News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी १ जुनमा मनाइने २६औं अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस नेपालमा १८ जेठसम्म सप्ताहव्यापी रूपमा मनाउन सुरु गरिएको छ ।
- नेपालमा दैनिक ७६ लाख लिटर दूध उत्पादन हुने गरे पनि आधा हिस्सा मात्र औपचारिक बजारमा पुग्ने गरेको एसोसिएसनले जनाएको छ ।
- देशको दुग्ध व्यवसायमा निजी क्षेत्रको ५० अर्ब रुपैयाँ लगानी रहेको र यसमा ६ लाखभन्दा बढी कृषक परिवार आश्रित छन् ।
१२ जेठ, काठमाडौं । आगामी १ जुनमा विश्वभरि मनाइने २६औं अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस यस वर्ष नेपालमा पनि सप्ताहव्यापी विशेष कार्यक्रम साथ मनाइने भएको छ ।
नेपाल डेरी एसोसिएसनले यस दिवसका अवसरमा आज मंगलबारदेखि नै देशैभरि विभिन्न जनचेतनामूलक र प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने गरी औपचारिक तयारी सुरु गरेको हो ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि मनाउन सुरु गरेको यो दिवसलाई यसपालि नेपालमा ‘दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने राष्ट्रिय नारासाथ मनाउन लागिएको छ । यस्तै अन्तर्राष्ट्रिय नारा ‘महिला कृषकहरूको सम्मान’ रहेको छ ।
एसोसिएसनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था र यसले भोगिरहेका चुनौतीबारे विस्तृत जानकारी दिइएको छ ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालका अनुसार नेपालमा हाल दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्यांक भए पनि त्यसको ५० प्रतिशत अर्थात् आधा हिस्सा मात्रै औपचारिक बजारसम्म पुग्ने गरेको छ ।
बाँकी उत्पादन किसान आफैंले उपभोग गर्ने वा स्थानीय स्तरमा असुरक्षित तवरले खपत हुने गरेको अवस्था मध्यनजर गर्दै उत्पादनलाई बजारसँग जोड्नु र गुणस्तर सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनले उल्लेख गरे ।
नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रमा निजी क्षेत्रको मात्रै करिब ५० अर्ब रुपैयाँ लगानी भइसकेको छ । यस व्यवसायमा देशभरिका ६ लाखभन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा आश्रित छन् ।
ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र देशको पोषण सुरक्षामा टेवा पुर्याउने यो क्षेत्रलाई अझ सुदृढ बनाउन दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम तय गरिएका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १३ जेठमा काठमाडौं नक्सालस्थित काठमाडौं इङ्लिस स्कुलमा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरिँदैछ ।
यसैगरी सप्ताहभरि सातै प्रदेशमा दुग्ध प्रवर्द्धनात्मक गतिविधि, काभ्रेपलाञ्चोकमा उपभोक्ता सचेतना कार्यक्रम र विभिन्न ठाउँमा अन्तर्क्रिया सञ्चालन गरिनेछन् ।
यी सबै गतिविधिहरूको बिट मार्दै दिवसको मुख्य समारोह भने १८ जेठ (जुन १) मा ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4