News Summary
Generated by OK AI. Editorially reviewed.- ९ मे २०७० मा मनास्लु हिमाल आरोहणको ७०औं वर्ष पूरा भएको छ।
- मनास्लु हिमाल ८१६३ मिटर अग्लो जोखिमपूर्ण हिमाल हो जहाँ धेरै दुर्घटना भएका छन्।
- मनास्लु आरोहण गर्ने आरोहीहरूको संख्या जोखिमका बाबजुद बढ्दै गएको छ।
९ मे अर्थात ७०औं मनास्लु आरोहण दिवस । जोखिमपूर्ण हिमालका रुपमा चिनिने मनास्लु हिमाल आरोहण हुन थालेको पनि ७० वर्ष पुगिसकेछ । हालसालै मात्र मनास्लु बेस क्याम्प पुगेर आएको थिएँ । त्यहाँ पुग्दा किन म यति ढिलो गरें यहाँ आएँ भनेर पश्चाताप भयो ।
बुढीगण्डकीलाई पछ्याउँदै–पछ्याउँदै गोरखाका उपल्ला गाउँहरूको स्वरुप, बनावट र सौन्दर्यलाई निहाल्दै गोरखाको सिर्दिबासबाट पैदल यात्रा सुरु गरियो । गोरखा बजारबाट आरुघाट हुँदै सिर्दिबास सम्म जिपमा गएको थिएँ । त्यहाँबाट जगत, नामरुङ र ल्हो हुँदै तीन दिन लगाएर बल्लतल्ल सामागाउँ पुगियो । र सामागाउँबाट एक बिहान लगाएर बेसक्याम्प।

३५३० मिटरको उचाइमा रहेको सामागाउँ निकै चिसो थियो । त्यहाँको बासले अक्सिजन लेभलसँग साक्षात्कार हुन मद्दत गर्यो । बिहानै हिंडेर मनास्लु बेस क्याम्प तर्फ लागियो । ४८०० मि को उचाइमा रहेको बेस क्याम्पमा पुग्नासाथ यस्तो लाग्यो शहरी हाउभाउमा यतिन्जेल निसास्सिंदो भएका सासहरू पनि बेफिक्री फेर्न पाइएको छ ।
पलेटीं मारेर मनास्लुको नाममा एउटा कविताको पंक्ति लेख्न मन लाग्यो :
मनास्लु !
तिमी कति सुन्दर छौ
नजिकबाटै
महसुस गरिरहेछु,
तिमीलाई चुंडेर टपक्क
म आफ्नो बनाउन सक्दिनँ
तिमी त्यति विशाल छौ,
तिम्रो समीपमा आउँदा
म आफ्नो जीवन बुझ्दैछु
जिउने आधार भेट्टाउँदैछु,
तिमी कति निश्छल छौ
दाग लाग्छ
तिमीलाई छुँदा
हिम्मतहरू हार्छन्
तिमी नहुँदा
हरेक सिजनमा
आरोहीहरूको
इतिहास जन्माउने तिमी
कति चाहिं
जलवायु परिवर्तनको चपेटामा
परी
आफैँ पनि रोइबसेका छौ होला ?
अझ दृढ भई
सभ्यताको झण्डा फर्फराई
नमुना बन्नु छ तिमीले,
प्रदूषणको अत्याचार उपर
पनि लाखौं पर्यटकलाई
लोभ्याउनु छ तिमीले,
त्यो टुना, त्यो मन्त्र लगाइराख्नु
प्रिय मनास्लु !
म फेरि फेरि
तिमीलाई भेट्न
हतारिँदै आइराख्नेछु,
तिम्रो विश्वास अड्याएर
यो मुटुमा सानो स्वर्ग बनाइराख्नेछु।
बेस क्याम्पमा धेरै चिज साक्षत्कार गर्न पाइयो । जब घामको पहिलो किरण मनास्लु हिमालको टुप्पोमा पर्थ्यो र बिस्तारै तल झर्थ्यो अनि हिउँमाथि ताप परेपछि राफहरू निस्कन्थ्यो- लाग्थ्यो जब घाम उदाउँछ तब मात्र हिमालको जन्म हुन्छ । गर्भबाट बाहिर आएपछि पहिलो मुस्कान दिन्छ हिमालले । अनि हिउँमा घामका बाछिट्टा पर्दा टल्किन्छ हिमाल उसैगरी, जसरी जन्मेको बालकको ललाटमा टल्कन्छ आमाको ममता !

