पठाइसकेको छ । नयाँ सदस्यता वितरण खुला र सहज बनाउने, नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहने मापदण्ड पुगेका नेपाली नागरिकलाई सहज ढङ्गले क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था गरौं ।

नयाँ क्रियाशील वितरणको लागि ६७४३ वटै वडाबाट फारम भर्ने र प्रतिनिधिसभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी पुन: कात्तिक २१ देखि मंसिर १० गतेसम्म समय प्रदान गर्न सकिन्छ ।

यसका लागि सबै वडा र क्षेत्रमा छुट्टै आईडी–पासवर्ड उपलब्ध गराउने गरी सिस्टम तयारी अवस्थामा छ । यसले जेनजीलगायत नयाँ पुस्ताका साथीहरूलाई सदस्यता प्रदान गर्न सहज बाटो खुल्छ ।

यो तथ्यले नै देखाउँछ, सदस्यता नवीकरण र वितरण प्रक्रियाका सन्दर्भमा हामी पहिलेको भन्दा अनुकूल अवस्थामा छौं । महाधिवशेनको कार्यतालिका टुंगियो र हामी एकवद्ध भएर अधिवेशन प्रक्रियामा होमियौँ भने सदस्यताको काम दुई हप्तामा गर्न सकिन्छ, सक्छौं ।

१२औं महाधिवेशनदेखि सुरु भएको थियो क्रियाशील विवाद

कांग्रेसले सात वटा तह परिकल्पना गरेर विभिन्न कार्यसमितिमार्फत सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको छ । केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन क्रियाशील सदस्यता लिनुपर्छ ।

क्रियाशील सदस्यता भएकाहरूबाटै पार्टी महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनका निम्ति यिनै महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन्‌ ।

कांग्रेसको यही क्रियाशील सदस्यता वितरणका कारण हरेक महाधिवेशनअघि आन्तरिक विवाद निम्तिने गरेको छ । १२औं महाधिवेशनदेखि सुरु भएको क्रियाशील सदस्यता विवाद १५औं महाधिवेशन नजिकिँदासम्म सुल्झिएको छैन ।

कांग्रेस क्रियाशील सदस्यतासम्बन्धी विवादमा घेरिएको डेढ दशकभन्दा बढी समय भइसकेको छ । असोज २०६७ मा सम्पन्न १२औं महाधिवेशनअघि नै सदस्यता विवाद चर्किएको थियो ।

विवादकै कारण कांग्रेसले तत्कालीन समयमा नयाँ क्रियाशील सदस्यता नै वितरण गर्न सकेन । महाधिवेशनमा नेतृत्व चयनका लागि पुरानै क्रियाशील सदस्यहरूलाई भोट हाल्न दिएको थियो ।

विवाद बढेपछि सभापति चुनिएका सुशील कोइरालालगायत नेताहरूले क्रियाशील सदस्यता विवाद हल गर्ने बताएका थिए । तर विवादलाई थाती राखेर कांग्रेसले पछिल्ला महाधिवेशनअघि नयाँ क्रियाशील सदस्यहरू बढाउँदै आएको छ ।

क्रियाशीलले नै हाल्दैनन् रुखमा मत

कांग्रेसमा लामो समयदेखि दोहोरिँदै आएको गुटबन्दी र अन्तरघातको प्रवृत्तिले पार्टीलाई बारम्बार कमजोर बनाउँदै आएको छ । निर्वाचनमा हुने अन्तर्घात कांग्रेसको संरचनागत समस्या जस्तै बनेको छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कतिपय निर्वाचन क्षेत्रहरूमा पार्टीका क्रियाशील सदस्य बराबर मत पनि नपाएको देखिएको छ । क्रियाशील सदस्यहरूले नै मत नहाल्ने स्थिति भइरहँदा कांग्रेस भित्र बेलाबखत सदस्यतामाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रारम्भिक तथ्यांकहरू हेर्दा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारहरूले १७ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत पाएको कांग्रेसको चुनावी समीक्षाले देखाएको छ ।

पार्टीका क्रियाशील सदस्यहरूले नै कांग्रेसलाई मत हाल्न नचाहेको विषयमा समीक्षा गरेर गल्ती–कमजोरी सच्याउन जरुरी रहेको नेताहरू बताउँछन् ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?