+
+
Shares

नयाँ सदस्यताका लागि क्रम संख्या उल्लेख नगरी फारम पठाएपछि कांग्रेसमा विवाद

नयाँ क्रियाशील सदस्यताका लागि दुई प्रकारका फारम निर्वाचन क्षेत्रमा पुगेपछि कांग्रेस नेताहरू विभक्त भएका छन् । फारमका विषयमा क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यहरूबीच पनि मतैक्य देखिँदैन ।

केशव सावद केशव सावद
२०८२ मंसिर २९ गते २०:२३

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या उल्लेख नगरी नयाँ क्रियाशील सदस्यता फारम पठाएपछि विवाद सिर्जना भएको छ ।

समितिले नयाँ क्रियाशील सदस्यताका लागि पछिल्लो लट (जेनजी आन्दोलनपछि) मा पठाएका फारमहरूमा क्रम संख्या उल्लेख नगरेपछि कांग्रेसमा विवाद भएको हो ।

महामन्त्री गगन थापा संयोजकत्वको समितिले अघिल्लो लट (जेनजी आन्दोलनअघि) मा क्रम संख्यासहित नयाँ क्रियाशील सदस्यता फारमहरू पठाएको थियो ।

नयाँ क्रियाशील सदस्यताका लागि दुई प्रकारका फारम निर्वाचन क्षेत्रमा पुगेपछि कांग्रेस नेताहरू विभक्त भएका छन् । फारमका विषयमा क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यहरूबीच पनि मतैक्य देखिँदैन ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले मातहतलाई क्रम संख्या उल्लेख नगरिएका फारमहरू नयाँ क्रियाशील सदस्यहरूलाई नभराउन निर्देशन दिएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायरले आइतबार प्रदेश कार्यसमिति बैठक चलिरहेका बेला ९ वटै जिल्ला सभापतिलाई फारम नभर्न निर्देशन दिएको सहमहामन्त्री अम्बिका चलाउनेले बताइन् ।

नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या उल्लेख नगरिएको विषयमा व्यवस्थापन समिति सदस्यहरू नै विभक्त देखिन्छन् । रसाइली नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या उल्लेख नभएको विषयलाई ठूलो रूपमा लिन नहुने बताउँछन् ।

‘क्रम संख्या, क्रियाशील सदस्यता नम्बर केही पनि उल्लेख नभएको फारमहरू केन्द्रबाट पठाइएको छ । सुदूरपश्चिमभरि नै यस्ता फारम आएको रहेछ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘प्रदेश सभापतिज्यूले सबै जिल्लामा फोनै गरेर अहिले नम्बर नभएको सदस्यता फारम नभर्नुस् भन्नुभएको छ ।’

प्रदेश कार्यसमितिले अधुरा क्रियाशील सदस्यता फारमहरू आएपछि सुदूरपश्चिमका सबै स्थानीय तहहरूमा कार्यक्रम गर्ने, पालिका स्तरबाटै नयाँ क्रियाशील सदस्यताका लागि इच्छुकको सूची बनाउने र केन्द्रले क्रम संख्या उल्लेख गरिएका फारमहरू पठाएपछि मात्रै भर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले क्रम संख्या उल्लेख नभएका फारमहरू नभर्न जिल्ला सभापतिहरूलाई निर्देश गरिएको जानकारी दिए । ‘नयाँ सदस्यताका लागि सिरियल नम्बर नभएका खाली फारम आएका छन् । ती खाली फारम तत्काल रोक्नू, नभर्नू भनेर निर्देशन भएको छ,’ उनले अनलाइनखबरसँग भने ।

क्रम संख्याबारे समिति सदस्यबीच नै मतभिन्नता  

महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । गुरुङ र चौधरी संस्थापन पक्षका नेता हुन् भने रसाइली महामन्त्री थापा निकट मानिन्छन् ।

नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या उल्लेख नगरिएको विषयमा व्यवस्थापन समिति सदस्यहरू नै विभक्त देखिन्छन् । रसाइली नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या उल्लेख नभएको विषयलाई ठूलो रूपमा लिन नहुने बताउँछन् ।

