News Summary
Generated by OK AI. Editorially reviewed.- शंखमुल नजिकै बागमती किनारमा ५० वर्षदेखि बसोबास गर्दै आएकी वृद्ध महिला सीता श्रेष्ठको बस्ती शुक्रबार डोजरले खाली गराइएको छ।
- सीता श्रेष्ठले आफू र परिवारका लागि कोठा खोज्न भौंतारिरहेको र लालपूर्जा पाउने आश्वासन मात्र पाएको बताइन्।
- सरकारले काठमाडौंका नदी किनारका सुकुमवासी बस्ती धमाधम खाली गरिरहेको र बस्तीका मानिसहरू अनिश्चित भविष्यमा छन्।
१८ वैशाख, काठमाडौं । शंखमूल नजिकै बागमती किनारमा शुक्रबार दिउँसो भेटिइन्, वृद्ध महिला सीता श्रेष्ठ । बागमती किनारमै उनले बिताएका वर्षहरू ५० नाघिसके । उनले त्यहाँ बसोबास सुरु गर्दा वरपर खेत मात्रै थियो । घरहरू बनेका थिएनन् ।
परिवारमा छोरा, बुहारी र नाति छन् । एकाएक शुक्रबार दिउँसो वर्षौंदेखि सीताले जीवन बिताउँदै आएको बस्तीमा डोजर पुगे ।
‘जग्गा किनेको छैन कहाँ जानू ? कोठा त पाइएन । कहाँ जानू खै ?’ मधुर स्वरमा उनले आफ्नो दु:खेसो सुनाइन् ।
उनका अनुसार, हिजोदेखि छोरा कोठा खोज्न भन्दै भौंतारिइरहेका छन् । तर, पाएका छैनन् ।

‘सुकुमवासीमा बस्नेलाई कोठा नदिने हामी भने’ उनले भनिन्, ‘धेरैले देखेका छन् । गाई पालेको छ । घाँस सोत्तर गर्न हिंडेको छ ।’
सीताका अनुसार, धेरैले लालपुर्जा पाउने आश्वासन दिएका थिए । बेला बेलामा तिरो पनि तिर्ने गरिएको उनी बताउँछिन् ।
तर, कसलाई र कहाँ बुझाएको उनले मेसो पाउन सकेकी छैनन् ।
‘यही बागमतीमा मरौं भनेको मर्न नदिने भए । सुखशान्ति पाइयोस् । मैले दु:ख पाए पनि छोराछोरीले सुख पाउन्’ उनले भनिन्, ‘यहाँतिर लालपुर्जा आउँछ आउँछ भन्दा भन्दै यस्तो भयो । तिरो पनि बुझाउनुपर्छ भन्थे, तिरो कसलाई तिरेको हो कुन्नि ?’

गाई पालेर आफ्नो जीविकोपार्जन गर्दै आएकी उनी सडक पारि बसेर डोजर चलेको हेरिरहेकी थिइन् । आजै बेलुकीको बासबारे उनी अनभिज्ञ छिन् । सरकारले धमाधम सुकुमवासी बस्तीमा डोजर चलाइरहेको छ ।
काठमाडौंका अधिकांश नदी किनार आसपास शुक्रबारबाट धमाधम बस्ती खाली गराइएको छ ।
आफू बस्दै आएका बस्तीमा डोजर चलेका दृश्यहरू हेरिरहेका बस्तीका मानिसहरूको दृश्य टिठलाग्दो छ ।



प्रतिक्रिया 4