+
+
Shares

‘कर्मचारीको तजबिजका आधारमा औषधिको भन्सार लगाउने अवस्था अन्त्य हुनुपर्छ’

भन्सारमा बिजकलाई आधिकारिकता नदिई २८ प्रतिशतसम्म जरिबाना लगाउने गरिएको व्यवसायीले गुनासो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले औषधि आयातमा कर्मचारीको तजबिजका आधारमा नभई प्रणालीका आधारमा भन्सार लगाउन माग गरे ।
  • सरकारले औषधिको स्वचालित मूल्य कायम नगर्दा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव भएको उनले बताए ।
  • संघले क्यान्सरका बिरामीका लागि बंगलादेशबाट ८ सय भायल कार्बोप्लाटिन औषधि आयात गरी चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा वितरण थालेको छ ।

१२ जेठ, काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मियान) अध्यक्ष पवन आचार्यले औषधिमा कर्मचारीको तजबिजका आधारमा भन्सार लगाउने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तर्कियामा आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी व्यवस्था भए पनि भन्सारका अधिकारीले तजबिजका आधारमा २८ प्रतिशतसम्म जरिबाना लगाउने गरेको गुनासो गरे ।

‘औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्छ भनिएको छ, औषधि आयात गर्दा नै एमआरपी तय भएको हुन्छ,’ उनले भने, ‘तर, भन्सारमा बिजकलाई आधिकारिकता नदिई २८ प्रतिशतसम्म जरिबाना लगाउने गरिएको छ, भन्सार भनेको अधिकृतको तजबिज होइन, सिस्टमका आधारमा भन्सार लगाइयोस, हाम्रो कारोबार खुला छ, अनलाइन बिलिङ छ, किनेको र बेचेको मूल्य सरकारलाई जानकारी हुन्छ ।’

सरकारले औषधिमा स्वचालित मूल्य कायम गर्न नसक्दा हाल क्यान्सरको उपचारमा प्रयोग हुने ’प्लाटिनम’ समूहका औषधि सिस्पाटिन तथा कार्बोप्लाटिनको अभाव भएको पनि उनले बताए ।

‘सरकारले स्वचालित मूल्य कायम नगर्दा औषधि अभाव हुने अवस्था भयो, हामी सकेसम्म बिरामीलाई सहज रूपमा औषधि आपूर्ति होस् भनेर लागिपरेका छौं,’ उनले भने, ‘सरकारले फेरि अभाव नहुने गरेर स्वचालित मूल्य कायम गरोस् ।’

आचार्यले भारत र बंगलादेशबाट नेपालमा औषधि आयात हुँदै आएको तर हाल पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चापदार्थमा भारी मूल्यवृद्धि हुँदा भारतमा समेत औषधिको मूल्य उच्च भएको बताए ।

आचार्यले सोमबार मात्रै बंगलादेशबाट ८ सय भायल कार्बोप्लाटिन आयात गरिएको र बिरामीलाई चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा उपलब्ध गराइएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?