क्रम संख्या उल्लेख नभएका फारम जिल्ला पठाइएको विषयमा उनले भने, ‘त्यतिबेला छिटो–छिटो गर्ने भनेर सचिवालयलाई भन्यौं । पहिला सिरियलअनुसार नै थियो । अहिले छिटो–छिटो गर्ने क्रममा सिरियल नम्बर नहाली प्रेसबाट गएको रहेछ ।’

समितिका अर्का सदस्य चौधरी पार्टीले नै प्रतिशत संख्या नतोकी नयाँ सदस्यता वितरण गर्ने नीति अबलम्वन गरेका कारण समितिले क्रम संख्या उल्लेख नगरी फारम पठाइएको बताउँछन् ।

‘यस पटक पार्टीले नयाँ क्रियाशीलमा पहिला जस्तो लिमिटेसन नराख्ने नीति लियो । लिमिटेसन नराख्ने भनिसकेपछि जसले जति चाहियो भन्यो त्यति फारम दिने नीति अबलम्वन गर्‍यौैं,’ उनले भने, ‘त्यसैले यो नम्बर कहीँ पनि प्रयोग नहुने गरी फारम पठायौं ।’

चौधरीले पहिले छापाइ भएका फारमहरू जेनजी आन्दोलनका क्रममा जलेपछि हतार–हतार फेरि छपाइ गरेर बिना नम्बरको फारम पठाइएको पनि बताए । ‘पहिले नम्बरिङ गरेर छापिएका फारमहरू सबै जले । नयाँ प्रिन्ट गरेर आइसकेपछि फेरि नम्बर स्टाम्प हान्दा टाइम लाग्ने भएकाले हामीले जस्ताको तस्तै बिना नम्बरको फारम पठाइदियौं,’ उनले भने ।

समिति सदस्य गुरुङले क्रम संख्या उल्लेख नगरिएका फारममा चलखेल हुने सम्भावना भएकाले क्रम संख्या उल्लेख गरिएका नयाँ फारम पठाउनुपर्ने पक्षमा आफू रहेको बताइन् ।

‘अगाडि पठाइएका २५ प्रतिशतमा नम्बर थियो । बाँकी ७५ प्रतशितमा नम्बर नहुँदा वडामा समस्या हुने भयो,’ उनको तर्क छ, ‘तल्लो तहले सिफारिस गरेकालाई माथिल्लो तहले अर्को फारम हालेर, अर्को नाम लेखेर संख्या बराबर पुर्‍याइदिन सक्ने भयो । मान्छे नै फेरिदिन सक्ने सम्भावना बढी भएका कारणले क्रम संख्या भएका नयाँ फारम छपाएर पठाउनुपर्छ ।’

महामन्त्री गगन थापा ।

केन्द्रबाट ‘नम्बर जेनेरेट’ गर्ने तयारीमा महामन्त्री थापा

क्रम संख्या बिनाका फारमबारे नेताहरूले चासो देखाएपछि महामन्त्री थापा क्षेत्र–क्षेत्र पुगेका सदस्यता फारमका लागि ‘नम्बर जेनरेट’ गर्ने तयारीमा लागेका छन् ।

क्रम संख्या उल्लेख नगरी पठाइएको भन्दै चौतर्फी गुनासो आएपछि समितिले नयाँ क्रियाशील सदस्यहरूका लागि १६५ वटै निर्वाचन क्षेत्रमा पठाइएका फारमका लागि ‘नम्बर जेनरेट’ गर्ने तयारी गरेको समिति सदस्य चौधरीले बताए ।

‘यही सन्दर्भमा भर्खरै हामी बस्यौं । हिजो पनि छलफल गरेका थियौं । हिजोकै कुरालाई मानेर अगाडि बढ्ने सहमति कायम भएको छ,’ उनले भने ।

सोमबार भएको सहमतिबारे चौधरीले भने, ‘आज सचिवालयले १६५ वटै निर्वाचन क्षेत्रको नम्बरहरू जेनरेट गरिदिन्छ । उहाँहरूले त्यही नम्बर आफ्नो फारममा फिलअप गर्नुहुन्छ । नम्बरबारे यो एउटा निकासको कुरो भयो,’ चौधरीले भने, ‘मलाई नम्बरसहितकै चाहिन्छ भन्नुभयो भने तत्काल प्रिन्ट गरेर भोलि नै पठाइदिने व्यवस्था गर्ने भनेका छौं । नम्बर अब अनिवार्य हुने भयो ।’

