+
+
Shares

नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:३३

१३ जेठ, काठमाडौं । श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।

काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन। यद्यपि, यात्रा गर्नुअघि अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) भने अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्नेछ।

दूतावासका अनुसार, भिसा नि:शुल्क भए तापनि श्रीलङ्का जानुअघि सबैले ईटीए प्रणालीमार्फत आवेदन दिएर स्वीकृति लिनु अनिवार्य छ।

यो सुविधाअन्तर्गत पर्यटकले पहिलो पटक श्रीलङ्का प्रवेश गरेको मितिदेखि ३० दिनको अवधिभित्र दुई पटकसम्म प्रवेश गर्न पाउनेछन्।

साधारण, कूटनीतिक र सरकारी सबै प्रकारका राहदानी बोक्ने नागरिकहरू यो नि:शुल्क ईटीए सुविधाका लागि योग्य हुनेछन्। नि:शुल्क भिसामा गएर ३० दिनभन्दा बढी श्रीलङ्कामा बस्न चाहने पर्यटकले तोकिएको भिसा शुल्क तिरेर आफ्नो भिसाको म्याद थप गर्न सक्नेछन्।

नियम लागू हुनुअघि (मे २५, २०२६ भन्दा अगाडि) ईटीए शुल्क बुझाइसकेका आवेदकहरूको हकमा भने उक्त रकम फिर्ता नहुने दूतावासको बेवसाइटमा उल्लेख छ ।

नेपालका साथै भारत, अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, मलेसिया लगायतका देशहरू पनि यो ४० देशको सूचीमा समावेश छन्। यसका साथै माल्दिभ्सका नागरिकले भने पारस्परिक सम्झौताअनुसार ९० दिनको नि:शुल्क पर्यटक भिसा प्राप्त गर्नेछन्।

काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, अनलाइनबाहेक दूतावासमै सम्पर्क गरेर पनि यो सुविधा लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?