८१६३ मिटरको मनास्लु आरोहण गर्ने सिजन हो यो । हिमाल चढ्न चाहनेहरूको लाम थियो । भरियाहरू भारी बोक्दै थिए, कामदारहरू बस्ने ठाउँ मिलाउन माटो सम्याउँदै थिए । फुर्सदिलो त्यहाँ कोही थिएन, हिमाल आरोहणको कामना स्वरुप धुपहरू पनि बलिरहेका थिए, हावा पनि उस्तै बहिरहेको थियो अनि हावालाई बेग हान्दै हेली पनि ओहोरदोहोर गरिरहेको थियो । ती आरोहीहरूलाई देख्दा फेरि मेरो मनमा एउटा कविता फुर्यो-
कौतुहलता अनि डरहरू
त्यति गहिरा हुँदारहेछन्
आरोहण अघि
आरोहीको मुहारमा देखिन्थ्यो,
खुसी अनि सफलताहरू
त्यति भीषण हुँदा रहेछन्,
आरोहण पछि
आरोहीको उही मुहारमा देखिन्थ्यो,
धन्यवाद
सम्पूर्ण आरोहीहरूलाई !
जसले दिलाउँछन्
हामीमा धुलो टक्टक्याएर
उठ्ने साहस,
अभाव र शोकलाई
शक्तिमा बदल्ने अठोट,
झोक्राएर मात्र समाधान नहुने किस्सा,
वेदनालाई पनि मात खुवाउने अनौठो उर्जा
अनि
आफैं उपर विश्वासका साथ लाग्नु
पर्ने सन्देश।
धन्यवाद सम्पूर्ण आरोहीहरूलाई !
जो कठांग्रिदो हिमालमा
साहसहरू रोपेर
इतिहास उमार्दछन्
जो काँडाहरूमा उक्लिएर
आत्मविश्वासको
सुन्दर फूल टिप्दछन्।
धेरै बेर नै त्यो चिसो उचाइमा बसेपछि मलाई सास फेर्न अप्ठ्यारो भयो अनि सास नै रोकिएलाझैं भयो । अक्सिमिटरमा नाप्दा एसपीओ २ घटिसकेको रहेछ । त्यहीं कफी र थुक्पा खाएर ओह्रालो लागें । ठाडै बाटो ओर्लिँदै गर्दा मन आफ्नो नियन्त्रणमा थिएन । सामुन्नेको वीरेन्द्र तालको आकारले मन लोभ्याउथ्यो भने भारी बोक्दै उक्लिएका भरिया अनि खच्चडका दुःख देखेर मन अमिलो हुन्थ्यो । अनेकौं झरनाहरूलाई पार गर्दैगर्दै प्रकृतिको लहडको दास भएर म अनेक तरंगको मजा लिइरहेको थिएँ।

त्यो रात सामागाउँ नै बसेर गोरखा फर्किंदै गर्दा मनास्लुको छाँयाले मलाई तानिरह्यो । त्यो आमन्त्रण पक्कै पनि अनौठो किसिमको थियो । मेरो सफा मनमा छुट्टै किसिमको संकल्प गरेर आएको थिएँ, त्यसलाई पूरा गर्नु पनि थियो।
मनास्लु आफैंमा जोखिमपूर्ण हिमालमध्ये पर्छ । यो संसारको आठौँ अग्लो हिमाल पनि हो । हिउँपहिरो, खराब मौसम, र कठिन मार्गका कारण यहाँ धेरै दुर्घटना भएका छन् ।
जति नै जोखिम भए पनि ७०औं वर्ष आइपुग्दा मनास्लु आरोहण गर्ने आरोहीहरू बढिरहेका छन् ।
प्रतिक्रिया 4