तर, समिति सदस्य गुरुङले समितिमा कुनै सहमति नभएको प्रतिक्रिया दिइन् । ‘सबै जनाले नम्बर नभएको फारम हुँदैन भनेर विरोध गर्नुभएको छ । समितिमा सहमति भइसकेको छैन,’ उनले भनिन्, ‘क्षेत्र–क्षेत्रमा सोध्ने, जहाँ समस्या छ त्यहाँ नयाँ छपाएर पठाउने, समस्या नभएको क्षेत्रमा नपठाउने भन्नुभएछ महामन्त्रीले ।’

नेतृ गुरुङले महामन्त्री थापाको पछिल्लो प्रस्ताव झनै अव्यावहारिक हुने तर्क गरिन् । ‘यो त झन् अव्यावहारिक हुन्छ । कुनै ठाउँ के, कुनै ठाउँ के, यसले झन् तितरबितर हुन्छ । वडाको समस्या फरक–फरक खालको भएर हुँदैन,’ उनको भनाइ थियो, ‘त्यसैले नम्बरसहितको नयाँ फारम छापेर तुरुन्तै पठाउनुपर्छ भन्ने मेरो कुरा छ । निर्णय भइसकेको छैन । भोलि (मंगलबार) निर्णय हुन्छ ।’

समिति सदस्य रसाइलीले क्रम संख्या उल्लेख नगरिएको विषय ठूलो मुद्दा नबन्ने र दुरुपयोग हुन नदिने दाबी गरे । ‘यो ठूलो इस्यु होइन । सिरियल नम्बर मिलाउने काम भइहाल्छ । त्यो केन्द्रले जेनरेट गरे पनि हुन्छ,’ उनको भनाइ छ, ‘अरू वैकल्पिक उपाय छन् । प्रविधिको जमानामा मिस युज हुने सम्भावना एकदमै कम हुन्छ ।’

कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झन्डै साढे सात लाख बढी फारम जिल्ला पठाएको छ ।

समितिका अर्का सदस्य चौधरीले नेताहरूको चाहनाअनुसार नयाँ सदस्यता फारममा क्रम संख्या अनिवार्य गरेर अघि बढ्ने आन्तरिक तयारी रहेको बताए ।

‘नेताहरूबाट प्रश्न आइसकेपछि सानो कुरालाई विवादित बनाउनु हुँदैन,’ उनले भने, ‘त्यसैले नेताहरूले फारममा नम्बर अनिवार्य हुने जुन चाहना व्यक्त गर्नुभएको छ, त्यहीअनुसारको परिस्थिति बनाएर जाने भन्ने कुरो भएको छ ।’

कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झन्डै साढे सात लाख बढी फारम जिल्ला पठाएको छ । कांग्रेसले पहिलो लटमा २५ प्रतिशत (क्रम संख्यासहित) र दोस्रो लटमा ७५ प्रतिशत (क्रम संख्यारहित) नयाँ क्रियाशील सदस्यता फारम १६५ निर्वाचन क्षेत्रमा पठाएको हो ।

१४औं महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थपेको कांग्रेसले आगामी महाधिवेशनका लागि प्रतिशत संख्या नतोकी बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको क्रियाशील सदस्यता लिन चाहे विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने निर्णय कांग्रेसको छ । नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड सम्बन्धमा गरिएको निर्णयमा भनिएको छ, ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।’

नयाँ क्रियाशील सदस्यता वितरणमा कांग्रेसले वडाको जनसंख्या भित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने पनि निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुनेगरी प्राथमिकता दिएर वितरण गर्नुपर्ने र समाजमा विभिन्न पेसागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने छ ।

यसअघि विधानमा ‘कुनै पनि इच्छुक व्यक्तिले सदस्यता लिन पाउने’ लेखेको कांग्रेस नयाँ क्रियाशील सदस्यता वितरणमा भने व्यवहारत: लागु नगर्ने, नियन्त्रण गर्ने, प्रतिशत संख्या तोक्ने गर्दै आएको थियो । जसका कारण महाधिवेशनअघि कांग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद हुँदै आएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?