News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भइरहँदा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले विवाद उत्पन्न गर्यो।
- एमाले सचिवालय बैठकमा ११ वटा एजेन्डा तय भएका छन् र चार उपाध्यक्षले नेतृत्व परिवर्तनको आवाज उठाएका छन् भने ओलीले राजीनामा दिन अस्वीकार गरेका छन्।
- ओलीले बैठकमा आफूलाई यसरी नसम्झाउन आग्रह गर्दै केन्द्रीय कमिटी बैठकसम्म निर्णय हुने बताएका छन् र आफू बलियो रहेको तर्क गरेका छन्।
९ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भइरहँदा विद्यार्थी संगठन अनेरास्ववियुको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ ।
आजबाट कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व परिवर्तन (अध्यक्ष ओलीको राजीनामा) को विषय उठेपछि केहीबेर बैठकमै विवाद समेत हुन पुग्यो ।
पार्टी नेतृत्व परिवर्तनको विषयलाई एजेन्डाका रुपमा प्रवेश गराउन खोजेपछि बैठकमा केहीबेर विवाद भएको एक नेताले बताए ।
बैठकमा अध्यक्ष दिपक धामीले प्रस्तुत गरेका एजेन्डामाथि छलफल भइरहेको थियो । सो क्रममा संगठनका उपमहासचिव कमलराज जोशीले थप एजेन्डा समावेश गर्न मागेका थिए ।
उनले बैठकमा राखेको प्रस्तावबारे एक नेताले भने, ‘यदि अनेरास्ववियु एमालेको जनसंगठनका रूपमा रहने हो भने पार्टी नेतृत्व परिवर्तनको माग संगठनले उठाउनुपर्छ ।’
जोशीले विद्यार्थी संगठनलाई जीवन्त राख्न ‘मुहान सफा गर्नुपर्ने’ र त्यसका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क पनि गरेका थिए ।

उनको यस्तो प्रस्तावलाई अध्यक्ष धामीले औपचारिक एजेन्डाका रुपमा समावेश गरेनन् । त्यसपछि बैठकमा केहीबेर खैलाबैलाको स्थिति उत्पन्न भएको अनेरास्ववियुका एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, केही केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राख्नुपर्छ भन्दै माग गरेपछि बैठक पुन: चलेको थियो ।
‘हालको राजनीतिक अवस्थाको समीक्षा र आगामी कार्यदिशा निर्माण’ भन्ने उद्देश्यका साथ अनेरास्ववियुको बैठक करिब एक वर्षपछि बसेको हो ।
सचिवालयमा पनि चर्को आवाज
एमाले सचिवालय बैठक शुक्रबार र शनिबार दुई दिन निरन्तर बस्यो । उपमहासचिव लेखराज भट्टका अनुसार, भोलि पुन: ११ बजेबाट सचिवालय बैठक बस्दैछ । बैठकमा विभिन्न ११ वटा एजेन्डा तय भएका छन् ।
शुक्रबार ५ जना उपाध्यक्षले बैठकमा धारणा राखेका थिए । जसमध्ये ४ जना उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विष्णु पौडेलले नेतृत्व रुपान्तरणको आवाज उठाए भने रामबहादुर थापा बादलले संकटको घडीमा नेतृत्वको रक्षा गर्नुपर्ने बताए ।

निर्वाचनमा व्यहोरेको पराजयसहितको समीक्षा भइरहेको बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुविर महासेठले आफ्ना कुरा राखे ।
महासचिव पोखरेलले घुमाउरो शैलीमा आफ्ना कुरा राखे । उनले अहिलेको अवस्था जटिल भएको विषय उठाउँदै परिमार्जनसहित अघि बढ्नुपर्ने बताए ।
उपमहासचिव भट्टराईले ठाडै ओलीको राजीनामा माग गरे भने भट्टले रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबैले राजीनामा दिनुपर्ने बताए ।
त्यस्तै, अन्य पाँच जना सचिवहरू छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, महेश बस्नेत, यामलाल कँडेल, र हिक्मत कार्कीले पनि बैठकमा आफ्ना धारणा राखिसकेका छन् ।
अन्य ४ जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले भोलि बोल्ने कार्यसूची छ । उनीहरूले बोलेपछि नियमित कार्यसूचीमा बैठक अघि बढ्ने उपमहासचिव भट्टले बताएका छन् ।
राजीनामाको मुडमा छैनन् ओली
नेताहरूले निरन्तर आफ्नो राजीनामा माग गरिरहे पनि ओली पछि हट्ने मुडमा भने देखिएका छैनन् ।
आफ्नै कित्ताका नेताहरूबाट समेत राजीनामा माग हुन थालेपछि उनले शनिबारको बैठकमा आफूलाई यसरी नसम्झाउन समेत आग्रह गरे ।
उपमहासचिव भट्टका अनुसार, बैठकका बीच बीचमा ओलीले नेताहरूलाई रोकेर आफ्ना कुरा भन्ने गरेका थिए । ओलीले बैठकमा ‘दिशानिर्देश’ गर्ने काम गरेका भट्ट बताउँछन् ।

यसैबीच नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू त्यस्तो मनस्थितिमा नरहेको जानकारी गराएका हुन् ।
शनिबार बैठकमा ओलीले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’
सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओली भने केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्न थालेका छन् ।
उनले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर बाँकी निर्णय हुने बताएका छन् ।
प्रतिक्रिया 4