Comments Add Comment

मर्निङ र इभिनिङ वाकले फोक्सोमा समस्या

morking-walk१५ असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको छ ।
बिहान र बेलुकाको समयमा धुलोको कण अधिक देखिएको हुँदा उपत्यकावासीले प्रायः बिहानको समयमा गरिराखेको मर्निङवाक (बिहानको हिँडडुल) जोखिममा परेको हो ।

काठमाडौँ उपत्यकाको खस्कँदोे वातावरणीय प्रदूषणका बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको गरेको मापन अनुसन्धानमा सो नतिजा देखिएको हो । परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीले अनुसन्धान नतिजाका बारेमा जानकारी दिँदै भने-‘बिहान ६ बजेदेखि ९ बजेसम्म उपत्यकाको वायुमा फोक्सोसम्म सिधै पस्न सक्ने धुलाका कणको मात्रा मापदण्डभन्दा करिब दुईगुणा बढी पाइयो ।’

बाहृय वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कणहरू सास लिँदा सोझै फोक्सोमा पुग्छन् । नेपालमा २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानिन्छ ।

अध्ययनबाट उपत्यकाको बिहानको हावामा धुलोको कणको मात्रा ८०.५ माइक्रो ग्राम प्रतिघनमिटर भेटिएको सदस्य सचिव डा कार्कीले जानकारी दिए ।

विसं २०७० को फागुन महिनादेखि विसं २०७१ को साउन महिनासम्म सो अध्ययन गरिएको थियो । अध्ययनमा बाहृय वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेदेखि लगातार बढ्दै जाने र बिहान ९ बजेसम्म अधिक रहने देखिएको थियो । यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ बजेदेखि ९ बजेसम्म फेरि बढ्दै जाने क्रम पाइएको थियो ।

प्रायः बिहान र बेलुकीको यही समयमा प्रायः मानिस शारीरिक अभ्यासका लागि घर बाहिर निस्कने गर्दछन् । सदस्य सचिव कार्कीले भन्नुभयो, उपत्यकावासीलाई अध्ययनको नतिजाले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग थप बढ्ने जोखिम बढाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment